काठमाडौं । संसरका विकसित मुलुकले कोरोना भाइरसविरुद्धको खोप उत्पादन पछि वितरण शुरु गरिसकेका छन् । चीन र रुसले अघोषित रुपमा आफ्ना नागरिकलाई खोप लगाइसकेको सार्वजनिक भएको छ । बेलायतले औपचारिक रुपमै खोप वितरण थालेको छ । अमेरिका यसैसाताबाट सर्वसाधारणलाई खोप वितरण गर्ने तयारीमा छ ।
तर, तेस्रो विश्व भने अझै अलमलमा छ । किनकी यी मुलुकसँग खोप उत्पादनको क्षमता त परै आवस, मुलुकमा भित्राएर उचित तापक्रममा राखी वितरण गर्ने क्षमता पनि छैन । यो अवस्थामा नेपालजस्ता अतिकम विकसित मुलुकले कसरी खोप प्राप्त गर्लान् ? यो चासोको विषय बनेको छ ।
यसै सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक शुक्रबार बसेको छ । खोप कसरी नेपाल ल्याउन सकिन्छ भन्ने सम्बन्धमा सरोकारवाला मन्त्रीको उपस्थितिमा सीसीएमसीले तयारी थालेको हो ।
शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग सीसीएमसीका संयोजक इश्वर पोखरेलले सामूहिक छलफल गरेका छन् । जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिकाबारेमा छलफल गरिएको सीसीएमसीले जनाएको छ ।
शुक्रबारको बैठकले बैठकले कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको छ । सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने सम्बन्धमा समेत आज छलफल भएको छ ।