काठमाडौं । ११ चैत २०७६ पछि बन्द भएको पशुपतिनाथ मन्दिर अब दर्शनार्थीको दर्शनका लागि खुला हुने भएको छ । राष्ट्रिय समाचार समितिले पशुपति क्षेत्र विकास कोषलाई उदृत गर्दै जनाएअनुसार भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गर्ने निर्णय भएको हो ।
पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् । अब भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने भएको छ ।
विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका छैनन् ।
कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द भएको हो । यस वर्ष साउनको सोमबारसमेत पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गर्दै आएका छन् । चैतपछि पशुपतिनाथको नित्यपूजा आरती भने जारी रहेको थियो ।