सरस्वती न्यौपाने, रसुवा
बागमती प्रदेशको उत्तरी भागमा पर्ने रसुवा जिल्ला चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको बिकट हिमाली जिल्ला हो । स्थानीय भाषामा ‘र’ को अर्थ भेडाच्याङग्रा र ‘सोवा’ को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने मान्यतामा राखिएको ‘रसोवा’ नाम अपभ्रंस भएर रसुवा भन्न थालिएको भन्ने भनाई छ ।
भौगोलिक, प्राकृतिक, सांस्कृतिक, जातीय,जैविक लगायतका विविधता रहेको यस जिल्लाको क्षेत्रफल १५१२ वर्ग किमि रहेको छ । करिव २० वटा जलविद्युत आयोजना कम्पनीहरू संचालन तथा निर्माणाधिन रहेको यो जिल्ला हाईड्रो हवको रूपमा समेत परिचित छ ।
पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा नुवाकोट जिल्लासंग जोडिएको यस जिल्लाको सबैभन्दा होचो स्थान बेत्रावति (६१४ मि) र अग्लो स्थान लाङटाङ हिमाल (७,२३४ मि) रहेको छ । यसको सदरमुकाम धुन्चे (१९५० मि) उचाईमा अवस्थित छ।जिल्लाको आन्तरिक राजनैतिक विभाजनको रुपमा आमाछोदिङमो, उत्तरगया, कालिका, गोसाइकुण्ड र नौकुण्ड गरी ५ गाउँपालिकाहरू रहेका छन।
रसुवा जिल्ला धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले धनि जिल्ला हो ।
१. गोसाईकुण्ड
समुन्द्री सतहवाट ४ हजार ३ सय ८० मिटरमा अवस्थित रामसार सुचिमा सुचिकृत गोसाईकुण्ड हिन्दु र बौद्व, वोन्पो धर्मावलम्बीहरूको साझा धार्मिक आस्थाको केन्द्र हो । यस क्षेत्रमा साना ठुला गरी १ सय ८ कुण्डहरू रहेका छन् ।

२. रसुवागढी
बि. सं. १९१२ सालमा निर्मित रसुवागढी नेपाल-चीन सिमानामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको गढी हो ।

३.गत्लाङ गाउँ
समुन्द्री सतहदेखि २३०० मिटरको उचाईमा अवस्थित गत्लाङ गाउँ एक सुन्दर पर्यटकीय स्थल हो । परम्परागत रूपमा काठले मात्र छाईने घरका छानाहरू कालो देखिने भएकाले यो गाउँ ब्ल्याक गाउँले पनि चिनिन्छ ।
विशुद्ध तामाङ जातिको बसोबास रहेको यस गाउँमा करिव ५०० घरधुरी रहेका छन । भुकम्प पछिको पुनर्निर्माणले यस गाउँको ऐतिहासिक पहिचान संकटमा परेको छ ।

४. क्यान्जिन उपत्यका
लाङटाङ हिमालको काखमा रहेको समुन्द्र सतहवाट ३,८५० मिटर उचाईमा अवस्थित क्यान्जिन उपत्यका हिमाली दृष्यावलोकनका लागि एक रमणीय स्थल हो ।

५. उत्तरगया-धाम
पवित्र उत्तरगयाधाम काठमाडौंबाट उत्तरतर्फ करिब ८० किलोमिटरको दुरिमा नुवाकोट र रसुवा जिल्लाको सिमाक्षेत्र वेत्रावतिमा अवस्थित बेत्रगंगा र त्रिशूली गंगाको संगम स्थल हो । नेपाल र तिब्बतबीच विं. स.१८४९ असोज १७ गते बेत्रावति सन्धि भएकोले यस स्थानको ऐतिहासिक महत्त्व समेत रहेको छ ।

६ .पार्वती कुण्ड
रसुवाको सदरमुकाम धुन्चेदेखि उत्तर करिव ३५ किमिको दुरिमा आमा छोदिङमो गाउँपालिका ३ मा अवस्थित समुन्द्र सतहबाट करिव २५०० मिटरको उचाईमा रहेको एक महत्त्वपूर्ण धार्मिक स्थल हो । गोसाईकुण्ड पुगेका शिवको खोजी गर्ने क्रममा पार्वतीले यस कुण्डमा स्नान गरेको तथा यस कुण्डमा स्नान गर्दा वर तथा सन्तान प्राप्त हुने जनविश्वास रही आएको छ ।

७. अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू
चिलिमे, तातोपानी, सान्जेन भ्याली, गोल्जुङ, तामाङ सम्पदा पद मार्ग, भाङगे खोलाको झरना, भुमेस्थान थान, घलेगढी, कालिका माई मन्दिर, लोकिल- सानो आहली, ठुलो आहली जुरेढुङगा गोसाईकुण्ड पदमार्ग, नीलकण्ठ महादेव मन्दिर, नागथली, रेडपाण्डा पार्क, मिनी गोसाईकुण्ड, शंङखपार्क, लार्च्याङटार, जुरे ढुङ्गा, बिजुली ढुङ्गा, नौकुण्ड, सातधारे हिमाल, दुधकुण्ड लगायतका थुप्रै रहेका छन् ।