२१ वर्षपछि बार्सिलोनाबाट बिदा भए मेसी, बिदाईमा बने भावुक

काठमाडौं । ‘गत वर्ष म बार्सिलोना छाड्न चाहन्थे, तर यो वर्ष म यही बस्न चाहन्छु,’ करीयरको २१ वर्ष बिताएको क्लव बार्सिलोनाबाट बिदाई हुने क्रममा अर्जेन्टाइन स्ट्राइकर मेसीले यसो भन्दै गर्दा उनको गहभरी आँसु आयो । बार्सिलोना छाडेको औपचारिक घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित हुनासाथ मेसी भावुक बने । उनको आँखाबाट अविरल आँसु बगिरह्यो ।


सम्बोधन सुरु गर्नुअगाडी नै उनको भावना छताछुल्ल भएको थियो । उनी १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका थिए । तर, अब उनी यो क्लवको हिस्सा रहेनन् । बार्सिलोना र मेसी एक अर्काको पर्यायवाची थिए । क्लव र मेसी बीच छिट्टै नयाँ सम्झौत हुने र पाँच वर्षका लागि मेसी बार्सिलोनामै रहने समाचारहरु सार्वजनिक भइरहेका बेला अचानक खेलाडी र क्लवबीचको वार्ता असफल भएको खबर बिहीबार सार्वजनिक भएको थियो ।

यो खबरले समर्थकमा भने ब्यापक निरासा उत्पन्न भएको छ । आर्थिक अवस्था र ला लिगाको मापदण्डका कारण हस्ताक्षर हुन नसकेको क्लबले जनाएको छ । मेसीका अनुसार उनी ५० प्रतिशतसम्म तलव कटौती गरेर भएपनि बार्सिलोनामै बस्न चाहन्थे । तर, क्लवले ७० प्रतिशतसम्म कटौतीको शर्त राख्यो । गत वर्ष क्लवसँग विवाद हँुदा उनले कानूनी लडाईमा जान सक्थे ।

तर, आफुले माया गर्ने क्लवविरुद्ध कानूनी लडाईमा नगएका उनलाई अन्ततः बार्सिलोनाबाट बाध्यतावशः निस्कनु परेको छ । बिदाई बारे आफ्नो धारणा राख्दै मेसीले भने ‘२१ वर्षपछि अब आफ्नो पत्नी र तीन क्याटलान –अर्जेन्टाइन सन्तानसहित जाँदै छु र मै सबै कुरा भन्न सक्दिनँ ।’ मेस्सीले बार्सिलोनाप्रति आफ्नो ठूलो सम्मान रहेको उल्लेख गरे । यो आफ्नो घर रहेको समेत उनको भनाई छ ।

अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुका अनुसार संसारभरका धनी क्लवहरु अहिले मेसीलाई भित्राउन खोजिरहेका छन् । यसमा फ्रान्सको पेरिस सेन्ट जर्मेन सफल भएको समेत इएसपीएनले लेखेको छ । उक्त संचारमाध्यमका अनुसार सोमबार नै मेसीले सो क्लवका लागि मेडिकल जाँचसहितका प्रक्रिया पुरा गर्ने तयारी छ । यो क्लवमा नेयमारदेखि एम्बाप्पेसम्मका स्टार खेलाडी छन् ।