नागपन्चमी : किन पुजिन्छ नाग ?

काठमाडौं । सोमबार, श्रावण शुक्ल पञ्चमी । हरेक वर्ष यही तिथि पारेर नेपालमा नागपञ्चमी पर्व मनाइन्छ ।

यस दिन नागका विभिन्न आकृति सहितका तस्वीरलाई विशेष पूर्जाअर्चना गरी घरको मूलढोकामा टास्ने प्रचलन रहेको छ ।

अझ गाईको गोबरले नाग टास्दा राम्रो हुन्छ भन्ने मान्यता समेत रहेको छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीजस्ता विजजन्तुले मानिसलाई दुख दिदैनन् भन्ने मान्यता राखिन्छ ।

विभिन्न किंवदन्तीअनुसार अग्नि, मेघ र चट्याङजस्ता प्रकोपको भयबाट पनि बच्ने उपायस्वरुप नागको पूजा अर्चना शुरु भएको हो ।

नेपालमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपयुक्त तिथि तय गरी चाडबाडको दिन तोक्ने गर्छ । यसमा वैज्ञानिक आधार हुने समितिको भनाई छ ।

नाग सर्पका राजा हुन् । उनी रिसाए भने धर्मीमा पिउने पानीको समेत अभाव हुने र मानव जातीमा हाहाकार मच्चिने भनाई छ ।

सोहीकारण नागराजालाई खुसी पार्नकै लागि पनि यस दिनको महत्व रहेको जानकारहरु बताउँछन् । हरेक घरको जगमा बस्ने नागलाई खुसी पार्दा उनले पनि मानिसको रक्षा गर्छन् भन्ने मान्यता पुराणहरुले लेखेका छन् ।

नागलाई विष्णु र शिव भगवानको स्वरुप समेत मानिन्छ । नागमाथि भगवान विण्णु शयन गर्ने र भगवान शिवको गहनाका रुपमा पनि नागको आफ्नै विशेषता रहेको छ ।

भगवान् गणेश पनि एक हातमा नाग समाउनु हुन्छ । त्यसकारण हरेक भगवानसँग कुनै न कुनै रुपमा नागराजाको सम्बन्ध रहेको देख्न सकिन्छ ।

नागपञ्चमीको दिन पुरोहितले घर घर पुगी नाग टास्ने प्रचलन अहिले पनि नेपालभर जीवित देख्न सकिन्छ ।