काठमाडौं । देशभर अस्पतालबिहिन ६४९ वटा स्थानीय तहमा कम्तिमा ५ बेडको अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको छ। कोभिड – १९ को उपचार तथा रोकथाममा उपयोग गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यस्तो निर्णय भएको हो । यी अस्पतालमा एमबिबिएस डाक्टर एक जना र नर्स दुईजनाको दरवन्दी राखिने भएको छ ।
आवश्यकताका आधारमा स्वाथ्यकर्मी समेत थप हुने गरी व्यवस्थापन मिलाइने भएको छ । स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अस्पताल संचलनमा ल्याउने भएको हो । उक्त प्रयोजनका लागि मन्त्रालयले शुक्रबार ६४ करोड रुपैयाँ बजेटसमेत निकासा गरिसकेको जनाएको छ । स्थानीय तहमा संचलन हुने अस्पतालको स्थान भने स्थानीय तहबाटै निर्णय हुनेछ ।
अस्पतालको व्यवस्थापन समेत स्थानीय तहबाट हुनेछ । उता, मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार २०२ बेड तत्काल थप गर्ने निर्णय समेत गरिसकेको छ । मन्त्रालयका अनुसार संघ मातहतका अस्पतालमा १ हजार बेड, प्रदेश अन्तरगर्तका अस्पतालमा १ हजार ९५७ र एउटा पनि अस्पताल नभएका ६४९ वटा गाउँपालिकामा तत्काल ५ बेडका दरले अस्पताल ल्याउँदा थप ३ हजार २४५ वटा बेड थपिने भएका हुन् । यी बेड कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिनेछ ।