काठमाडौं । कोरोना महमारीका कारण बन्द भएको काठमाडौं-दिल्ली रुटमा २ पुसबाट नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले यो रुटमा दैनिक एक उडानको अनुमति पाएको छ । पहिलो चरणमा न्यारोबडी जहाज ए३२० बाट दिल्ली उडान गर्न लागेको निगमले जनाएको छ ।
काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान गर्नेछन् । भारतको तर्फबाट एयर इण्डियाले अनुमति पाएको छ । उसको भने मिति तय भइसकेको छैन । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ मार्फत काठमाडौं र नयाँ दिल्लीलाई जोड्न लागेका हुन् ।
२०७६ चैत १० यता नेपाल र भारतबीच हवाई उडान बन्द भएको हो । यसले लाखौं यात्रु प्रभावित बनेका छन् । भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएपनि दक्षिण एसियामा भने उडान खुलेको थिएन । उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नु पर्नेछ ।