२३ वैशाखबाट आन्तरिक विमानस्थलमा रात्रिकालिन उडान

काठमाडौं । आगामी २३ वैशाखबाट नेपालका आन्तरिक विमानस्थलमा रातको १२ बजेसम्म जहाज उड्ने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय उडानमा मात्र यो नियम कार्यान्वयनमा रहेको थियो । वायुसेवा सञ्चालक संघका अनुसार शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा संचालकहरुबीच छलफल भएको छ ।

छलफलबाट रात्रिकालीन उडान सञ्चालन गर्न एक कार्यदल गठन गर्ने सहमति भएको छ । यो कार्यदलले २१ वैशाखमा प्रतिवेदन दिने भएको छ । सो प्रतिवेदनका आधारमा नयाँ स्लट तोकिने र २३ वैशाखबाट रात्रिकालिन उडान गर्न कम्पनीहरु सहमत भएका छन् । नयाँ स्लट नतोकिएसम्म पूर्ववत स्वीकृति अनुसारकै तालिकामा उडान सूचारु गरिने भएको छ । अहिले ८ बजे रातिसम्म नियमित उडान भइरहेकोमा प्राधिकरणले १२ बजे रातिसम्म लम्ब्याउन तयारी गरेको हो । यसले दिनमा हुने जहाजहरु ‘होल्ड’को समस्या कम हुने अपेक्षा गरिएको छ ।