काठमाडौं । अमेरिकाले सर्वसाधारणको ज्यान लिएको इतिहास भएको क्लस्टर बमहरू युक्रेनलाई उपलब्ध गराउने भएको छ । यस निर्णयको राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्। यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बमहरू आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरणहरू सार्वजनिक भएका थिए। विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन्।
राष्ट्रपतिले यस्तो निर्णय गर्न तयार हुन आफूलाई केही समय लागेको बताए। यद्यपि युक्रेनीहरूसँग अस्त्र कम हुँदै गएकाले” आफूले त्यस्तो कदम चालेको उनले बताए । युक्रेनका नेताले समयमै लिइएको यस कदमको प्रशंसा गरे भने मस्कोका कूटनीतिज्ञले वाशिङ्गटनको निन्दनीय कार्यको आलोचना गरेका छन्।
क्लस्टर बमहरू माथि १२० भन्दा बढी देशहरूले प्रतिबन्ध लगाएका छन्। बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा यस निर्णयबारे आफूले सहयोगी राष्ट्रसँग छलफल गरेको बताए। लिथुआनिआमा आगामी साता हुने नेटो सम्मेलनभन्दा ठीक अघि उक्त निर्णय सार्वजनिक भएको थियो। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रवारको ह्वाइट हाउसको नियमित सम्बोधनमार्फत् अधिकारीहरूले विस्फोट नभएका क्लस्टर अस्त्रहरूबाट ूसर्वसाधारणलाई पर्न सक्ने जोखिमको पहिचान गरेको बताए।
सुलिभानले युक्रेनमा तोपलगायत अस्त्रहरू सकिएको र अमेरिकाले अस्त्रहरूको उत्पादनमा जोड दिएको अवस्थामा आपूर्ति बढाउनु पर्ने मत राखे। यस द्वन्द्वकालको कुनै पनि घडीमा हामीले युक्रेनलाई प्रतिरक्षाविहीन अवस्थामा छोड्ने छैनौँ उनले भने। उक्त अस्त्रको प्रभावकारितालाई लिएर थुप्रै विवाद सिर्जना भएका छन्। विस्फोट नभएका साना बमहरू वर्षौँसम्म जमिनको सतहमा रहन सक्छन् र एक्कासि विस्फोट हुन सक्छन्।
बाइडनको यस निर्णयले एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरणलाई प्रतिबन्ध लगाएको विद्यमान अमेरिकी कानुनको उलङ्घन गर्छ। युद्धको प्रारम्भमा रुसले क्लस्टर तथा भ्याक्युम बमहरूको प्रयोग गरिरहेको आरोपबारे ह्वाइट हाउसलाई प्रश्न गरिँदा तत्कालीन प्रेस सेक्रेटरीले त्यो आरोप साँचो भएको खण्डमा त्यो सम्भावित युद्ध अपराध हुने जनाएका थिए।