काबुल । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएसँगै विदेशी नागरिक धमाधम फिर्ता भइरहेको छन् । तर, त्यहाँ अवैधानिक रुपमा पुगेका ३२ जना नेपाली भने कानूनी रुपमा नेपाल आउन नपाएपछि उतै रोकिएका छन् । बुधबार अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघका निकायमा खटिएका नेपालीको एक समुहलाई घर फर्काउन जहाज काठमाडौं आएको थियो । विमानस्थल स्रोतका अनुसार यो जहाजमा वैधानिक कागजात भएका नेपाली मात्र आउन पाएका छन् । अफगानिस्तानमा अझै ३२ जना नेपाली छन्, उनीहरुको भिसाको अवधि सकिएको छ । सोहीकारण उनीहरुले चार्टर्ड जहाजमा उडान अनुमति पाएनन् ।
अफगानिस्तान रोकिएका ३४ मध्ये २ जना भने सोही समुहरुमा नेपाल आएको छ । दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा ३२ जना नै एक स्थानमा बसेका छन् । उनीहरुलाई बेलायती संस्था आईडीजीले संरक्षण गरेको छ । आईडीजीले नेपालबाट पनि सुरक्षाकर्मी आपूर्ति गर्छ । राष्ट्रसंघीय निकायमा कार्यरत नेपाली सुरक्षाकर्मीमध्ये ८६ जना बुधबार बिदा मनाउन काठमाडौं आएका छन् । इरानको महान एयरमा ८८ नेपाली र अन्य भारतीय नागरिक गरी १ सय ५ जना सवार रहेका थिए ।