६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्स, लाखौं आकंक्षी प्रतिक्षारत

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि आवेदन खुलाएको छ । नयाँ लाइसेन्स लिन लाखौं नागरिक प्रतिक्षारत छन् । वैशाख १६ गतेदेखि कोरोना महाकारीका कारण लाइसेन्स बन्द भएको थियो । अनलाइनबाट आवेदन दिन सकिने प्रणाली सोमबार रातिबाट खुलेको विभागले जानकारी गराएको छ । आवेदन प्रणाली खुलेसँगै अब नियमित रुपमा फारम भर्न सकिने भएको छ ।

दैनिक कार्यालयको कोटा निर्धारण गरि दैनिक रुपमै आवेदन लिन थालिएको हो । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन स्वीकार गर्ने भएका छन् । नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । लिखित परीक्षामा अब ४, ४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ । नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक(फरक अंकभार दिइएको छ । ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।