काठमाडौं । भारतीय जेलमा ४० वर्षसम्म बिना सुनुवाइ बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले ५ लाख भारतीय रुपैयाँ (८ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन् । कलकत्ता उच्च अदालतले यस्तो आदेश गरेको हो । न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई पाँच लाख भारु तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारका नाममा आदेश दिएको हो। अदालतले रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न भनेको छ ।
हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई गत वर्ष चैतमा अभियन्ताहरुको पहलमा छुटाइएको थियो । बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहाईका आदेश दिएको हो । अदालतको आदेशपछि रिहा भएका तिम्सिना गत चैतमा इलामको लुम्बाकमा रहेको घरमा फर्किएका हुन् । उनको घरको आर्थिक अवस्था निकै कमजोर रहेको छ । साथै उनको मानसिक अवस्था समेत कमजोर बनेपछि अहिले उनलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको छ ।