काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीले पछिल्लो चार महिनाको अवधिमा करीव साढे ३ खर्ब रुपैयाँ नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कोरोना महामारीका वावजुत पनि नेपालमा रेमिट्यान्स ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कुल ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । यो रकम अघिल्लो वर्षको पहिलो चार महिनाको तुलनामा ११ दशमलव २ प्रतिशतले बढी हो ।
अमेरिकी डलरमा रेमिट्यान्स ६ दशमलव ४ प्रतिशतले बढेर दुई अर्ब ८५ करोड पुगेको तथ्यांक छ । राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने उल्लेख्य कमी आएको छ ।
यस अवधिमा ७५ दशमलव ८ प्रतिशतले श्रमस्वीकृति घटेको हो । चार महिनामा १९ हजार दुई सय ५१ जनाले मात्र अन्तिम श्रम स्वीकृति लिएको तथ्यांक छ ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६७ दशमलव ९ प्रतिशतले घटेर २५ हजार नौ सय ३१ जनामा सिमित भएको समेत राष्ट्र बैंकले जनाएको छ । कोरोना महामारीले रोकिएको श्रम स्वीकृति र पुनःश्रम स्वीकृतिको काम बिस्तारै सुचारु हुने क्रममा रहेको छ ।