काठमाडौं । नेपालमा नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गरि पोर्चुगल भागेका एक जनालाई प्रहरीले पक्राउ गरि नेपाल ल्याएको छ । सवारी दर्ता प्रमाणपत्र नक्कली बनाएर तत्कालिन देव विकास बैंकबाट २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएको आरोप उनीमाथि छ । प्रहरीले काभ्रे भुम्लु गाउँपालिका १ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगलमा पक्राउ गरी साउन ३० गते नेपाल ल्याइएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले यसबारे जानकारी गराएको छ । नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर गरेको अभियोगमा जिल्ला अदालत ललितपुरले ढुगानासहित १२ जनालाई दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । हाल ढुंगानासहितका व्यक्तिहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी ५ वटा मुद्दा र उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छन् । मुख्य आरोपी ढुंगाना विदेशमा रहेको जानकारी पाएपछि प्रहरीले २०७५ पुस १७ गते इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।
ढुंगानाले पोर्चुगलमा आवास अनुमति लिन आवेदन दिएको जानकारी पाएपछि प्रहरी प्रधान कार्यालयले एनसीबी पोर्चुगलसँग समयन्वय गरी उनलाई पक्राउ गरेको हो । उनीहरुले काठमाडौं र ललितपुरका देवः विकास बैंकका विभिन्न शाखा कार्यालयमा विभिन्न सवारी साधन सुरक्षण वापत बैंकको नाममा पास गरी सवारी साधन कर्जा बापत २ करोड ७१ लाख ७६ हजार रुपैयाँ लिएका थिए ।
उनीहरुले ऋण नतिरेपछि लिलामी गर्ने प्रयोजनको लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारी साधनहरु बैंकको नाममा नरहेको जानकारी पाएका थिए ।