काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गरेका छन् ।
उनले ४८ वर्षिय राजीव ढुंगानालाई अध्यक्ष बनाएका छन् । यस विषयले भने पुनः सभापति देउवा एक पटक सामाजिक संजालमा हाँसोको पात्र बनेका छन् ।
किनकी जीवनको ४८ औं वसन्त पार गरिसकेका व्यक्तिलाई उनले विद्यार्थी संगठनको नेतृत्व सुम्पिएका हुन् ।
देउवाले महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई मनोनित गरेका छन् । तदर्थ समितिले ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्नेछ ।
सुनसरीका स्थायी ढुंगाना उनी ११ औं महाधिवेशनमा समेत अध्यक्षको दाबेदार थिए । तर, अध्यक्ष बन्न सकेनन् ।
मनोज वैद्य नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष र पशुपति क्याम्पसका तत्कालीन स्ववियु सभापति हुन् ।
पाल्पाकी महेश्वरी कुँवर पद्मकन्या क्याम्पसको तत्कालीन स्ववियु उपसभापति एवम् नैनसिंह महर नेतृत्वको नेविसंघकी सहमहामन्त्री हुन् ।
नेविसंघको ११ औं महाधिवेशनबाट नैनसिंह महरको अध्यक्षतामा कार्यसमिति चयन भएपनि यस कार्यसमितिले १२ औं महाधिवेशन गराउन नसकेका कारण नेविसंघ नेतृत्वविहिन बन्न पुगेको थियो ।
विधानअनुसार भदौ २ गते महाधिवेशन हुनुपर्ने थियो । पार्टीले म्याद थपेर माघ २ सम्म पुर्याए पनि हुन सकेन् ।
सोहीकारण आगामी ६ महिना भित्र महाधिवेशन गर्ने गरी तदर्थ समिति गठन भएको हो ।