निरपेक्ष वामपन्थ र भिजिलान्ते प्रगतिशीलता

पुरुषोत्तम लम्साल, अमेरिका

भूमिका नबाँधि विषयवस्तुमा जाऔं ।
कार्ल मार्क्सकै शब्दमा ‘धर्म उत्पीडित प्राणीको चित्कार हो र धर्म हृदयहीन संसारको हृदय हो वा त्यो भावहीन परिस्थतिको भावना हो।’
यसैमा जोडेर मार्क्सले ‘धर्म जनताका लागि अफिम हो’ भन्ने वाक्य लेखेका हुन् ।
काल मार्क्स लेख्छन् – ‘धर्मलाई उत्पीडितहरु वास्तविक सुखको माग गर्ने थलो बनाउँछन् । विद्यमान ब्यवस्थाको सम्बन्धमा भ्रमको परित्याग गर्ने माग जरुरी हुन्छ, त्यसैले धर्मविरुद्ध सङ्घर्षको अर्थ मानवीय भावना र चरित्रविरुद्धको सङ्घर्ष पनि हो। ’
उनको विचारमा पनि ’जबसम्म मान्छेको दुःख रहन्छ, जबसम्म मान्छेको आँशु रहन्छ, जबसम्म मान्छेले वास्तविक सुखको अनुभूति गर्दैन तबसम्म धर्म रहन्छ ।’ काल माक्र्स के पनि भन्छन् भने ‘धर्मको अन्त्य मान्छेको दुःखको अन्त्य पनि हो ।’
अब हामी त्यही अफिममा मात्र अल्झिएर, त्यही अफिममा मात्र लठ्ठ परेर एउटा वाक्यको आफूअनुकूल ब्याख्यामा रमाउँछौं । रमाइरहेका छौं ।
मलाई एउटा ठट्टा याद आइरहेको छ । ठट्टामा के हुन्छ भने भारतमा एक जना मालिकले आफ्नो सेवकलाई सधैं समाचार बताउनपर्ने काममा लगाएका छन् । एक दिन सेवक समाचार सुनिरहेको छ । समाचार अल इण्डिया रेडियोबाट बजिरहेको छ र समाचार शुरु हुन्छ ‘आज सुबह महात्मा गान्धीजी ने इन्दिरा गान्धीजी से कहा…’ (समाचारको वाक्य पूरा हुन नपाउँदै प्राविधिक गडबढी हुन्छ ।)
केही बेरपछि पुनः प्रशारण शुरु हुन्छ ।
(तर त्यतिबेलासम्म समाचार सकिएर गीतको कार्यक्रम शुरु भइसकेको हुन्छ ।)
रेडियोमा त किशोर कुमारले गाएको रोटी चलचित्रको गीत बजिरहेको छ;
‘नाच मेरे बुलबुल, बुलबुलको पैसा मिलेगा
कहाँ कदरदान हमें ऐसा मिलेगा’

भोलीपल्ट बिहानै मालिकले सोधे हिजो साँझको समाचार सुनाउ ।
सेवकले समाचार भन्न शुरु गर्यो–
आज सुबह महात्मा गान्धीजी नें इन्दिरा गान्धीजी से कहाँ
नाच मेरो बुलबुल, बुलबुलका पैसा मिलेगा ।
मालिकलाई के थाहा कि त्यतिबेला प्रशारणमा प्राविधिक गडबढी थियो भन्ने कुरा ।
सेवकलाई के थाहा कि प्राविधिक गड्बढीका कारण समाचार र गीत मिसिएर अनर्थ भइरहेको छ भन्ने कुरा ।

हो, मार्क्सको धर्म जनताका लागि अफिम हो भन्ने कुरामा पनि धेरैजना यही प्राविधिक गड्बढीको शिकार भइरहेको देखिन्छ । धर्मलाई माक्र्सले भनेझैं अफिम ठान्ने वा बताउने जमातले कि माक्र्सले उक्त वाक्य अगाडि र पछाडि लेखेका कुरा जानिरहेको छैन कि जानेर पनि नजानेको जस्तो गरिरहेको छ । र, सन्देश ‘नाच मेरी बुलबुल बुलबुलको पैसा मिलेगा’ जस्तो भइरहेको छ ।
माक्र्सले धर्मलाई ‘उत्पीडित मान्छेको चित्कार’ किन भने ? हामी यता प्रवेश नै गर्दैनौं । धर्म अफिम हो, अफिम हो मात्र भनिरहेका छौं तर माक्र्सले धर्मलाई किन ‘उत्पीडित मान्छेको चित्कार’ भने भन्ने प्रश्नको जवाफ कहिल्यै खोजेनौं ।
माक्र्सले लेखेको के हो भने ‘मान्छे धर्मको रचना गर्दछ तर धर्म मान्छेको रचना गर्दैन ।’ उनी थप्छन् –’धर्म मान्छेको स्व–चेतना हो वा स्व–प्रतिष्ठा हो जहाँ मान्छेले आफूलाई नै जान्न वा पहिचान गर्न सकेको छैन, त्यसैले मान्छे भट्किन्छन् । जसले यो संसारबाहिर कदम राख्यो ऊ अमूर्त छैन वा रहन्न ।’
यहींनेर माक्र्सले ‘मान्छे त मान्छेको संसार हो, राज्य हो र समाज हो’ भनेका हुन् वा भनेका छन्।
माक्र्सले के लेखे भने ‘धर्म संसारको सामान्य सिद्धान्त हो । धर्मको लोकप्रचलित पद्दति हुन्छ । धर्मको आध्यात्मिक कीर्ति उच्च हुन्छ । त्यही उसको उमंग हो, त्यही उसको अंग हो, त्यही उसको अभिनन्दन हो, त्यही सन्तोष हो र औचित्य स्थापनाको त्यही सार्वभौम स्रोत हो । यही मानवीय मूल्यको सारतत्वको विलक्षण अनुभुति हो तर यो वास्तविक अनुभूति होइन ।’ माक्र्सले धार्मिक सुख वा आनन्दलाई वास्तविक सुख नरहेको कुरामा विशेष जोड दिएका छन् ।
हो, यही हो माक्र्सले लेखेको ।
माक्र्सले धर्मलाई पूजा वा ईश्वरको रुपमा मात्र व्याख्या गरेका होइनन् । माक्र्सले ईश्वरको आराधना नगर भनेका होइनन् इश्वरको पूजा गर्ने संस्कारले मान्छेले आफ्नो मूल्य बिर्सिरहेको छ भनेका हुन् । माक्र्सवादको दुरुपयोग गरेर स्वार्थको रोटी सेक्ने र जिविका चलाउनेले मात्र अंश अंशमा काटेर धर्म निर्वाह गरेका हुन् । मूल लक्ष्यबाट विचलित भएपछि मान्छे अंशमा सीमित हुने हुन् र रुप पक्षमा अल्झिएर सारलाई बिर्सने हुन् ।
त्यसैले हामीकहाँ फगत अफिम मात्र बिकिरहेको छ ।
किनकि, माक्र्सवादले धर्मलाई तर्कशास्त्रको रुपमा, संस्कारको रुपमा र मानवीय अनुभूतिको रुपमा व्याख्या गर्दछ र धर्मसृजित संसारविरुद्ध तार्किक संघर्षको आव्हान गर्दछ । जनै र टुप्पीमा, नाक र आँखामा, टोपी र धोतीमा अल्झिएर हामीकहाँ हुने र भइरहेका ब्याख्या माक्र्सवादका लम्पट चिन्तकहरुहरुको विलास मात्र हो । किनकि, माक्र्सवादले धर्मलाई अंशमा होइन समग्रतामा व्याख्या गर्दछ । र, अंशमा व्याख्या गरेर उत्तेजना फैलाउने हाम्रो वामपन्थी चरित्र तामस चरित्रको उदाहरण हो ।
हाम्रो बामपन्थको सार चरित्र
भारतमा जस्तै नेपालमा पनि हिन्दू धर्म, दर्शन, भाषा, सँस्कृतिको चिन्ता गर्ने वा त्योभित्रको सकारात्मक पक्षको पक्ष लिनेलाई ‘दक्षिणपन्थी’ को बिल्ला भिराइन्छ । र, नेपाली बामपन्थभित्र ‘दक्षिणपन्थ’ स्थायी शब्दावली हो जसले मूलतः सत्ता र शक्तिका लागि भारतको आशचपु (आर्थिक, सहायता, चन्दा, पुरस्कार) ताक्ने भन्ने बुझाउँछ । अर्को चाँहि आफूलाई क्रान्तिकारी दावी गर्ने एउटा स्वघोषित बर्ग छ जसले कसैले परम्परागत धर्म र सँस्कृतिको पक्षमा बोल्यो भने त्यसलाई दक्षीणपन्थी भनेर लखेट्न शुरु गर्छ ।
विष्मय कहाँ हुन्छ भने अमेरिकाका रेड इण्डियनमाथि वा अमेरिकाका अल्पसङ्ख्यकमाथि थोपरिएको धार्मिक साँस्कृतिक प्रभुत्ववाद हाम्रा क्रान्तिकारी विचारक माक्र्सवादीहरुलाई दुख्छ । अस्ट्रेलियाका आदिवासी एबोरोजिनल समुदायको रैथाने सँस्कृतिमाथिको अतिक्रमण देखेर यिनको माक्र्सवादमा उभारै आउँछ र उनीहरु विश्वव्इापी ऐक्वद्धतामा सरिक हुन तीन बित्ता उफ्री हाल्छन् । गाँठी कुरा के भने अफ्रिका, अमेरिका वा दक्षिण अमेरिकामा आफ्नो परम्परागत, रैथाने, आदिवासी धर्म र सँस्कृतिको पक्षमा बोल्ने क्रान्तिकारी हुने, नेपालमा चैं दक्षिणपन्थी हुने भाष्य तयार भएको छ हामीकहाँ । अन्यत्रको बोलीमा साँस्कृतिक पहिचान रक्षार्थ संघर्ष हुने नेपालमा चैं दक्षिणपन्थ हुने ? यो विष्मयबाट नेपाली वामपन्थ गुज्रदै गुज्रदै गएजुज्रदै आइरहेको छ । अनौठो त अझ हाम्रो वामपन्थको मानक मापदण्डै यही बराबर छ ।
भन्न खोजेको, हाम्रो वामपन्थी प्रगतिशीलता अमेरिकी आदिवासीलाई चाँहि उनीहरुको धर्म, सँस्कृति फिर्ता दिनुपर्छ, उनीहरुको श्रद्धास्थलमा बाह्य अतिक्रमण वा हस्तक्षेप हुनहुँदैन भन्छ। तर, नेपालका हिन्दू, अल्पसंख्यक, सीमान्तकृत समुदायमाथि धार्मिक साँस्कृतिक अतिक्रमणबारे चुप्पी साँध्छ, नबोलेरै मौन समर्थन दिइरहन्छ । र, जसले बोल्छ ऊ दक्षिणपन्थी करार हुन्छ । हो, नेपाली वामपन्थभित्र यो चरित्र दरिद्र छ । खासमा यसलाई छेपारे वामपन्थ भन्दा हुन्छ ।
जस्तै, आफूलाई क्रान्तिकारी एवम् प्रगतिशील देखाउन चाहने एउटा बर्ग छ र अर्को सबाल्र्टन दाबी गर्ने छुपारुस्तम तप्का । उदाहरणका लागि यी दुबै पृथ्वीनारायण शाहको विद्रुपीकरण गर्न यथासक्य यत्न गर्छ । यिनीहरु कहिल्यै नेपाल नबसेका जिसेप्पीले जम्मा चार महिना नेपाल बसेर फर्किएका अर्का पादरीको मौखिक बर्णनमा आधारित रहेर लेखिएको तीन पृष्ठमा सत्र तथ्य गल्ती रहेको पाना पल्टाएर पनि होइन हल्लाको पछि लागेर दोडिन्छन् । तिनीहरुलाई नेपाल एकीकरण प्रक्रियाका क्रममा लखेटिएका इसाई पादरी र क्याथोलिक मिसनमा मिसिएका केही नेपालीको पीरले छाती पोल्छ । तर न तिनीहरु ल्हासाबाट लखेटिएर नेपाल छिरेका ती पादरीहरुको स्वार्थबारे बोल्छन् न बेतियाबाट हुलिएका पादरीको स्वार्थ केलाउँछन्। भूगोल र भावनाको यिनका ब्याख्या हेर्दा, रोदन सुन्दा समाजको, सामाजिक विकासको, सत्ता र राज्यसत्ताको सापेक्षतावाद हृदय खोलेर हाँस्छ । जस्तै, हाम्रा माओवादी क्रान्तिकारहरुले हामीले गरेको हिंसा न्यापूर्ण, वस्तुगत परिस्थितिजन्य आवश्यकता भनेको जस्तो । अर्थात्, फलानो चाँहि क्रान्तिको आवश्यकता तर ढिस्कानो चाँहि अत्याचार ।

हो, नेपाली बामपन्थभित्र ठीक यस्तै विचारधारा छ जसले दशकौंदेखि प्रगतिशीलताको आवरण ओडेर सनातन अभ्यासविरुद्धको क्रियालाई मल र जल हालिरहेको छ । किनकि, हिन्दू वा हिन्दू सँस्कृति वा साँस्कृतिक पक्षको पक्षमा बोल्दा वा बिदेशी धार्मिक साँस्कृतिक अतिक्रमणको विपक्षमा बोल्दा उनीहरुको क्रान्तिकारिता क्षय हुन्छ । किनकि, उनीहरुको न्यारेटिभमा यो सरासर दक्षिणपन्थ हो । उनीहरु देशीय हिन्दूको विपक्षमा त बोल्छन् तर देशभित्रकै सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यकलाई बाह्य धार्मिक अतिक्रमणको दबदबे हिलो र पहिरोमा हुलिदिन्छन् । नेपाली बामपन्थभित्र त छँदैछ समाजभित्रै यो ऐंजेरु फैलदो छ । साँस्कृतिक, जातीय विविधताको पहिचानको विलोपीकरणको दीर्घकालीन मुद्दा यही वामपन्थको चरित्रसँग ठक्कर खान्छ । नेपाली वामपन्थको यो चरित्र देखेर लेनीन पनि स्वादले हाँस्दा हुन् । (अक्टोबर क्रान्ति वा रुसी क्रान्तिपछि लेनिनले रुसको शिक्षा, भाषा र सँस्कृतिको संरक्षणमा चालेको कदमबारे उल्लेख गर्न आजको बसाईमा सम्भव भएन ।)
छल, कपट, प्रलोभनलाई हतियार बनाएर अफ्रिक, अमेरिका, अष्ट्रेलिया, अमेजन, भियतनाममा इसाई धर्मान्तरण चल्यो भने त्यहाँ धार्मिक साम्राज्यवाद हुने, अनुचित हुने नेपालमा चल्यो भने जायज हुने ? हाम्रो बामपन्थी चरित्रको यो दोहोरो भूमिका चाँहि घृणायोग्य नहुने? कहीं नभएको अजीब बामपन्थ छ हामीकहाँ ।
नत्र सीमान्तकृत, अल्पसंख्यक समुदायको धार्मिक साँस्कृतिक पक्षमाथिको बाह्य अतिक्रमणप्रति यिनलाई चासो र चिन्ता भएको तपाइले देख्नुभएको छ ? बहूसंख्यक जनजाती समूह भनेर सूचीमा राखिएका आधा दर्जन जातजाती र भाषाभाषीभित्र पसेर उथलपुथल मच्चाइरहेको मिसिनरीविरुद्ध वामपन्थले कुनै संगठित परिणाममूलक प्रतिक्रिया जनाएको पाउनुभएको छ ? छैन । किन छैन ? किनकि, यो नेपाली वामपन्थको कुरुप विशिष्टता हो । माओ र स्टालीनको तस्वीर शिरमाथि टाँगेर मात्र क्रान्तिकारी भइने भ्रमबाट हाम्रो वामपन्थ अहिलेसम्म मुक्त छैन । अझ बढी हिन्दू धर्म, सँस्कार र सँस्कृतिको विरोध नगरी प्रगतिशील भइदैन भन्ने भ्रमले हाम्रो वामपन्थ थिचिएको थिचिएकै छ । डा. बाबुराम भट्टराइको ’टपरे मनोग्रन्थी’ यसको एउटा उदाहरण मात्र हो । यो उदाहरण पञ्चायतकालको उत्तराद्र्धमा धादिंग जिल्लाको दुर्गम वस्तीमा चर्च बनाएर इसाईलाई धर्मपरिवर्तनको लिखित अनुमति दिने बुद्दिमान तामाङ्गको ‘दक्षिणपन्थी’ प्रवृत्तिभन्दा हानिकारक र वीषयुक्त छ ।

ओली पशुपति जाँदाको जात्रा
माथिको सबै सन्दर्भ प्रधानमन्त्री केपी ओलीले दुई दिनअगाडि गरेको पशुपति दर्शनको सन्दर्भमा लिइएको हो । धेरैले ओली पशुपति जानुलार्य धार्मिक मुद्दा उठान गर्न लागेको अर्थमा बुझे । केहीले त भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक आवरणलाई आधार बनाएर नेपालमा अब हिन्दुवादको उदय हुन लागेको रुपमा समेत व्यख्या गर्न भ्याए । खगेन्द्र संग्रौला, सिके लाल, प्रतीक प्रधान, नारायण वाग्ले, युग पाठक मार्काका तथाकथित अभियन्ताहरुले स्वरमा स्वर मिलाएर ओलीले पशुपतिको दर्शन गरेर तानाशाही बलियो बनाउन लागेको भन्ने आशयका अभिव्यक्ति समेत दिए ।
केही ठालुले चर्चमा गएर माक्र्सवाद र क्रिस्चियानिटी उस्तै लाग्छ भन्दा त्यो निरपेक्षता हुने, केही ठालुले क्रिस्चियानिटी नै समानताको धर्म हो भनेर भतुवा विचार राख्दा ’अहो !’ हुने, केही ठालुले एकनाथ ढकाल बोकेर कैलाश पर्वत पुग्दा धर्मनिरपेक्षताको उदाहरण र क्रान्तिकारी कदम हुने, केही ठालुले प्रचीन गुठी सँस्कृतिको बजेट काटेर बिधर्मीहरुको भतेरमा टोस्ट गर्दा, परम्परागत जात्राका लागि राज्यले गर्दै आएको भरथेग काटेर ‘ घन्टाको जात्रा’ भन्दा उत्पातको माक्र्सवाद हुने, केही लम्पटहरुले हिन्दू धर्म नै सबै समस्याको जड हो भन्दा हो मा हो मिलाउँदै तीन हात उफ्रनेहरुलाई ओली पशुपति जाँदा उत्पात भयो ।
ती सबलाई ओली पशुपति जानु दक्षिणपन्थ भयो, ओलीले पूजा गर्नु प्रतिक्रान्ति भयो, ओलीले टीका लाउनु धर्मनिरपेक्षताविरुद्ध भयो ।
ओली मन्दिर गए, पूजा गरे, टीका लाए । यो के अचम्म भो ? बौद्धमार्गी गुम्बा जानु अचम्म हो ? इसाई चर्च जानु अचम्म हो ? इस्लाम मस्जिद जानु अचम्म हो ? शिखहरु गुरुद्वार जानु अचम्म हो ? भर्खरै मात्र ओलीको पार्टीमा छिरेका कमानसिंह लामाहरु प्रहरीले अपराधी भनेर खोजिरहेको रामबहादुर बम्जनको गुप्त शिविरमा जानु अपराध हो ? माक्र्सको भनाईमा मान्छे यो वा त्यो रुपमा धर्मको अधीनमा बाँधिएको हुन्छ भन्ने मान्यता मान्ने हो भने यहाँ को कहाँ जान्छन् के ठूलो मुद्दा भयो र ? पशुपतिमा न ओलीले नमाज पढेर आएका हुने न त्यहाँ उनको कृष्णबहादुर महरा सरको जस्तो बप्तिष्मा भएको हो ।
राष्ट्रपतिले कुमारी दर्शन गरेर निरपेक्षता खत्तम हुन्छ ?, प्रधानमन्त्रीले मन्दिरमा जल चढाउँदा संविधानको प्रस्तावना पखालियो ? पखालिएन । र, पखालिंदैन । जब सामान्य कुरालाई असामान्य, अतिरञ्जना गरेर तुष्टी लिइन्छ त्यो झन् डरलाग्दो अतिवाद हो र हुन्छ । यो अतिरञ्जना प्रचण्ड माधव नेपालका साइबर स्यालहरुले चलाए पनि त्यही हो, हिन्दू धर्मको विरोध गर्नकै लागि सुसज्जित गरिएका निरपेक्षतावादी सिपाहीहरुले गरे पनि त्यही हो । आवरण जे भए पनि ती दुबै अतिवादकै अलगअलग रुप हुन् ।
फेरि दोहोर्याउँ,
माक्सले धर्मलाई अफिम किन भने ?
किनभने, हिजोदेखि आजसम्म मान्छेले धर्मलाई अफिम वा ’पेनलिर’को रुपमा अपनाए। अफिम भनेको दुःख पीडा, वेदना लुकाउने र भुल्ने क्षणिक नशाको रुपमा मान्छेले लिइरहेको र त्यसले सङ्घर्ष बललाई कमजोर बनाइरहेको उनको तर्क थियो । अफिम हिन्दू धर्म मात्र होइन इसाई, इस्लाम, बौद्ध, जैन, ताओ सबै हो । जब मान्छे सङ्घर्षको चरण छाडेर धर्मको शरण वा बाटो लिन्छ त्यो बेलाको स्थितिलाई अफिम वा ‘पेनकिलर’को रुपमा ब्याख्या भयो ।
यहाँ त धर्मको विरोध पनि अफिम बनेर मौलायो । हामीकहाँ त ठेक्का लिएर, दिएर नै धर्मको, सँस्कृतिको विरोधमा लाग्न खटिने अनुहारहरु देखिए ।
हो, यो अफिम अर्को अतिवादको नयाँ रुप हो । किनकि, यिनीहरु बाँकि सबै तपसिलमा राखेर अफिमको नशामा बिन्दास छन् । निरपेक्ष हुनुको अर्थ हिन्दू मात्र खत्तम धर्म हो, हिन्दू दर्शन नै सबै बिसंगतिको जड हो र समाजलाई मन्दिरमुक्त र हिन्दूमुक्त बनाएर मात्र असली साम्यवाद आउँछ भन्ने ‘युटोपियन कपटी’हरु अर्को अतिवादका मतियार हुन् । नेपाली समाजले वा हाम्रो समाजले यस्ता धार्मिक धमिराहरुलाई पहिचान गर्न सक्दा मात्र वामपन्थ र समाज दुबै गतिशिल हुसक्दछन् । समाजले निरपेक्ष वामपन्थ र भिजिलान्ते चरित्रको निरपेक्ष सिपाही चिन्न चाँहि सक्नु पर्दछ ।