काठमाडौं । ९ माघका लागि निर्धारित राष्ट्रियसभा सदस्यको १८ पदमा ४५ जनाको उम्मेदवारी परेको छ । आइतबार सात वटै प्रदेशमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ ।
उमेदवारहरुले तोकिएको स्थानमा पुगी उमेदवारी दर्ता गराएका छन् । यस पटक चर्चित अनुहारका रुपमा अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमन हुँदैछ भने नेकपाका प्रवक्ता तथा प्रत्यक्ष निर्वाचनमा पराजित अनुहार नारायणकाजी श्रेष्ठको इन्ट्री हुँदैछ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि कूल ६ दलको उम्मेदवारी परेको छ ।
सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दर्ता भएको छ ।
नेमकिपाले प्रदेश ३ मा र राजमोले गण्डकी र प्रदेश ५ मा उम्मेदवारी दिएका हुन् । प्रदेश २ मा नेकपा र राजपा तथा कांग्रेस र समाजवादी पार्टीबीच तालमेल गरेर उमेदवारी परेको छ ।
अन्य स्थानमा भने सबै दल एक्लाएक्लै भिड्ने भएका छन् । सातवटै प्रदेशमा महिला ७, दलित २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहका २ र अन्य समूहका ७ गरी १८ पदमा निर्वाचन हुन लागेको छ ।
महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कुल ४५ जनाको उमेदवारी परेको आयोगले जानकारी दिएको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने प्रावधान रहेको छ ।