असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

काठमाडौं । असार सकिन अब एक साता मात्र बाँकि छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित यो महिनामा कृषक व्यस्त रहनु पर्ने हो ।

तर, प्रकृति कृषकमैत्री नबन्दा अहिलेसम्म रोपाईको माहोल शुरु हुन सकेको छैन । बालिविकास तथा जैविक संरक्षण केन्द्रका अनुसार मुलुकभर अहिलेसम्म मात्र २३ प्रतिशत खेतमा रोपाइं सम्पन्न भएको छ ।

केन्द्रले २२ असारसम्मको तथ्यांक समेटेर मंगलबार विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो वर्षको २२ असारसम्म ५३ प्रतिशत खेतमा रोपाई भइसकेको थियो ।

ढिला मनसुन शुरु हुनु र कतिपय स्थानमा अझै खडेरी नै परेका कारण वर्षातमा आधारित रहेर हुने रोपाई अझै शुरु हुन नसकेको हो ।

नेपालमा करीव ६५ प्रतिशत खेतियोग्य जमिनमा अझै पनि स्तरीय सिञ्चाई सुविधा पुगेको छैन । त्यसकारण कृषक वर्षातकै पानीमा भर पर्नु पर्ने अवस्था रहेको छ ।

नेपालमा कुल १३ लाख ७१ हजार ७०६ हेक्टर जमीनमा धान रोपाइँ हुने तथ्यांक केन्द्रसँग छ । त्यसमध्ये २२ असारसम्म ३ लाख २५ हजार ९ सय १ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

उच्च पहाडी भूभागमा ४८ हजार १९३ हेक्टर जमिनमा धान रोपाई हुन्छ । त्यसमध्ये १६ जार ६९३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

मध्य पहाडमा ३ लाख ४६ हजार ९९ हेक्टरमा रोपाई हुनेमा एक लाख ७ हजार ८०१ हेक्टर जमीनमा मात्रै रोपाइँ सकिएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

तराईमा भने ९ लाख ७७ हजार ४१४ हेक्टर जमीनमा धान खेति गरिन्छ । त्यसमध्ये ३ लाख २५ हजार ९०१ हेक्टर जमीनमा मात्र रोपाइँ सकिएको छ ।

कुल धान उत्पादनको झण्डै ७० प्रतिशत हिस्सा प्रदेश २ ले ओगट्छ । पहाडभन्दा पनि तराईको जिल्लामा हुने रोपाईले धेरै हदसम्म तथ्यांकमा प्रभाव पार्छ ।

मनसुन ढिला शुरु हुँदा तराईका नदीहरुमा समेत पानीको बहाब बढ्न सकिरहेको छैन ।