६ साँझ सौताको १ साँझ मेरो

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

सुकुमाया नैकापको एक चोकको कुनामा बसेर दिनभरि मकै बेच्थिन् । वास्तवमा भन्ने हो भने, उनको शरीरमा बैंश चढेदेखि नै आगो फुक्दाफुक्दै दिनहरु चुँडिरहेकी महसुस गर्न थालेकी छिन् । मकै पोल्दापोल्दै उनको अनुहार धुँवाले पुरै डढाइसकेको थियो । जन्मिँदा उनी त्यति काली थिइनन् रे । केही सृष्टिको कठोर घामले त केही मकैको निर्मम धुँवाले उनको रुपको उज्यालो खायो । यसरी रुप डढेपछि उनी आफ्नै श्रीमानको प्रिय भइनन् । काली श्रीमतीले मात्र मन अघाएन भनेर जँडयाहा श्रीमानले अर्की एकजना गोरी श्रीमती पनि ल्याएर जोरपाटीमा अर्को एउटा कोठा लिएर राख्यो । यसरी उनी आफ्नै श्रीमानको पहिली श्रीमती बनी । श्रीमानले सौता ल्याए पनि सुकुमायाले श्रीमानलाई त्याग्न सकिनन् । बरु श्रीमानसँग उनले आफ्नो हिस्सा दाबी गरिन् । भएभरको सम्पति जुवामा हारिसकेको, जँडयाहा श्रीमानले के दिन सक्नु ? ऊसँग भएको सम्पति भनेकै एक थान अग्लो मोटो शरीर थियो । उसले एक हप्तालाई सात दिनमा छुट्यायो र सुकुमायाको हिस्सामा राखिदियो, हप्ताको एक बार– शुक्रवार । श्रीमानबाट पाएको हप्ताको एक दिन उनको लागि सुनको हार भन्दा कम थिएन । सुनको हार त हप्ताको सातै दिन झुलाउन पाउली, तर सिउँदोमा सिन्दुर सजाउने अधिकार उनले हप्ताको एकदिन मात्र पायो । हप्तामा छ दिनको सिन्दुरको तिर्खाले हो कि अरु के कारण, अचेतन मनले उनी कहिलेकाँही अरुले नसुन्ने गरी बर्बराउँथिन् – छ साँझ सौताको, एक साँझ मेरो ।
मकै पोलेर बेच्नु उनको पेशा हो । मकै पोल्दा दन्किने आगोले उनीभित्र दन्किने आगोलाई मत्थर बनाइदिन्थ्यो । हुन त मकै पोल्न आगामा उनले आफ्नै आमासँग सिकेकी थिइन् । यो भन्न सकिन्छ कि आगोको सानो परिधिमै उनको बैंश फुल्यो अनि एकदिन बैंश त्यही आगोमा खस्यो, हरियो मकै खसे जस्तो, बैंश र मकै दुबै सँगै निस्किए कालो भएर । जीवनमा जस्तै पीडा भए पनि चपाएर, उनी सँधै त्यही चोकमा भेटिन्छिन् । उनको ब्यस्तताले यो ठम्याउन सकिन्छ कि, उनको जीवनमा थकान त छ, तर विश्राम छैन । उनले जीवनमा कति मकै बेचे, बेचे, त्यस्को कुनै गिन्ति छैन । अरु बेला त साँझसम्म मकैको आगो फुकेर बस्छिन् तर शुक्रवारको दिन भने उनले हतार हतारमा आगो फुकिरहेको हुन्छिन् । उनलाई साँझ हुनुअगावै घर जान हतार हुन्थ्यो । बेच्न नभ्याएका मकैलाई बोरामा हतार हतार राखेको देख्दा, उनलाई देख्नेहरुले ‘आज किन हतार गरेकी त सुकुमाया’ भनेर प्रश्न गर्दा, आँखाभरि खुसी झल्काएर बोल्थिन्, ‘आज मेरो श्रीमान आउँदै हुनुहुन्छ ।’
‘तिम्रो नि श्रीमान छ र ?’ अरुले जिस्काएर सोध्दा उनले नाडीका चुराहरु सिउँदोको माथि छनछनाउँदै बोल्थिन्, ‘यी क्या त ?’
त्यो प्रश्नको जवाफ दिँदा, सुकुमायाको अनुहारमा रातो लालीको यति विस्तार हुन्थ्यो कि मानौ पश्चिमतिरको डाँडामा छरिएका लाली पनि उनले नै छरेका हुन् ।
कान्छी पत्नीलाई लिएर जोरपाटीमा छुटै कोठामा बसेको सुकुमायाको श्रीमान हप्तामा एकदिन शुक्रवार सुकुमायाको नैकापको कोठामा आउँथ्यो, रात बिताउन । दुई श्रीमतीको बीचमा भागबण्डा हुँदा, हप्ताको एक दिन सुकुमायाको भागमा परेको थियो । उनी श्रीमान आएको रात श्रीमानलाई सक्दो सत्कार गर्थिन् । अझ हप्ताको छ दिन मकै बेचेर जोगाएको पैसा कहिलेकाँही श्रीमानलाई दिन्थिन् । श्रीमानलाई मन पर्ने परिकार बनाएर खुवाउँथिन् । अरु बेला सिन्दुर नलगाए पनि त्यो दिन भने उनको सिउँदोमा सिन्दुरको धर्को नै लामो हुन्थ्यो । उनले सिन्दुर लगाउने दिन उनको सौताले भने सिन्दुर लगाउन पाइँदैन्थ्यो । आपसी सम्झौता नै यस्तै भएको थियो । शुक्रवार भएर हो कि, उनको कोठामा आउँदा श्रीमानको सासबाट रक्सीको गन्ध हवासै आउँथ्यो । उनलाई रक्सीको गन्ध खासै मन पर्दैन, तर मन परेको श्रीमानलाई स्वीकार्दा उनले श्रीमानको शरीरसँगै गन्हाएको कलेजोलाई पनि स्वीकार्थिन् । र त उनको श्रीमानलाई सबै सेवा गरेर अन्तिम सेवा गर्दा पनि सोध्दैनन् कि आज ‘रक्सी खाएर किन आउनुभयो ?’ गन्हाएको श्रीमानले उनलाई पनि गन्हाएर फुसफुस निदाउँदा उनी निदाएकी हुनन् । श्रीमानको दुर्गन्ध बैना लिएर, गन्हाएको शरीरले उनी जुरुक्क उठेर, रातको एघार बजे आफ्नो बिग्रेको कपाल ऐनामा हेरेर मिलाउँथिन् । कपाल मिलाउँदा मिलाउँदै उनी मुसुक्क हाँस्थिन् । त्यो बेला ऐनामा झुन्डिने आफ्नै प्रतिविम्व उनलाई संसारको सवै भन्दा सुन्दरी महिलाको प्रतिविम्व जस्तो लाग्थ्यो ।
सुरु सुरुमा यसरी रक्सी खाएर आउँदा उनले आफ्नो श्रीमानलाई घुर्कीको भावमा सोधेकी थिइन् – “मेरोमा हप्तामा एक रात आउनु हुन्छ, त्यो पनि रक्सी खाएर । यसरी गन्हाएर आउने भए, हप्ताको मेरो भागमा परेको रात पनि कान्छीसित नै बिताउँदा हुन्छ ।”
रक्सीको नाम लिनेवितिकै श्रीमानले उनको कपाल तानेर बोलेको थियो , “तेरो जिब्रो यस्तै चोथाले भएर त सौता ल्याउनु परेको । तँलाई के मतलव, म खाएर आऊँ कि नखाएर । त्यो त्यति राम्री भएर पनि, उसले छ रात बिताएको छ यही गन्हाएको मुखसित, तँ जाँठी, डढेको मकै जस्तो जस्तो अनुहार भएकी, तँलाई एक रात मसँग बिताउन घिन लाग्यो । रक्सी आफ्नै पैसाले खाएँ, तेरी आमाको घैटो फोडेको छु र ? यस्तै हो भने तँ एक्लै बस, म कहिले यो कोठामा आउँदिन् ।” यसपछि उनले कहिले पनि श्रीमानलाई रक्सी किन खाएर आयौ भनेर प्रश्न गर्ने हिम्मत गरिनन् ।
त्यस घटनापछि, उनले श्रीमान जस्तै गरेर आए पनि, जे गरे पनि चुपचाप स्वीकार्ने बानी बसालिन्। जँडयाहा नै भए पनि श्रीमान त छ भनेर उनले गर्व गर्न थालिन् । तर, हप्तामा एकदिन मात्र सिन्दुर लगाउँदाको पीडा भने उनीभित्र गुम्सिँदै गइरहेको थियो । उनी कहिलेकाँही त्यो पीडामा निसास्सिएर मकै पोल्दापोल्दै रुन्थिन् । कसैले किन रोएकी भनेर प्रश्न गर्दा रुनुको कारण नभनि मकै पोल्दा उठेको धुँवालाई ‘पापि धुँआ’ भन्दै सराप्थिन् ।
सुकुमायाले यो चोकमा मकै बेच्न थालेको बर्षो बर्ष भैसक्यो । कसैको लागि पनि, सुकुमायाको सिउँदो ‘छ दिन रिक्त भएर, एक दिन पूर्ण हुने’रहस्य कहिले खुलेन । मकै खानेहरुसित उनको सामान्य कुराकानि भने हुन्थ्यो । आजसम्म सुकुमायाले आफ्नो जीवनको कथा कसैलाई सुनाएको थिएन । तर, कहिलेकाही मनमा यस्तो औडाहा हुन्छ कि त्यस्लाई नपोखी सुखै पाउँदैन । एकदिन मनमा अति नै पीडा गुम्सिँदा, नजिकै ठेलामा राखेर जुता बेच्ने एक अर्धबैंशे तामाङ्ग पुरुषलाई सबै कथा सुनाएर हलुको बनिन् । सुकुमायाको सबै कथा सुनेपछि त्यो तामाङ्ग पुरुषको उनलाई हेर्ने नजर फरक भयो । एकदिन ठेलागाडामा अडेस लिएर, त्यो तामाङ्ग पुरुषले बोल्यो– ‘ तिमी मसित बिहे गर्छौ सुकुमाया ? म तिमीलाई रानी बनाएर राख्छु ।’
‘मेरो श्रीमान छ नि, तिमीसित विहे गरेर मेरो श्रीमानलाई के गर्ने त ।’ सुकुमायाले जवाफ दिइन् ।
’जेठीलाई भन्दा कान्छीलाई छ गुणा माया गर्ने श्रीमान भएर के गर्ने ? मसित बिहे गरेमा त तिमीलाई महिनाको तीसै दिन मैसित सुताएर राख्छु ।’
त्यसपछि सुकुमाया केही बोलिनन् । उनले त्यो तामाङ्ग पुरुषको कुरा सुनेर सुँकसुँक आँसु झारिन् । त्यो साँझ उनी चोकबाट बाँकी भएको मकै बोरामा थुपारेर, अरु बेला भन्दा चाँडै उठेर गइन् । भोलिपल्ट सुकुमायाले फुटपाथको अर्कै चोकमा मकै खन्याइन् । केही दिन तामाङ्ग पुरुषको ठेला टाढै टाढा गुडन थाले, एकदिन त्यो ठेला शहरबाटै हरायो ।
सुकुमायाको बाह्र बर्षको एक जना छोरो पनि छ । सुकुमायाको जँडयाहा श्रीमान कहिले पनि त्यसलाई आफ्नो छोरो हो भनेर स्वीकार्न तयार भएन् । मेरो रुपसँग पटक्कै मिल्दैन कसरी मेरो छोरो हुन्छ भनेर सुकुमायाको श्रीमानले तर्क राख्थ्यो । बाबुले नस्वीकारे पनि सुकुमायाले आफ्नो छोरोलाई मुटुको टुक्रालाई जस्तै जतनले हुर्काएर राखेकी थिइन् । अरु बेला त सुकुमायालाई छोरालाई आफूसँगै कोठामा सुताउँथिन् । शुक्रवारको राती भने उसलाई बाहिर पठाउनुपथ्र्यो । आफ्नै छोरालाई ‘गएको राति कहाँ सुतिस्’ भनेर प्रश्न गर्न पाउँदैन भनेर श्रीमानले सुकुमायालाई बाचाले बाँधेको थियो । भोलिपल्ट शनिवार सात बजे कोठामा भात खानका लागि आउँदा न सुकुमायाले छोरालाई केही प्रश्न गथ्र्यो न छोराले नै सुकुमायालाई बितेको रातको बारेमा कुनै घटना सुनाउथ्यो ।
एकदिन सुकुमायाको जिन्दगीमा निकै अप्रिय घटना घटयो । शनिवारको दिन थियो । रातभरि सँगै सुतेर, श्रीमान ज्यामी काम गर्ने भएकोले सबेरै काममा गइसकेको थियो । सँधै सात बजे नै कोठामा आउने छोरो त्यो दिन आएन । उनको मनमा औडाहा भयो । उनी छोरोको खोजी गर्न बाहिर निस्कनै लागेकी थिइन् । त्यति नै बेला, घरबेटी आमा, हस्याङ्गफस्याङ्ग गर्दै सुकुमायाको कोठामा आई र भनी ।
‘सुकुमाया, सुकुमाया, तिम्रो छोरो… तिम्रो छोरो मरेछ ।’ हडबडाएको स्वरमा बोली ।
यो कुरा सुनेर सुकुमायालाई भाउन्न भयो । उनी भुइँमा थचक्क लडिन् । भुइँमा दुई हातले टेकेर सोधिन ‘कसरी मर्यो, आमा ?’
‘राति बाटामै सुतेको रहेछ, टिपरले किचेर गएको रे । हेर्न जाऊ, तल चोकमा मान्छेहरुको लस्करै लागेको छ । बाटामा रगतको टाटै टाटा लागेर, मैले त हेर्नै सकिनँ । हेरेकाहरुले त आँखै निस्क्या छ भन्छन् ।’
सुकुमायाले यो भन्दा बढी सुन्न सकिनन् । उनी अचेत भइन् । होसमा आउँदा उनी ‘मेरो बाबु’ भन्दै चिच्याउँदै दौडिन् । उनी पुग्दा रगतको टाटो लागेको बाटो पखालिसकेको थियो । उनको छोरो त्यहाँ थिएन । बिर हस्पितलमा लग्यो रे भनी जानकारी पाएर उनी त्यतै लागिन् । त्यहाँ पुग्दा उनको छोरालाई मृत घोषणा गरिसकेको थियो । मकै बेचेर जम्मा गरेको पैसाको एक पोको, सबैको अगाडि फुकालेर उनले छोराको लास मुर्दाघरबाट आफ्नो काखमा सारिन् । बाबुले नस्वीकारेको छोरालाई, उनी आफै दागबत्ति दिनको लागि तयार भइन् । त्यो दिन सुकुमायाले आगो मकैमा होइन, छोराको शरीरमा झोसिन् । आर्यघाटमा छोराको लास जलिरहेको बेला, मेरो छोरो होइन भनेर छोरालाई अस्वीकार गर्ने बाउले खुट्टा टेकेन ।
उनले छोरो टिपरले किचेर मारिएको भए पनि पीडकबाट राहत भने पाएनन् । रातिको समय भएकोले अँध्यारोमा कुन टिपरले हानेर मारेको हो, पता लगाउन सकिएन् भनि सम्वन्धित निकायबाट जवाफ दियो । उनको छोरालाई हानेको टिपरले नै सडकमा सुतिरहेका अरु दुई जना भुस्याहा कुकुरलाई पनि किचेको रहेछ । उनीहरु पनि मरेका रहेछन् । संयोग नै भनुँ, उनको छोराको लास भुस्याहा कुकुरको लाससँगै मिसियो । तल्लो सरकारले पनि माथिल्लो सरकारलाई नै साथ दिँदै, भुस्याहा कुकुरसँगै मृत्यु भएको भुस्याहा मानिसको रगतलाई पुछेर, सडकको छातीमा फेरि त्यही लस्करमा गाडी दौडाए । बाबुले नस्विकारेको, एक छाकको लागि मकै पोल्ने गरिब आामाको अनाथ छोराको न्यायको लागि कस्ले लडनु ? तर, उनले साहस बटुलेर चौकीमा प्रहरीलाई एउटा प्रश्न भने गरेकी थिइन् । ‘कति बजेतिर हानेको रहेछ राति ?’
‘ठयाक्कै एघार बजे’ उनले पाएको जवाफ यही थियो । यो जवाफ सुने पछि,
उनको कानमा श्रीमानको ध्वनी गुँजित भयो ‘रातिको ठयाक्कै एघार बज्यो सुकुमाया, अव तिम्रो चोली खोल्छु है ।’
पहिलोचोटी आफ्नै श्रीमानलाई सम्झेर सुकुमायाले घृणाले बोलिन्, ’कति घिनलाग्दा मान्छेहरु हुन्छन्, यो संसारमा । एउटी स्त्रीको चोली खोलेरै त्यो छोरोलाई बनाएको थियो । आज त्यही छोरा सामु, त्यही स्त्रीको त्यही चोली खोल्न लाज लाग्यो उसलाई । हिजो एक राति मेरो छोरोलाई कोठामा अटाइदिएको भए, उसको ज्यान जाने थिएन । कोठामा काठको खुट्टाले टेक्ने मेच अटाए, काठकै खुट्टा टेक्ने टेबुल अटायो, निर्जिव खाट अटायो । मेरो नाबालक छोरो अटाएन ।’ उनको विद्रोहको स्वर भने वाहिर सुनिएन ।
सुकुमाया चौकीमा धुरुधुरु रोइन् ।
‘मेरो छोरालाई टिपरले कुल्चिँदा, एक यौनपिपासुले मेरो छाती कुल्चिरहेको रहेछ । म पापी आमा ।’ त्यसपछि चौकीमै बेहोस भएकी सुकुमायाले आफ्नै डेराको कोठामा आँखा खोलिन् । आँखा खोलेके बेला, घरबेटी आमाले ‘लु यो खा’ भन्दै, उनको टेबुलमा एक गिलास तातो हर्लिक्स राखेर गइन् । घरबेटी आमाले चार पाँच दिन कि त हर्लिक्स कि त स्याउ ल्याएर उनको सेवा गरी ।
त्यो घटना पछि, सुकुमायाको एक हप्ता जति आँखा ओभाएन । बोरामा थन्काइएका मकैहरु सुकेर पहेँला भए । उनी सात दिन मकै पोल्ने चोकमा देखिएनन् । उनको आँखा रसाएको हप्ता, उनको लोग्ने भनाउँदो पुरुष, कोठामा देखिएन । छोरा बितेको पाँच दिन पछि, घरबेटी आमाले दिँदै आएको, हर्लिक्स र स्याउ अव कोठामा आएन । यसपछि उनले आफैसँग अन्र्तसंवाद गरिन् ‘घरबेटी आमाले दिँदै आएको हर्लिक्स र स्याउ खाँदै आएको पेट त मेरो शरीरसँग जोडिएको हो । यो पेट मेरै हो र यस्को लागि मेरै पसिना बगाउनु पर्छ ।’ छोरा बितेको एक हप्ता पछि सुकुमायाले आँखाको आँसु कुहिनाले ठेल्दै, बोराको मकै त्यही चोकममा खन्याइन् । फेरि सुरु भयो उनको मकै पोल्ने दैनिकी । फेरि पात्रो पल्टिए । फेरि अर्को महिनाको शुक्रवार आयो । कोठामा बसेर धुप काटदै गरेको बेलामा, निर्दोष अनुहार बनाएर उनको श्रीमानको कोठामा प्रवेश भयो । तैले मेरो छोरोलाई भुस्याहा कुकुर जस्तो मारिस् भनेर गाली गरी सँधैको लागि अस्वीकार गरुँ भन्दाभन्दै ‘मलाई माफ गर सुकुमाया’ भन्दै छातीमा लिपिक्क टाँसिएको श्रीमानलाई जर्वजस्ति चलेर ठेल्न खोजिन् । श्रीमानले उनलाई खाटैमा लडाएर, त्यो राति उनको कानैमा सुटुक्क भन्यो – ‘सुकुमाया अव म दुई महिना तिम्रै कोठामा बस्छु । म कतै जान्न । तिम्रो असाध्यै माया लागेर आएको । ल हेर, सिन्दुरको बट्टा । दुई महिनाको लागि त तिमीलाई पुग्छ होला नि’ उसले ज्याकेटको गोजीबाट निकालेर, दायाँ हातमा सिन्दुरको बट्टा राख्दै बोल्यो । उसले सुकुमायाको छातीमाथि नै सिन्दुरको बट्टा खोल्यो । सिन्दुरको बट्टा खोले पछि उनी चलमलाइनन् । उनको हलचल नभएको शरीर, श्रीमानको भारी शरीरले थिचिँदै गयो, थिचिँदै गयो । उनी हलचल नगरेकीले श्रीमानको हातको सिन्दुर अन्त पोखिएन, उनकै सिउँदोमा पोखियो । श्रीमान फुसफुस निदाउँदा उनी उनी उठेर ऐना हेरिन्, सिउँदोमा सिन्दुरको लामो धर्को भेटाइन । त्यो दिन उनले सिउँदो रंगाएको थिएन, तर उनले चालै पाएन सिन्दुर रंगिएको । उनले सुत्दै गरेकी श्रीमानलाई अघिको सबै घृणा पखाल्दै पुलुक्क हेरिन् ।
अचेल, सुकुमायाको ज्यानलाई पहिला जस्तो सञ्चो छैन । उनले छोरा बितेदेखि भातै खान छोडेकी थिइन् । पहिले नै दुब्लो शरीर, अब झन शोकले दुब्लाउन थालेको थियो । अझ हरेक राती श्रीमानको पहाड जस्तो शरीरले थिचिनु पर्ने । अचेल उनलाई दिनमै चार पटकसम्म सास फेर्न गाह्रो हुन थालेको थियो । कमजोर शरीरमा अब ज्वरो पनि जोडियो । अब उनलाई आफ्नै शरीर मकैको भारी नबोक्दा पनि मकैको भारी जस्तो लाग्यो । उनी तीन चार दिन ओछयानमै लडिन् । श्रीमान दिनभरि कता जान्थ्यो, जान्थ्यो र बेलुका कोठामा आएर सोध्थ्यो ‘आज के पकाइस् ?’
उनले श्रीमानलाई भन्यो, ‘आज चामल र दाल दुइटै सकियो । केही पकाइन । ऊ त्यो दराजमा पचास रुपैया होला, बाँकी थपथाप गरेर होटेलमा खाएर आउनुस् ।’ होटेलको कुरा निकाल्नेवितिकै श्रीमानले बोल्यो ‘दुई महिनाको लागि तिम्रो कोठामा आएको छु । मलाई पाल्न सकेनौ है ।’
भोलिपल्ट पनि ओछयानमा लडेको देखेर श्रीमानले त्यही बोल्यो ‘दुई महिनाको लागि तिम्रो कोठामा आएको छु । मलाई पाल्न सकेनौ है ।’
कहाँबाट उनको शरीरमा बल आयो कुन्नि, उनी ओछयानबाट जुरुक्क उठिन् र मकैको बोरा स्वाटै उचालिन् ।
बाटाभरि उनको कानमा श्रीमानको आवाज गुँजिराख्यो, ‘एक दुई महिनाको लागि –तिम्रो कोठामा आएको छु, मलाई पाल्न सकेनौ है ।’
सकी नसकी उनले त्यो दिन, बोराबाट मकैहरु चोकमा खन्याए । बिहानदेखि उनलाई ज्वरो आइरहेको थियो । तातो सासले सकी नसकी उनले आगो फुकिन् । तातो सासले आगोलाई फुक्दा झन झन तातो हुँदै गयो । मकै फुक्दाफुक्दा उनी आफूलाई सम्हाल्नै सकेन । उनी त्यही ढलिन् ।
कहिलेकाँही कमजोर भएको बेलामा, सुकुमाया मकै पोल्दापोल्दै आगो निभाएर, चोकमै निदाउँथिन् । यसरी मान्छेहरुले उनलाई मकैसँगै चोकमा निदाउनुलाई सामान्यरुपमा लिन्थे । तर, त्यो दिन, साँझ पर्यो सुकुमाया उठेन । सुकुमाया नउठे पछि त्यही साइकलमा फलफूल बेच्ने मधेसीले उनलाई उठाउन खोज्यो, उनी उठिनन् । त्यो दिन सुकुमायाको अन्तिम दिन रहेछ, कसैले पनि मकै पोल्दापोल्दै उनले प्राण त्यागेको चाल पाएन । सुकुमायालाई जे गर्दा पनि नउठे पछि, त्यो चोकमा यति भीड बढयो कि सुकुमायाको श्रीमान पनि त्यही भीडमा मिसिए र कसैलाई उसले भीडको पुछारमा सुटुक्क सोध्यो ‘यो भीड के को हो ?
के भएको यहाँ ?’
‘अँ, मकै पोल्दापोल्दै एकजना सुकुमाया भन्ने महिला ढलेर मरेकी रहिछ ।’ त्यो मान्छेले जवाफ दियो ।
उनले टाढैबाट मरेको आइमाईलाई यसो हेर्यो । त्यो सुकुमाया नै रहेछ । उनको सिउँदोमा सिन्दुरको लामो धर्को थियो ।
उनको लोग्ने सुकुमायाको कोठामा गएन त्यो साँझ, त्यहाँबाट सिधै गाडी चढेर जोरपाटीमा कान्छी श्रीमतीको कोठामा गयो । कान्छी श्रीमती टिभी हेरिरहेकी थिई । आफ्नो श्रीमानलाई देखेर उस्ले सोधी– ‘दुई महिनाको लागि गएको, एक महिनामा आयौ त फर्केर । आज त शुक्रवार हो, जानु पर्दैन त्यो जेठीकाँ ?’
उसले ओठ कपाउँदै बोल्यो, ‘कान्छीको माया लागेर आयो । कान्छी, कान्छी नै हुन्छ ।’
कान्छीले उनको गालमा हल्का थप्पड हान्दै बोली, ‘अह, कुरा गर्नमा त हजुरलाई कस्ले सक्नु र ?’
‘कान्छी, कान्छी नै हुन्छ । अवदेखि एक महिनाको तीसै दिन तिमीलाई नै ।’
‘शुक्रबार पनि ?’ कान्छीले लाडे भएर सोधी ।
‘अ… शुक्रबार पनि ।’
कान्छी श्रीमती मुसुक्क हाँसी । उसको अँगालोमा कान्छी श्रीमती लुटपुटिई । दराजबाट सिन्दुरको बट्टा निकाली र श्रीमानतिर दिँदै बोली ‘लगाइदिनु सिन्दुर, सिउँदोमा, कति बर्ष भयो शुक्रबार मैले सिन्दुर नलगाएको । अब त शुक्रबार पनि मेरो भयो नि’ कान्छी श्रीमती ठूलो ठूलो स्वर गरी हाँस्न थाली । ऊ सिउँदोमा सिन्दुर लगाउन पाएकीमा भन्दा बढी आफ्नी सौता हारेकोमा खुसी भएकी थिई ।
उसले सिउँदोको बट्टा एक हातमा लिएर, अर्को हातले शिरैभरि सिन्दुर लगाउन थाल्यो । आफैले पेटिकोट फुकाली श्रीमानको खुट्टानेर फाली र बोली – ‘कति टाढा हुनु भएको हजुर त आऊ अलि नजिक सर्नुस् ।’
सुकुमायाको कुनै खबर आएन । एक महिना बित्यो, दुई महिना बित्यो, तीन महिना । तीन महिना पछि एकदिन श्रीमान सुकुमायाले मकै बेच्ने चोकमा पुगेछ र नजिकै साइकलमा फलफूल बेच्ने एक मधेसी केटोलाई सोधेछ ‘त्यो मकै पोल्ने आइमाई खोई ?’
‘अचेल त आउँदैन उहाँ । मकै पोल्दापोल्दै यही ढल्नु भएको थियो । कहिलेकाँही सञ्चो नभएको बेलामा चोकैमा सुत्नुहुन्थ्यो । त्यो दिन पनि अरुलाई सञ्चो छैन भनेकोले सञ्चो नभएर सुतेको होला भनी ठाने सबैले । सुत्दासुत्दै मरिसकेको रहेछ । समयमै हस्पितल लगेको भए ठीक हुन्थ्यो कि ! जन्मिन पो गाह्रो, मर्न त के गाह्रो रहेछ त ! मकैको ढुङ्गग्रो फुक्दाफुक्दै सास गयो ।’
त्यही बेला त्यही चोकमा अर्को एक जना अर्धबैँशे महिला आएर त्यही चोकमा बोराबाट मकै खन्याई । आगो बालेर आगोलाई जोरजोरले ढुङ्गग्रोले फुक्न थाली ।
उनी त्यही मकै बेच्ने आइमाईको नजिक गयो र सोध्यो – ‘ दिदी, मकै एउटाको कति हो ?’
‘काँचो कि पोलेको ?’
‘पोलेको’
‘२५ रुपैया’
‘हजुरले दिनको कति कमाउनु हुन्छ ?’
‘मकै पोलेर, के कमाइनु र बाबु,आजभोलि बेपार सेपार नै छैन । यस्तै दिनको दुई सय रुपैया । गाह्रो छ बाबु काम । आगो फुक्दा फुक्दा दम फुल्छ । यही काम गर्दागर्दै घरपरिवारमा सबैलाई पाल्नु परेको छ । फेरि दिनभरि मकै पोलेर फोहरी भए रे भनेर श्रीमानले सौता हालेको छ । मकै नपोलुँ, छोराछोरीको बिचल्ली हुन्छ । पोलुँ, अव त दम फुलेर हैरान हुन्छु ।’ स्वाँ स्वाँ गरी ती मकै पोल्ने आइमाईले बोली । त्यो महिलासँग बोल्दाबोल्दै आज उसलाई सकुमायाको निकै याद आयो । सुकुमायासँग जोडिएका पुराना एक एक दिनहरु सम्झयो । उसलाई आज आफ्नो पापमा निकै पछुटो अनुभव भयो ।
उनले त्यो दिन, नैकापदेखि जोरपाटीसम्म कसरी पुग्यो चालै पाएन । कान्छीको कोठामा पुग्दा कोठामा कान्छी छैन । उनले बोलायो कान्छी, कान्छी !
कोठामा कुनै आवाज आएन । रातिको नौ बजेको बेलामा पनि कान्छीलाई नदेख्दा उसलाई शंका लाग्यो । उसले कोठाको सबै सामान खोतलखातल गर्न थाल्यो । त्यही नै बेला उसले शिरानीमुनि एउटा चिठी भेटायो । चिठीमा लेखिएको थियो । ‘मलाई अव तिम्रो साथ चाहिएन । तिमी जेठी श्रीमतीकाँ दुई महिनाको लागि जाँदा मैले यहाँ अर्कै पार्टनर भेटाएँ । म त्यहीसित खुसी भएँ, तिमीसँग भन्दा बढी । भो, मलाई तिम्रो आइतबार, सोमबार, मंगलबार, बुधवार, बिहीबार र शनिवार अनि सौतासँग जितेको त्यो शुक्रवार पनि चाहिएन । अब हप्ताको सातै दिन जेठीलाई देऊ । मेरो खोजी नगर्नु । मेरो सिउँदो अबदेखि रगाउनु पनि पर्दैन । तिमीले किनेर ल्याएको सिन्दुरको बट्टा दराजको घर्रामै छ । त्यो बट्टा नै जेठीलाई सुम्पिनु ।’
चिठी पढेर ऊ पागल भयो । उसले सोचेको पनि थिएन, कान्छीले यसरी लत्याएर हिँडछे भनेर । पागल जस्तो भएर, उसले दराजको घर्राबाट सिन्दुरको बट्टा निकाल्यो । ऊ रातको नौ बजेर तीस मिनेटमा बाटामा निस्कयो । उसलाई देखेर कुकुरहरुले भुक्न थाले । कुकुरको भुकाइलाई पनि चिर्दै, ऊ ठूलो ठूलो स्वरले चिच्यायो, सुकुमाया… कान्छी । ऊ अर्धचेतमा दौडिँदै गएकोले उसले हातमा समातेको सिन्दुरको बट्टाबाट सिन्दुर पोखिँदै गयो, पोखिँदै गयो । गोकर्ण नदीको बगरै बगरमा दौडिरहेको उस्को पछि पछि दस जना कुकुर पनि दौडिँदै थिए । नदीको एक किनारमा टक्क रोकिएर, त्यो रात दस जना कुकुरले रातभरि भुके, पानीलाई हेर्दै ।
सुनियो, बाइस दिनपछि एउटा जंगलको खोल्सामा एउटा लास चिन्नै नसक्ने अवस्थामा भेटियो रे । को होला त्यो ? के त्यो सुकुमायाको लोग्ने नै होला ? जस्ले आफ्नी श्रीमती, छोरालाई जीवनमा चिनेन, आज उस्कै लास कसैले चिनेन । उस्को मृत्युमा दश जना भुस्याहा कुकुरले वाहेक अरु कसैले आँसु बगाएन ।