१० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली मतपत्र र स्वस्तिक छापसहित र्दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका–१६ का २३ अमिरी राउत कुर्मी पक्राउ परेका हुन् ।

बिहीबार राति कलैयाबाट वीरगञ्ज आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारलाई चेकजाँच गर्दा नक्कली मतपत्र भेटिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उक्त कारबाट १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र २ लाख ७२ हजार नगद बरामद भएको थियो ।

उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।