एजेन्सी । चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खसेको छ । चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार लङ मार्च फाइभको अवशेष पुनः पृथ्वीमा खसेको हो ।
रकेटको अधिकांश हिस्सा वायुमण्डलमा नै जलेको र बाँकी भाग प्यासिफिक क्षेत्रको सुलु सागरमा खसेको एजेन्सीले जानकारी दिएको हो ।
यसअघि नै अन्तरिक्ष जानकारहरुले यो रकेट मानव बस्तीमा खस्ने सम्भावना निकै कम रहेको बताएका थिए ।
अनियन्त्रित भएर रकेट खसेको विषयले अन्तरिक्ष फोहोरबारे पनि प्रश्न उठाएको छ ।
चीनले आफ्नो अन्तरिक्ष स्टेसन टियाङगोङको काम पूरा गर्न उक्त रकेट पठाएको थियो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भने चिनियाँ अन्तरिक्ष एजेन्सीले आफ्नो अन्तरिक्ष मिशनबारे विवरण सार्वजनिक नगरेको जनाएको छ ।
पुनः पृथ्वीमै फर्किँदा मानव बस्तीमा खस्न सक्ने सम्भावना भएकाले विवरण सार्वजनिक गर्नुपर्ने नासाको भनाइ छ ।