नीतिकथा प्रस्तोता : सुपेन्द्र बस्नेत, बोष्टन
समाजमा सयौं वर्ष अघिदेखि सुनाउदै र सुन्दै आइरहेका कयौं यस्ता किम्बदन्तिहरु छन् , जो आज पनि व्यक्ति, परिवार, समाज, देश र संसारमा सकारात्मक सुधारका लागि आवश्यक ज्ञान, शिक्षा र सीप प्रदान गर्ने ब्रम्हास्त्रको रुपमा सावित छन् । बस बुझ्न र लागू गर्न सक्नु पर्यो । बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको बिड साबित तिनै ब्रम्हास्त्ररुपि किम्बदन्ति मध्यको एक समय सान्दर्भिक कथा;
एउटा गरिब देशमा एक धनी राजा थिए । जो देश र प्रजाको उन्नति र प्रगतिमा भन्दा पनि आफू विलासी जीवन बिताउनमा निकै भोका थिए । उनको लालसा, विलासी महत्वाकांक्षा, स्वार्थ, अहंकार र दम्भ दिनप्रतिदीन बढ्दो थियो भने, जनता र देशप्रति राजधर्मको मोह र भूमिका घट्दो थियो । एक दिन एउटा जोगी सोही राजाको दरबारमा पुगेर द्वारपाललाई भेटी राजालाई भेट्ने ईच्छा जाहेर गरे । तर, द्वारपालले राजालाई दर्शनभेट दिन असम्भव रहेको जनाए । जोगीले आफू राजाकै भलो हुने अत्यन्त महत्वपूर्ण कामका लागि आएको भनेपछि द्वारपालले उक्त खबर राजालाई जाहेर गरे । राजाले जोगीलाई दर्शनभेट दिदै आफुलाई भेट्नुको कारण सबिस्तार जाहेर गर्न आदेश दिए । उसले राजाको आदेश अनुसार आफूले छ महिना भित्र अत्यन्त दुर्लभ बहुमूल्य देवस्त्र (भगवानले लगाउने लुगा) उपलब्ध गराउन सक्ने, तर त्यसका लागि धेरै धन दौलत खर्च गर्नु पर्ने कुरा राजालाई जाहेर गरे । विलासी जीवन बिताएका राजाले पृथ्वीमा देवताको वस्त्र लगाउने आफू पहिलो मानव बन्ने, विश्वमा चर्चित हुने र संसारकै शक्तिशाली राजा बन्ने लालसाले उक्त प्रस्ताव तत्काल स्विकार गरे । र, देशको ढुकुटी नै रित्याएर भए पनि कुनै पनि हालतमा छिटो भन्दा छिटो देवस्त्र उपलब्ध गराउन हुकुम दिए। राजाको हुकुम अनुसार आसेपासेहरुले सिघ्रातिसिघ्र जोगीलाई पहिलो किस्ता स्वरुप रकम उपलब्ध गराउदै संझौता मुताबिक कार्य अगाडि बढाउन निर्देशन दिए । जोगी पनि समय सिमाभित्र काम फत्ते हुने विश्वास दिलाउदै पहिलो किस्तावापत प्राप्त रकम लिएर आफ्नो बाटो लागे। जोगी बीचबीचमा दरबार पुगेर राजालाई आफ्नो जिम्मेवारीको कार्यप्रगति जाहेर गर्ने र किस्ता किस्तामा कबोल रकम उठाउने गर्थे। समय बित्दै गयो । जोगीले दिएको समय सिमा जति जति नजिकिदै गर्थ्यो । त्यति त्यति राजालाई देवस्र लगाउने भोक अत्याधिक जाग्ने गर्थ्यो।दरबारलाई जोगीले देवस्त्र समयसिमा भित्रै आइपुग्ने विश्वास दिलाएका कारण देवस्त्र देख्न पाउने सपनाले दरबारमा कौतुहलता र उत्साह जगाई रहेको थियो । नभन्दै संझौता अनुसार समय सिमाको अन्तिम दिन बाजागाजा सहित ठुलो बाकस लिएर जोगी दरबारमा हाजिर भए। यसले दरबारमा खुसीको सिमा रहेन । जोगीले राजालाई वस्त्र हस्तान्तरण गर्नु भन्दा अगाडि “जो ब्यक्तिलाई आफ्नो पिताप्रति शंका छैन, उसैले मात्र देवस्त्र देख्न सक्ने, तर, शंका हुनेले देख्न नसक्ने” वस्त्रको विशेषता रहेको बताए । जोगीले बाकस खोलेर एकपछि अर्को वस्त्र निकालेर दिदै राजालाई आफ्नो वस्त्र फुकाली धारण गर्न (लगाउन) भने । यसो भन्दा राजा अचम्मित भए । किनकी उनले जोगीले लगाउन दिएको कुनै पनि वस्त्रको आकार, प्रकार, रंग, डिजाइन आदि केही देखिरहेका थिएनन् । केवल जोगीले गरेको खाली हातको इसारा मात्र देखिरहेका थिए । सोही अवस्था देवस्त्र धारण कार्यक्रममा सहभागी हुनेहरुको पनि थियो । तर, तैचुप मैचुप रहे ।प्रतिवाद गर्न सकेनन् । यता आफूले कुनै वस्त्र नदेखेको सत्य बोले आफूमा आफ्नो पिताप्रति शंका भएको प्रमाणित हुने र आफ्नो राजपरिवार र दरबारको बेइज्जत हुने डरले जोगीले जसो जसो भन्दै गए, राजाले पनि यथार्थ देखे झै गरी उसै उसै गर्दै गए । राजाले आफ्नो शरीरको सारा वस्त्रहरु खोलेर निर्वस्त्र हुदै प्रसन्न मुद्रामा जोगीको आदेश अनुसार उसले दिदै गरेको वस्त्र (अदृश्य वस्त्र) एक पछि अर्को गरी लगाई रहेको इसारा देखेर वरपर रहेका राजपरिवार, आसेपासे, सुरक्षाकर्मी कसैले देवस्त्र नदेखे पनि दरबार र राजाको अपमान हुने र आफ्नै पिताप्रति पनि बिश्वास नभएको प्रमाणित हुने डरले तैचुप मैचुप वाह वाही गर्दै ताली र झ्याली पिटिरहे।कुनै पनि देवस्त्र नदेखिएको भएतापनि सत्य बोल्ने हिम्मत कसैले गरेनन्। बरु उल्टै एकै स्वरमा आहा कति राम्रो / महाराजलाई कत्ति सुहाएको भन्दै वस्त्र र राजाको प्रसंसा गर्दै जय जयकार गरिरहे। राजालाई आफू निर्वस्त्र भएको वस्तुस्थितिको यथार्थ जानकारी त थियो ।तर, जोगीले भनेझै देवस्त्रको विशेषता र अरुका जय जयकारले विश्वासका साथ स्विकार गर्न बाध्य पारिरहेको थियो । जसले गर्दा राजा जोगीको आदेश अनुसार वस्त्र लगाएको झैं क्रियाकलाप गर्न बाध्य थिए । भगवानको वस्त्र धारण गरेपछि राजा (जोगीका अनुसार पृथ्वीलोकमा भगवानको वस्त्र धारण गर्ने पहिलो मानव) ले देवस्त्रधारी स्वरुप प्रजालाई देखाउदा उक्त दृश्यले संसारमै झ्याली पिट्ने , राजा र राजसंस्थाप्रति जनताको आसा, विश्वास , भरोसा र गौरव अझ उच्चाईमा पुग्ने भनि जोगीले राजालई सल्लाह दिए । सोही सल्लाह मुताबिक भगवानको वस्त्र धारणको अवस्थामा जनतालाई दर्शनभेट दिन बाजा गाजासहित राजा दरबार बाहिरिए । उक्त खबरले देवस्त्र धारण गरेका आफ्ना महान राजालाई हेर्न जनतामा पनि निकै कौतुहलता र उत्साह जागिरहेको थियो । र, आफूलाई निकै भाग्यमानी प्रजा ठानी भगवानवस्त्रधारी आफ्ना राजालाई प्रत्यक्ष देख्न ब्यग्र प्रतिक्षाका साथ सडकको पेटीमा स्वागतका लागि लाम्बद्ध भएका थिए । प्रजालाई पनि उक्त भगवानवस्त्रको विशेषता अनुसार – “आफ्नो पिताप्रति संका नहुनेले मात्र वस्त्र देख्न सक्ने तर संका हुनेले देख्न नसक्ने” कुरा जानकारी गराईएको थियो । बाजागाजासहित राजाको सवारी जसै जसै अगाडि बढ्यो, उसै उसै सबैले देवस्त्रको वाहवाही र राजाको जय जयकारका गर्दै गए । यस्तो अवस्थामा राजा भने उक्त वस्त्र सबैले देख्न सकेको, तर आफ्नो पिता सक्कली नभएकाले आफुले मात्र वस्त्र देख्न नसकेको अपसोचमा डुब्दै भित्रभित्रै रिसले मुर्मुरिएर मातालाई घृणा गर्दै थिए । राजाको सवारी अगाडि बढ्दै गर्दा जय जयकारको हल्ला सुनेर एक युवा पनि उक्त भिडतिर हानिदै आए । उनी राजालाई जय जयकार गर्दै निर्वस्त्र सहर घुमाई रहेको देखेर आश्चर्य चकित परे । किन यसो गरिएको हो भनेर सोधीखोजी गर्दा उनले सबै नालीबेली थाहा पाए । पिता सक्कली भएकाले मात्र उक्त देवस्त्र देख्न सक्छ । तर , नक्कली पिता हुनेले देख्न सक्दैन भन्ने खबर ती युवकले पहिला थाहा पाएका थिएनन् । त्यसैले उनले राजालाई निर्वस्त्र नै देखे । जे देखे , सोही भने पनि । जो यथार्थ थियो र सत्य पनि । तर राजाको घोर अपमान गरेको भन्दै सबैले ढुंगामुडा गरेर ठाँउको ठाँउ उनको ज्यान लिए । राजाका आसेपासे , नारदे, चुले , हुक्के, चिलिमे , खेताले, भेडे, ढोकेहरुले भने सत्य बोल्ने हिम्मत गरेनन् । उल्टै राजालाई खुसी तुल्याई नजिकिएर निजी स्वार्थ पुरा गर्न र आफ्नो पिताप्रति शंका गरिएला कि भन्ने डरले लहैलहैमा लागिरहे। सत्य ढाकछोप गरेर जोगीले भने झै भगवानको कुनै वस्त्र नदेखे पनि देखेको अभिनय गरिरहे । त्यसमा प्रजाहरुले पनि लोलीमा लोली मिलाउदै राजा निर्वस्त्र भएको देख्दा देख्दै पनि उल्टै वाहवाही र जय जयकार गरेर प्रसंसा गरिरहे। जसको परिणाम जोगीले राजालाई नाङ्गेझार पारी सहर घुमाएर बेइज्जत गर्न सफल भए । यसरी जोगीले राजधर्म निभाएर देश र प्रजाको हितार्थ कर्म नगर्ने राजाको विलासी , दम्भी लालसी मनोदशा बुझी षड्यन्त्रपूर्ण तरिकाले छलकपट गरेर भगवानवस्त्र धारणका नाममा उनलाई निर्वस्त्र बनाए । र, देश दौडाहमा निकालेर प्रजासामु बेइज्जत गरे । जब जब मानिसको लालसा , महत्वाकांक्षा, स्वार्थ , अहंकारले सिमा नाघ्छ, तब तब उसको हविगत यही कथाको राजाको जस्तो हुन्छ ।