एन्टिजेन प्रयोगबाट कोरोना परीक्षणको अनुमति, पीसीआर र एन्टिजेनमा फरक के ?

काठमाडौं । सरकारले परीक्षणको दायरालाई फराकिलो र सहज बनाउने उद्देश्यले पीसीआर भन्दा छिटो नतिजा दिने एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ राष्ट्रिय टेस्टिङ गाइडलाइनलाई चौथो पटक संशोधन गरी कोरोना परीक्षणमा एन्टिजेन किट प्रयोग गर्न सकिने स्वीकृति प्रदान गरेको जानकारी दिए।

जसबाट धेरै व्यक्तिको एकैपटक परीक्षण गर्नुपरे, छिटो निर्क्योल गर्नुपर्ने अवस्था रहे तथा एकै स्थानमा धेरैजना बसोबास गर्ने स्थान जस्तै ब्यारेक, कारागार तथा वृद्धाश्रम लगायतका स्थानमा एन्टिजेनमा आधारित द्रुत परीक्षण किटबाट परीक्षण गर्न सकिने छ ।

‘ ‘एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण गर्न राष्ट्रिय प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरुले पाउनेछन्। स्वास्थ्य सेवा विभाग र एफडिएबाट स्वीकृति प्राप्त किट मात्रै प्रयोग गर्न पाइनेछ।’ गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजारमात्रै शुल्क लिने व्यवस्था गरिएको बताए।

के हो एन्टिजेन किट ?

सामान्य भाषामा भन्नुपर्दा एन्टिजेन परीक्षणमा कोरोना भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गरिन्छ । यदि नमुनामा सो प्रोटिन रहेको देखिए त्यसको उपस्थितिले शरीरमा भाइरस सक्रिय रहेको जनाउँछ ।

एन्टिजेनकै प्रतिक्रिया स्वरुप शरीरले एन्टिबडी उत्पादन गर्छ । यो परीक्षण गर्ने प्रक्रिया र पहिला प्रयोग गरिएको एन्टिबडी परीक्षणको प्रविधि लगभग उस्तै नै हो ।

पीसीआर र एन्टीजेन परीक्षणमा के फरक छ ?

हालसम्म विश्वभर पीसीआर (पोलिमेरास चेन रियाक्सन) परीक्षणलाई कोरोनाको भाइरस पत्ता लगाउने भरपर्दो विधिको रुपमा मानिन्छ।

यो परीक्षणमा जेनेटिक मेटेरियललाई एक स्वाब स्याम्पलबाट अलग गरिन्छ। केमिकल्सको प्रयोगले प्रोटिन र फ्याटलाई जेनेटिक मेटेरियलबाट हटाएर नमूनालाई मलिकुलर ल्याबमा एनालाइसिसका लागि राखिन्छ। यसले स्वाबमा भाइरस छ कि छैन भन्ने प्रष्टसँग देखाउँछ।

तर, पीसीआर परीक्षण कम्तिमा पनि ७ घण्टा समय लाग्छ। स्वाबको तामक्रमलाई निश्चित डिग्री तापक्रम तल र माथि गरेर भाइरस हेर्ने गरिन्छ। पीसीआरमा रिएजेन्टको पनि तापक्रम कामय राख्नुपर्ने हुन्छ भने स्वाब कलेक्सनको पनि तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

एन्टीजेन परीक्षणले भने मानिसको शरीरमा भएको प्रोटिनलाई अलग गर्छ। यो परीक्षणमा ५ देखि १० मिनेटभित्र रिपोर्ट निकाल्न सकिन्छ।

तर, यो टेष्टको विश्वसनीयता पीसीआर परीक्षणको जति भने हुँदैन। यसको एक्युरेन्सी रेट पीसीआरको भन्दा कम हुन्छ। यसको प्रयोग मुख्यरुपमा हट स्पट एरियामा छिटो धेरै जनाको रिपोर्टका लागि गर्ने गरिन्छ।