३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व

सुपेन्द्र बस्नेत, बोष्टन

ग्रेटर बोस्टन नेपाली समुदाय'(GBNC-Greater Boston Nepali Community)मा ३४ वर्षपछि क्रमभंग भएको छ। सन् १९८९ मा स्थापित यस संस्थाको आगामी कार्यकाल(२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनले क्रमभंग गरेको हो। यस क्रमभंगले संस्थाको आफ्नै पुरानो इतिहासलाई विस्थापित गरी नयाँ इतिहासलाई स्थापित गरेको छ।

स्थापनाकालदेखि सन् २०२०-२०२२ को दुइ वर्षीय कार्यकालसम्म सहमति भनिदै नयाँ कार्यसमिति चयन गरिदै आइरहिएको थियो। यस पटक पनि सहमतिबाटै नयाँ कार्यसमिति चयन गर्ने भनि भरमग्दूर प्रयास भएकै थियो। तर, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि आकाङ्क्षीहरुका बिच सहमति जुट्न नसकेपछि, छिनोफानो गर्नका लागि मतदान प्रक्रियाको सहायता लिनु परेको थियो। मतदान प्रक्रियाले स्थापना कालदेखि नै सहमति भन्दै नयाँ कार्यसमिति चयन गर्ने गरिएको अभ्यासको क्रमभंग मात्र गरेन, संस्थाको इतिहासमै पहिलो पटक महिलालाई अध्यक्ष पदमा चयन गरेर संस्थाको अभिभारा सुम्पिदिएको छ।

८६ वर्षीया जमुना अधिकारी मतदान गर्दै

मतदाताहरुले अध्यक्ष पदकी प्रत्याशी अन्जु थापालाई आफ्नो अमुल्य मतदान गरेर निर्वाचित गराई नयाँ इतिहास स्थापित गरेका छन्।
गत सेप्टेम्बर २५ तारिख आइतबारका दिन सम्पन्न निर्वाचनले, आगामी कार्यकालका लागि थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको नेतृत्व लिन अध्यक्ष पदका लागि अन्जु थापा, परशुराम फुयाल र जलप्रसाद घिमिरे चुनावी मैदानमा उत्रिनु भएको थियो। मतदान प्रक्रिया सुरु हुनु अगाडि नै जलप्रसाद घिमिरेले आफ्नो उमेदवारी फिर्ता लिनु भएको थियो भने, थापा र फुयालबिच कुनै एकमा सहमति जुटाउने प्रयास असफल भएपछि नेतृत्व चयनको अन्तिम टुङ्गो लगाउन मतदान प्रक्रियामा प्रवेश गरिएको थियो। विरोचन नेपालको संयोजकत्वमा प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहनु भएको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार, थापाले आफ्नो प्रतिस्पर्धी फुयाललाई ९५ मतान्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित हुन सफल हुनु भएको हो। निर्वाचन मत परिणाम अनुसार थापाले २५८ मत प्राप्त गरी संस्थाको बागडोर सम्हाल्न सफल हुदा, फुयालले १६३ मत प्राप्त गर्नु भएको थियो। निर्वाचित भए लगतै संक्षिप्त प्रतिक्रिया दिदै थापाले आफ्नो विजय सम्पूर्ण मासाच्युसेट्स वासी नेपाली समुदायको भएको बताउनु भयो।निर्वाचन परिणामप्रति खुशी व्यक्त गर्दै उहाँले भन्नु भयो,’ म खुशी छु। सहयोगी सबैलाई धन्यवाद ! यो मेरो मात्र विजय नभएर सबै नेपाली समुदायको विजय हो।अब हामी सबै मिलेर अघि बढ्नु पर्दछ। त्यसका लागि सबैबाट साथ र सहयोगको अपेक्षा गर्दछु।’ यसै सिलसिलामा थापाले निर्वाचन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सबैलाई धन्यवाद समेत दिनु भयो ।

निकै रस्साकसी भएको चुनावी मैदानमा, मतदाताहरुको उत्साहसहितको सक्रिय सहभागिता साच्चै मननयोग्य रहेको थियो। उमेदवारहरु र मतदाताहरुले निकै महत्व दिएको मतदान प्रक्रियामा, ८६ वर्षीया जमुना अधिकारीले समेत भाग लिएर मतदान गरेपछि, प्रजातान्त्रिक अभ्यास निर्वाचन र मतदाताहरुको मतदानको महत्व थप उचाइमा पुगेको थियो। निकै उत्साहित रहेको चुनावी माहोलले संस्थाको गरिमा र निर्वाचित हुने नयाँ कार्यसमितिको जिम्मेवारीलाई दर्शाइरहेको थियो। निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष पदमा सन्दिप भट्टराई निर्वाचित हुनु भएको छ। भट्टराईले कुल झरेको ४२३ मत मध्ये ३१८ मत ल्याइ, १०४ मत ल्याउने आफ्नो प्रतिस्पर्धी राज कुमार थापालाई पराजित गर्दै विजय हुन सफल हुनु भयो।

निर्वाचनले संस्थाको अन्य पदाधिकारी र सदस्यहरु भने निर्विरोध चयन गरेको छ। उपाध्यक्ष पदका लागि भने चिरञ्जीवी आचार्य, नवराज जमकट्टेल र सुनिल नेपाली चुनावी मैदानमा उत्रिनु भएको थियो। मतदान प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै नवराज जमकट्टेलले चुनावी प्रक्रियाबाट आफ्नो उमेदवारी फिर्ता लिएपछि संस्थाको विधान अनुसार दुइ उपाध्यक्ष पदका लागि आचार्य र नेपाली निर्विरोध निर्वाचित हुन सफल हुनु भएको थियो। महिला उपाध्यक्ष पदमा भने सानु बर्मा अधिकारीको एकल उमेदवारी परेकाले निर्विरोध निर्वाचित हुनु भयो। यसैगरी, महासचिव पदमा सोनाम शेर्पा, सचिव पदमा मिलन बस्नेत, कोषाध्यक्ष पदमा अजय कुशवाहा र सह-कोषाध्यक्ष पदमा प्रकाश खड्का पनि निर्विरोध निर्वाचित हुनु भएको छ। संस्थाको विधान अनुसार २४ सदस्य पदका लागि भएको निर्वाचनले, चुनावी मैदानमा उत्रिएका १९ जना सदस्यहरुलाई पनि निर्विरोध निर्वाचित गरेको छ। निर्वाचन समितिका अनुसार, निर्वाचन प्रक्रियाका क्रममा १९ जनाले मात्र उमेदवारी दर्ता गरेकाले उमेदवारी दर्ता गर्ने सबै निर्विरोध निर्वाचित भएका हुन् । सदस्य पदमा निर्वाचित हुनेहरुमा
भिम प्रसाद आचार्य, युवराज सुवेदी, प्रभा गौतम, प्रमिला धमला बञ्जरा, रोशन यादव, सौरभ अधिकारी, भरत बञ्जरा, दिपक कटुवाल, अभिषेक आचार्य, अजय कुमार ढकाल, नवराज जमरकट्टेल, आङ्दावा शेर्पा, अजित पोखरेल, राज लामा, बिराज गुरुङ, सुनिता भण्डारी, सुवर्ण केसी, अशोक काफ्ले र सजना अधिकारी रहनु भएको छ।

नेपाली, आप्रवासी नेपाली र नेपाली भाषीहरुलाई संगठित गरी उनीहरुको उथ्थानका लागि यथासक्य काम गर्ने मूल उद्देश्य लिएर स्थापित यस संस्थामा, हाल ६४ जना आजीवन सदस्य र ६६२ जना साधारण सदस्य गरी, जम्मा ७२६ जना सदस्य रहेका छन्।