काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी १३ जेठबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । परीक्षा जेठ २४ गते सकिने भएको छ । मंगलबार परीक्षाको मिति तय गरेको बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा राखिएको छ ।
यस दिन वेद विद्याश्रममा अनिवार्य सँस्कृत भाषा र साहित्य, अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने गरी तालीका राखिएको छ । जेठ १४ गते अनिवार्य नेपाली राखिएको छ । जेठ १६ मा अनिवार्य गणित र जेठ १७ मा अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।
जेठ १८ मा सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा राखिएको छ । २० गते ऐच्छिक गणितको परीक्षा छ । यस दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन गरिने भएको हो ।