काठमाडौं । नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपमा श्रीलंकामाथि ३-२ गोलको सानदार जित दर्ता गरेको छ । नेपालले २२ वर्षपछि साफमा पहिलो पटक श्रीलंकालाई हराएको हो । लागता दोस्रो जितसँगै जारी प्रतियोगितामा नेपाल अंक तालीकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै नेपालले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । अब भारत र बंगलादेशसँग खेल्न बाँकि रहेको नेपालले कम्तिमा एक खेलमा बराबरी गरे मात्र पनि फाइनल प्रवेश गर्ने सम्भावना छ ।
१३ औँ संस्करणसम्म आइपुग्दा दक्षिण एशियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपमा नेपाल अहिलेसम्म फाइनल भने पुग्न सकेको छैन । त्यसकारण यो पटक नेपाललाई इतिहास बनाउने मौका छ । माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको पहिलो दिन बलियो टीम आयोजक माल्दिभ्समाथि नेपालले १-० अन्तरको जित निकालेको थियो ।
सोमवार राति रोमाञ्चक खेलमा भयो । साफमा एकै खेलमा सर्वाधिक गोल हुने खेल समेत बन्न पुग्यो । खेलको ३० औँ मिनेटमा सुमन लामाले डि बक्स भित्रबाट गरेको शक्तिशाली प्रहार विपक्षी गोलरक्षकलाई बीट गर्दै गोलमा परिण्त भएको थियो । दोस्रो हाफ शुरु हुनासाथ नेपालले अग्रता दोब्बर पार्यो । आयुष घलानले दायाँ छेउबाट गरेको क्रसमा नवयुग श्रेष्ठले हानेको फितलो प्रहार गोलकीपरले रोके ।
तर फर्केर आएको सोही बललाई अञ्जन विष्टले पोस्टमा छिराए । ५६ औँ मिनेटमा मर्विन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गरे । खेल सकिन ४ मिनेट बाँकि रहेको समयमा आयुष घलानले सुन्दर गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा श्रीलङ्काले पेनाल्टी पायो र त्यसलाई डिलन डे सिल्भाले गोल गरेर खेल ३-२ को स्थितिमा ल्याए।
नेपालका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुनेको रणनीति मालेमा सफल देखिएको छ । साथमा विगतमा खेलाडीमा देखिएको गोलको फिनिसिंगमा उनले व्यापक सुधार गरेका छन् । यसमा युवा खेलाडीले भरपुर साथ दिएका छन् । नेपालले अब २४ असोजमा भारत र २७ असोजमा बंगलादेशको सामना गर्नेछ । भारत सबैभन्दा बलियो टीम हो ।