काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो । मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको जानकारी दिएका छन् । टेक्सास मै रहेका सेजे गाउँका विवेक ओली मार्फत घरमा खबर आएको उनको भनाई छ ।
आइतबार बिहान करिब ५ बजेतिर बन्दुकधारी लुटेराहरूले गोली प्रहार गरेर हत्या गरेको र शव पोस्ट मार्टमको लागि अस्पताल लगिएको बुझिएको माइला बुवा खिमबहादुरले जानकारी दिए । उनले गोली लागेर दीपकको घटनास्थलमै मृत्यु भएको उल्लेख गरे । दीपकको हत्याको खबरपछि गाउँ नै शोकाकुल बनेको छ ।
दीपकको घरमा बुवा, आमा, श्रीमती, छोरी र दुई भाइ छन् । एक बहिनीको विवाह भइसकेको छ भने एक भाइ दिनेश वैदेशिक रोजगारीको सिलसिलामा कोरिया छन् । कान्छो भाइ जनक अध्ययनको क्रममा काठमाडौँमा छन् । मृतककी २६ वर्षीया श्रीमती विमला बुढाथोकी ओली ५ वर्षीया छोरी पढाउन दाङको तुलसीपुर बस्छन् ।
खिमबहादुरका अनुसार दीपक एक वर्षअघि मात्र अमेरिका पुगेका हुन् । सन् २०२३ को जुलाई महिनामा अमेरिका पुग्नुभएका दीपक अवैध बाटो हुँदै अमेरिका पुगेका हुन् । दीपकले २०७९ मङ्सिरमा घर छोडेका थिए । अमेरिका पुग्ने क्रममा बाटोमै करिब डेढ वर्ष र ८० लाख रुपियाँ खर्च भएको खिमबहादुरले जानकारी दिए । गोरखापत्रको सहयोगमा