काठमाडौं । १ पुसयता बेलायतबाट सिधा उडान वा ट्रान्जिट गरी नेपाल आएका सबै यात्रु अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बेलायतमा नयाँ प्रकृतिको कोरोना भाइरस देखिएपछि नेपालमा समेत उच्च सतर्कता अपनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट एक सातायता नेपाल आएका यात्रुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । उनीहरुले होटेल क्वारेन्टिनमा बसेको ७ देखि १० दिन भित्र पिसिआर परीक्षण गर्नुपर्ने भएको छ ।
त्यसको नतिजा नेगेटिभ आए मात्र यात्रु घर जान पाउनेछन् । सरकारी प्रयोगशालामा भएको परीक्षण निशुल्क गरिएको समेत मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले आजबाट भने बेलायतबाट नेपालमा यात्रु ल्याउन पूर्णतया रोक लगाएको छ ।
बेलायतबाट सिधा उडान वा ट्रान्जिट कुनै पनि माध्यमबाट नेपालमा यात्रु ल्याउन पाइने छैन । यस्तो व्यवस्था आज रातीबाट लागु भएको छ । बेलायतमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस देखिएसँगै संसारभर बेलायतबाट यात्रा प्रतिवन्ध लगाउने क्रम जारी छ ।