आर एल श्रमजिवी
बेल्जियम
आफ्नो जीवन स्वयंले समाप्त गर्नुलाई आत्महत्या भनिन्छ । छापाहरुमा प्रत्येक दिन पढिने, रेडियो टेलिभिजनमा सुनिने र देखिने आत्महत्याका समाचार सुन्दा यसो घोत्लन्छु, जंगली युगमा मान्छेले पक्कै पनि आत्महत्या गर्दैनन् थिए होला । जब मान्छेहरु चेतनाले चल्न थाले उनीहरुमा तनावका बीच आवेग उत्पन्न भयो अनि क्षणिक पागलपनमा आफैलाई समाप्त पारे होलान् । यो देख्ने र सुन्नेले त्यसैको सिको गरे होला । संसारमा को मान्छेले पहिला आत्महत्या कसरी गर्यो होला ? यदि मान्छेले आत्महत्या नगरेको भए अहिलेसम्मका आत्महत्याका घटनाहरु नै हुने थिएनन् कि ?
तपाईंलाई थाहा छ मान्छे बाहेक कुनै प्राणीले पनि आत्महत्या गर्छ र ? अनि सजातीय प्राणीले आफ्नालाई हत्या पनि गर्दैनन् । बरु मान्छेले पो आफु जस्तै मान्छेको हत्या गर्छ । हामी मान्छे अरु प्राणी भन्दा पनि कति नीच छौँ हगि ! आत्महत्यालाई विभिन्न विधाबाट विभिन्न दृष्टिकोणले हेरिन्छ । सामाजिक, धार्मिक, कानुनी र स्वास्थ्यसम्बन्धी दृष्टिकोणहरु आत्महत्यालाई अलगअलग ढङ्गले व्याख्या गर्छन् । विभिन्न धर्महरु आत्महत्यालाई पापको पनि संज्ञा दिन्छन् । समाजशास्त्रीहरुले पनि आत्महत्याको बारेमा अध्ययन गरेका छन् । विगत शताब्दीमा समाजशास्त्री दुर्खाइमले आत्महत्याको सामाजिक सिद्धान्तको प्रतिपादन गरे । उनका अनुसार मानिसहरु विभिन्न कारणले आत्महत्या गर्दछन् । उनले आफू आफ्नो सामाजिक समूहसँग संलग्नता नभएको अनुभव गर्ने मानिसहरुमा आत्महत्या सम्भावना बढी हुने देखे । समाजमा एउटा निश्चित सामूहिक नियम नभएको अवस्थामा (संक्रमणकालमा गुज्रिरहेको समाजमा) पनि आत्महत्या बढी हुने तथ्यांकहरु बोल्छन् । यो कुरा हाम्रो नेपालमा द्वन्दकालमा हामीले धेरै देख्यौं ।
हो यो जीवनको अन्त्य हुने नै छ भने किन चाँडो आफैले आफैलाई मार्नु ? नमर्ने भए पो मर्ने बारेमा सोच्नु ? जस्तै अवस्थामा पनि आत्महत्या गर्नहुन्न । जीवनलाई अन्तिमपल्टसम्म जिउनु पर्छ । जसले तपाईलाई घृणा गर्छन् तिनीहरुलाई मतलब नगरी अगाडी बढ्नुपर्छ, मेरो जसरी । सबैले थाहा पाउनु पर्ने कुरा के हो भने मान्छेका जति ठूलो समस्या, जति नराम्रो अवस्था भएपनि र जति एक्लै भए पनि हामीले कहिल्यै पनि आफ्नो विश्वासलाई मार्न हुँदैन । यो जीवन बाँच्न र बचाउनका लागि हो । नेपालीमा उक्ति छ ‘मर्नु भन्दा बौलाउन निको’ चेतनाहीन मान्छे पागल हुनु बरु चेतनाहिन भए पनि मान्छे बाँच्नु पर्छ भन्ने नेपाली उक्तिको सन्देश हो ।
देखेको पढेको र सुनेका आधारमा केहि कुरा यहाँ राख्न मन लाग्यो । सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकमा पहिलो नम्बरमा जापान आउने रहेछ । हुन त् विश्वभरि नै आत्महत्या गरेर मर्नेको तथ्यांक लेख्न गाह्रो छ । सम्पन्न मुलुक अमेरिका र युरोपमा पनि मान्छेहरु आत्महत्या गर्छन् । अमेरिका तथा युरोपमा गरिएको अध्ययनले आत्महत्या गर्नेको संख्या बढ्नुमा आर्थिक मन्दीले बढी भूमिका निभाएको उल्लेख छ । ती आत्महत्याहरु २०११ सम्म धेरै भए पछि अनुसन्धानकर्ताले के कारणले मान्छे यसरी मरे भनेर अध्ययन गरेका रहेछन् । सन् २००८ मा अमेरिकाको घरजग्गा कारोबारबाट सुरु भएको आर्थिक मन्दीबाट परेको विश्वव्यापी असरको युरोप अमेरिका र ल्याटिन अमेरिकाको ५४ देशमा अध्ययन गरिएको थियो । अध्ययन अनुसार युरोपमा १५ देखि २४ वर्ष उमेर समूहमा तथा अमेरिकामा ४५ देखि ६४ वर्ष उमेर समूहमा आत्महत्या दर बढेको पाइएको थियो । आर्थिक मन्दीका कारण मनोवैज्ञानिक रुपमा परेको दवाव र आत्महत्याबीच सम्बन्ध रहेको अनुसन्धानकर्ताले दावी गरेका थिए । त्यस बेलाको अध्ययन अनुसार संकटको प्रभाव युरोपका २७ देशमा (सेन्जेन कन्ट्रीमा) बढी देखिएको छ । यसपछिको क्रममा क्यारेबियन र ल्याटिन अमेरिकी देशहरु छन् । आत्महत्यालाई आधार मान्ने हो भने महिलाहरुमा वित्तीय संकटको प्रभाव पुरुषको तुलनामा कम देखिएको थियो । कारण युरोपमा त्यतिबेला तल्ला तहका महिला परिवारको सहमतिमै वेश्या बनेका थिए बनेर मेरा मित्र मुन्देलले बताए । यसअघिका वित्तीय संकटहरुमा ब्राजिल युक्रेनबाट आएका आप्रवासीले आत्महत्या गरेको अनुसन्धानकर्ताको भनाइ छ । जापान, हङकङ र कोरियामा १९९७ देखि १९९८ को वित्तीय संकटका बेला १० हजार मान्छेले आत्महत्या गरेका थिए ।
कसरी गर्छ आत्महत्या ?
नेपालमा आफैले आफ्नो घाँटीमा पासो लगाएर झुन्डिने, बिष सेवन गर्ने र पानीमा डुबेर मर्ने जस्तो युरोप र अमेरिकामा हुने रहेनछ । अमेरिका, युरोप र ल्याटिन अमेरिकी देशमा आफैले शरीरलाइ काट्ने जस्तै गुड्दा गुड्दैको रेल वा मेट्रोमा हामफाल्ने, मेसिनमा बेरिने, ठूला भवनबाट हामफाल्ने, आफ्नो गाडीलाई अीसमित गतिमा गुडाएर ठुला कन्टेनर गाडीमा ठोक्काउने गर्दा रहेछन् । नेपालमा आत्महत्यालाई हत्या र अन्य अपराधहरुकै श्रेणीमा राखिएको छ । पश्चिमी मुलुकहरुमा भने आत्महत्यालाई राष्ट्रिय स्वास्थ्य अभिलेख अन्तर्गत उल्लेख गरिनुबाट हाम्रो र पश्चिमी समुदायहरुको आत्महत्याप्रतिको दृष्टिकोण नै फरक रहेको कुरा स्पष्ट हुन्छ । नेपालमा अझै पनि स्वास्थ्य मन्त्रालयले आत्महत्याको आँकडा नराख्नुले नेपालको स्वास्थ्यको नीति निर्माताहरुमा यस गम्भीर विषयको अज्ञानता या उदासिनता रहेको बुझिन्छ ।
नेपालीहरुले गरेका आत्महत्या
नेपालबाट युरोप छिरेका नेपालीहरुको कुनै न कुनै कथा हुन्छ । यहाँ धन कमाउन नसकेपछि अनेक ब्यथा निस्कन थाल्छन् । परिवारबाट विक्षिप्त भएर टाढा बस्दाका अनेकौ पीडा दुःख त हुन्छ नै खान र बस्नको समस्या पनि परेपछि धेरैमा डिप्रेसनको समस्या देखा परेका छन् । यी र यस्तै – यस्तै समस्याले पिरोलिए पनि उनीहरुले देखेको सपना युरोपमा आइपुग्दा भताभुङ्ग भएपछि युरोप आउँदा ब्याजमा लिइएको साहुको ऋण भुक्तान गर्न नसकेर आत्महत्या गरेको मैले थाहा पाएको छु । युरोपको पुर्चुगलामा मैले देखेको पहिलो आत्महत्या २०१३ को डिसेम्बर २० मा बाग्लुङ्ग घर भएका राजेन्द्र आचार्यले यहाको स्थानीय पार्कको रुखमा झुण्डिएर आत्महत्या गरे । मैले त्यतिबेला आफ्नो एग्रोभेट पसलबाट द्रसवान बिषादी खाएर भैसेपाटीमा २० बर्षअघि आत्महत्या गर्ने जोरकाली हाम्रा गाउँठाउँका रामबहादुर थापा, साहित्यकार भैरव अर्याल लगायत पत्रकारितामा लाग्दा आफुले लेखिएका आत्महत्याका समाचार हुन् वा कुनै पनि मान्छेले आत्महत्या गरेपछि प्रहरीले ल्याएका थुप्रै सुसाइड नोटको सम्झना आयो । सात बर्ष अघि आत्महत्या गरेकी हाम्रो रेडियोकि प्रस्तोता विद्या विष्टलाइ सम्झी रहेको छु उनि सामान्य परिवारकी छोरी थिई । उनका बाबु मरेको केहि वर्ष भएको थियो । दाजु पनि मरेका थिए । हजुरबा पनि मरेपछि साह्रै दुख पाए भनेकी थिई । प्राइम कलेजमा पढ्न रेडियोले व्यवस्था मिलाइदिएको थियो । आर्थिक संकट टार्न सेनामा जागिर खान जान्छु भनेर रेडियो छोडेकी थिई । अरुलाई निराशा हुन नदिने सुखमा मनोरञ्जन प्रदान गर्ने र दुःखमा सान्त्वना दिने रेडियोकर्मी विष्टले आफ्नो प्रेमीले आत्महत्या गरेको केही दिनमा नै बिष पिइछिन् । सायद उनी एक्लोपन र दिक्दारीले मानसिक रुपमा आवेगमा आएर बिष खाइन् होला । त्यस्ती रेडियोकर्मीले कसरी आत्महत्या गरी होली भनेर म स्तब्ध भएको थिएँ । यो घटनाको खबरले उनको परिवारको त्यो कहालीलाग्दो बज्रपात कसरी सहिन होला उनकी आमाले भनेर मलाई साह्रै दुखी बनायो । सुरु सुरुमा रेडियोमा बोल्न नआउँदा केबी रानामगर र मैले यसरी बोल्नु पर्छ भनेर सिकाउँथ्यौं । ती दिन पनि सम्झन पुगेँ । पछि उनी भित्रदेखि रेडियोमा नबोले पनि केहि स्रोताले सुरिलो स्वर किन्नरी भनेर भन्दा ऊ मख्ख पर्थी । रेडियो एबिसीको बिहान ८ देखि ९ बजेसम्म प्रसारण हुने ‘सुनौलो बिहानी’ कार्यक्रमकी ऊ पहिलो प्रस्तोता थिई । आत्महत्या गर्नेप्रति मेरो संवेदना जाग्दैन थियो तर उनी त मारिन् मारिन् ती आमा आज सम्म कसरी बचेकी होलिन् भनेर सोच्ने गर्छु । उनी मायामा यति पागल भइछिन् कि आफैलाई पो समाप्त पारिछिन् । हो पागल मान्छेहरुले मात्र आत्महत्या गर्छन निडर र संघर्षशिल मान्छेले जीवन बुझ्छ आफ्नो जीवनलाई आफैले कहिले पनि समाप्त पार्दैनन ।