६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास

काठमाडौं/एजेन्सी । हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीको हत्या प्रयास भएको छ । यो मुलुकमा ६ महिना अगाडि रास्ट्रपतिको हत्या भएको थियो ।

बिबिसीका अनुसार उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भइरहेका बेला उक्त घटना भएको हो । अनलाइनमा पोस्ट गरिएका भिडिओहरूमा प्रधानमन्त्री र उनको टोली तीव्र गोली प्रहारकाबीच गाडी तर्फ गएको देखिन्छ।

गत जुलाईमा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएपछि यहाको  सुरक्षा अवस्था व्यापक रूपमा बिग्रिएको छ। आङ्ग्रीले अपहरण मामिलाका आरोपितहरू र देशभरिको ग्यास वितरणलाई नियन्त्रणमा लिएका शक्तिशाली गिरोहविरुद्ध कारबाहीको वाचा गरेका छन्।

प्रधानमन्त्रीको कार्यालयले आक्रमण गर्ने समूह पर्खाल पछाडि लुकेको र गिर्जाघरलाई घेरेर बिशपलाई धम्की दिएको समाचार संस्था एसोसियटेड प्रेसले जनाएको छ।
सुरक्षा निकाय र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ।

पछिल्लो आक्रमण आङ्ग्रीले नेतृत्व गरेको कमजोर प्रशासनका लागि अर्को प्रहार हो। उनी मोइजको हत्या भएको दुई साता पछि देशका कार्यवाहक प्रमुख बनेका थिए।
त्यहाँ नयाँ राष्ट्रपति चयनका लागि मिति सार्वजनिक गरिएको छैन।

हत्या गरिएका राष्ट्रपति मोइजलाई पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको बताइएको थियो। घटनामा प्रथम महिला पनि घाइते भएकी थिइन् ।