११ मुलुकमा राजदूत नियुक्तिको सिफारिस

काठमाडौं । सरकारले विभिन्न ११ मुलुकमा राजदूत नियुक्ति गर्न नाम सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि ११ जनाको नाम राजदूतमा सिफारिस भएको हो ।


प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद्‌ सचिवालयमा पठाइएको छ । मन्त्रालयले राजदूतका रुपमा सहसचिव निर्मलराज काफ्लेलाई अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्ट पठाउन सिफारिस गरेको छ ।

श्रीलंकाका लागि राजनीति शास्त्रका पूर्व प्राध्यापक रमेशचन्द्र पौडेल सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालय, राजनीति शास्त्र विभाग पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया र वामनेता पद्मरत्न तुलाधरकी छोरी सुम्‍निमा तुलाधरलाई अष्ट्रेलियाका लागि सिफारिस गरिएको छ ।

रूसी भाषा अनुवादक जंगबहादुर चौहानलाई रूस, पूर्वमन्त्री युवराज कार्कीलाई बहराइन, नेता नारायणप्रसाद संग्रौलालाई बर्मा, पूर्वसांसद कुलप्रसाद नेपाललाई ब्राजिल र सुमित्रा सुवेदीलाई डेनमार्कका लागि नेपाली राजदूत सिफारिस गरिएको हो । एमालेनिकट मुस्लिम संगठनका पूर्वअध्यक्ष मेराज मुसलमान साउदी अरेबियाको राजदूत सिफारिस भएका छन् ।