बुटवल । बुटवलमा १ अर्ब ११ करोड रुपैयाँ लागतमाअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । आज सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका १० रामनगरस्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र बनेको छ ।
एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनले बुटवलमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र आवश्यक रहेको एजेण्डा पारित गरे अनुसार रुपन्देही २ का सांसद तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको योजनामा सम्मेलन केन्द्र बनेको हो । सम्मेलन केन्द्रको जग्गा प्राप्तिमा पौडेलसँगै तत्कालीन सांसद सूर्यप्रसाद प्रधानले पहल गरेका थिए । सम्मेलन केन्द्रमा एक हजार १०० क्षमताको मुख्य हल र अन्य १२ वटा साना हल रहेका छन् ।
संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागको १ अर्ब ११ करोड रूपैयाँ लागतमा केन्द्र बनेको हो । विक्रम संवत् २०७१ माघ १५ गते सम्झौता भएर निर्माण सुरू भएको सम्मेलन केन्द्र दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको हो । तोकिएको समयमा काम नगरेपछि २०७९ कात्तिकसम्म म्याद थप गरिएको थियो ।