१२ वर्षपछि इजरायलमा बेन्जामिन नेतान्याहु सत्ता बाहिर

Photo : CNN

काठमाडौं\एजेन्सी । इजरायलमा सर्वाधिक समय सत्तामा रहेका नेता बेन्जामिन नेतान्याहुको सत्ता यात्रा पुरा भएको छ । त्यहाँको संसद्ले नयाँ नेता निर्वाचित गरेसँगै १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुको पद गुमेको बीबीसीले लेखेको छ । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले परिवर्तनको सरकार को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन्। ६०\५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएको समेत बीबीसीले जनाएको छ ।


सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने भएका हुन् । त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्। नेतान्याहु इजरेलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन्। इजरेलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राखेका उनी दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई सन्देश पठाउँदै आफूले उनीसँग काम गर्न चाहेको उल्लेख गरेका छन् । नेतान्याहुले पाँचवटा कार्यकाल शासन गरेका छन्। सबैभन्दा सुरुमा सन् १९९६ देखि १९९९ सम्म सत्ता सम्हालेका उनी सन् २००९ देखि २०२१ सम्म निरन्तर शक्तिमा छन्। सन् २०१९ को एप्रिलमा उनले चुनाव घोषणा गरेका थिए।