काठमाडौं । पाँच दिनअघि गोली प्रहार भई गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको मृत्यु भएको छ । उनलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । पाण्डेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
पाण्डे र एक भारतीय नागरिकमाथि अघिल्लो बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पाण्डेको पेट र कम्मरमा २ वटा गोली लागेको थियो । उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।
उनीमाथि आक्रमण गर्ने दुई जना पक्राउ परिसकेका छन् । प्रहरीले कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अलीलाई पक्राउ गरेको छ ।