काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को ९ महिना (साउन–चैत) मा नेपालमा ३० अर्ब ९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यस्तो प्रतिवद्धता गत वर्षको यसैअवधिको तुलनामा सामान्य वृद्धि भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत वर्ष चैतसम्म २८ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।
उद्योग विभागका अनुसार चैतसम्म कुल २६९ वटा एफडीआई स्वीकृत भएको छ । जसमध्ये १६ वटा चैतमा स्वीकृत भएको हो । विभागका अनुसार ९६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी एफडीआई प्रतिवद्धता आएको हो ।
यससँगै नेपालमा कुल एफडीआई ४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपालमा हालसम्म ६ हजार १२८ वटा विदेशी लगानी स्वीकृत भएको छ । यसवर्ष चैतसम्म स्वीकृति भएका प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामध्ये २५३ वटा साना उद्योगमा आएको छ । मध्यम खालका उद्योगमा १३ र ३ ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ । यसवर्ष आएको कुल लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन उद्योगमा आएको छ ।
यस क्षेत्रमा १२२ एफडीआई स्वीकृत भएको छ । जसको हिस्सा ४५ प्रतिशत हुन आउँछ । दोस्रो नम्बरमा सेवा क्षेत्र रहेको छ । यस क्षेत्रमा ९३ एफडीआई स्वीकृति भएको छ । जसको हिस्सा ३५ प्रतिशत हुन आउँछ । तेस्रो नम्बरमा उत्पादन क्षेत्र रहेको छ । यसमा १२, सूचना प्रविधिमा ९, पूर्वाधारमा ६, कृषिमा ५ र खानीमा २ वटा लगानी स्वीकृत भएको विभागले जनाएको छ । यस वर्ष साउनदेखि चैतसम्म १ हजार ७२० जनाले विजनेश भिसा लिएका छन् ।