नयाँ दिल्ली । भारतमा वायुप्रदुषण ह्वात्तै बढेको छ । धान भित्राएपछि पराललाई खेतमा छाडी कृषकले आगो लगाउने गर्छन् । सोहीकारण राजधानी दिल्ली लगायत यस आसपासका क्षेत्रमा हरेक वर्ष वायु प्रदुषण उच्च स्तरमा पुग्ने गर्छ ।
वायु प्रदुषण रोक्न सरकारले गाडीबाट हुने प्रदुषण नियन्त्रण गर्ने योजना ल्याएको छ । जसअनुसार अब रेडलाइट बलेर गाडी रोकिने अवस्था आएमा अब बन्द गर्नुपर्ने भएको छ ।
यो अभियानलाई सरकारले ‘रेड लाईट अन, गाडी अफ नाम दिएको छ । अर्कोतर्फ दिवालीका अवसरमा पटका पड्काउँदा पनि भारतमा प्रदुषण उच्च विन्दुमा पुग्छ । त्यसो त यो वर्ष पटकामा समेत नियन्त्रण गरिएको छ ।
दिल्ली वरपर हरियाणा र पंजाबमा पराल जलाउने काम बढी हुने गर्छ । दिल्ली सरकारले ट्राफिक सिग्नलमा रातो बत्ती भएका बेला गाडी बन्द गराउनका लागि नगर प्रहरी खटाएको जानकारी दिएको छ ।
दिल्लीमा प्रदुषणका कारण पुरै दिन तुवालो लागेकाले घाम लाग्न छाडेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार ४ नोभेम्बरदेखि ९ नोभेम्बरसम्म दिल्लीमा निरन्तर ६ दिनसम्म प्रदूषण स्तर ’गंभीर’ श्रेणीमा छ ।
राजधानी दिल्लीसहित एनसीआर फरीदाबाद, नोएडा, ग्रेटरनोएडा र गुडगाँवमा पनि वायु गुणस्तर अति खराब श्रेणीमा पुगेको छ ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिबार वायु गुणस्तर सूचकांक ४५१ एक्यूआई रहेको थियो। एक्यूआई शून्यदेखि ५० सम्मलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मलाई सन्तोषजनक , १०१ देखि २०० सम्मलाई मध्यम, २०१ देखि ३०० खराब र ३०१ देखि माथिको एक्यूआइलाई अति खराब मानिन्छ।