प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’
कीर्तिपुरको चिलम्हो विहारमा एक जोडी आए । महिला मिसालं र हाकुपटासीमा गुटमुटिइन भने पुरुष तपालं र सुरुवालमा । केटोले बाँसुरी फुके भने केटीचाँहि राधिका बनेर फुर्किइन । कीर्तिपुरको माटोको त्यो एक टुक्रा, एकक्षणको लागि बृन्दावन भयो । त्यो रमाइलोलाई क्यामरामा कैद गरी सामाजिक सञ्जालमा हालेर छुट्टै मजा लिइरहेका छन् यहाँका युवाहरु । वडा नं १० को सहयोगमा ‘सृजनशील महिला समूहले’ व्यवस्थित गरेको हाकुपटासी, तपालं, मिसालँ र सुरुवाल लगाउन आज कैयन मानिसहरु ओइरिएका छन् । नेवार पोशाकको महत्व, पोशाकमै गुटुमुटिँदा मात्र बोध हुन्छ । कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती रिजाल ‘खडका’ पनि हाकुपटासीमा गुटमुटिन् र प्रतिक्रिया दिइन–हाकुपटासी लगाउनुको आनन्दै बेग्लै !
सुनेको छु,
नारायण गोपालको एक गीत छ
‘तान चलाउनु चर्खा काटनु’
सबैलाई स्वाभिमान सिकाउने यो गीत श्यामदास बैष्णवले कीर्तिपुर आउँदा, कीर्तिपुरको श्रमजिवी तस्वीर हेरी लेखेको थियो रे ! उहिलेको कीर्तिपुर र तान पर्याय जस्तो थियो । हाकुपटासी तानमै बुनिन्थ्यो । कीर्तिपुरबाट कैयन कपडा बाहिर जान्थ्यो । देशका कैयन महिलाहरु कीर्तिपुरले बुनेका पोशाक लगाउँथे । कीर्तिपुर पोशाकको लागि निकै लोकप्रिय थियो । कीर्तिपुरको कपडाको आफ्नै पहिचान थियो ।
हाकुपटासी कीर्तिपुरको सान हो । केही दशकअघिसम्म कीर्तिपुरमा महिलाहरु चाडपर्वमा हाकुपटासीमै सजिएर पुजापाठमा हिँडेको देखिन्थ्यो । कीर्तिपुरकी रानी कीर्तिलक्ष्मीको लागि पनि हाकुपटासी विशेष मनप्रिय पोशाक थियो । हाकुपटासीमा कालो रंगमा रातो रंगको घेरा लगाएको हुन्छ । यो रंग संयोजनको आफ्नै संदेश छ । जो कोही महिला पनि हाकुपटासीमा सजिँदा बिछट्टै सुन्दर देखिन्छिन् । यो यस पोशाकको विशेषता हो । नेवार महिलाको यो परम्परागत पोशाकले कुर्कुच्चा भने छोपिँदैन । महिलाले कुर्कुृृच्चा छोप्नैपर्छ भन्ने उहिलेको कट्टर समयमा नेवार महिलाहरुको कुर्कुच्चा भने खुला हुन्थ्यो । यसले नेवार शम्यता त्यो बेला नै कति आधुनिक र महिलाप्रति उदारवादी थियो भने देखाउँछ । विवाहको समयमा पनि ससुरोले छोरोलाई दुलही हेर्न जाँदा, लाज मानेर पुरै मुख पछयौरीले छोपी आउने बुहारीको कुर्कच्चा हेरी ‘ल तेरी श्रीमती गोरी छे, कुर्कुच्चा गोरो छ’ भनेर घरमा छोरोलाई सुनाउने गथ्र्यो रे ! हाकुपटासीमा देखिने महिलाको कुर्कुच्चा धेरै कुराहरुको विम्व हो, नेवार महिलाको ।
नेपालको प्रायजसो शहरको आआफ्नो पहिचान छ । भोजपुर खुकुरीको लागि प्रचलित भए जस्तो, एकताका कीर्तिपुर कपडाको शहरको रुपमा चिनिन्थ्यो । विस्तारै त्यो पहिचानमा खिया लाग्दै गयो । साँझपख संगीतमय आवाजमा सुनिने तानको ‘ताकतुक’ आवाज पनि सुन्य भयो । कपडाकै शहरको रुपले चिनिएको कीर्तिपुरले हाकुपटासीसम्म भक्तपुरबाट आयात गर्नुपर्ने अवस्था आयो । तान नै लोप भइसकेको अवस्थामा कीर्तिपुर नगरपालिकाका सम्पदाप्रेमी मेयर रमेश महर्जनले फेरि कीर्तिपुरमा तान ब्युँझाउने प्रयत्न गर्नु भएको छ । तीन दशकपछि कीर्तिपुरमा फेरि तानले गुनगुनाएर ‘तान’ लिने भएको छ । यसको लागि कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा, वडा नं २ को पहलमा कीर्तिपुरका महिला समूहबाट प्रतिनिधित्व गर्ने, धेरै महिलालाई तालिमको सुरुवात गरिसकेको छ । विशेषतः अधवैंशे युवतीहरु आकर्षित हुने तानबुनाइले, शारीरिक श्रमको काम पनि गर्न नसक्ने र बृद्धभता पनि उमेरको कमिले नपाइरहेका महिलाहरुलाई आर्थिक लाभ हुने मेयर साहेवको भनाइ छ । यो सीपले परम्परागत पेशाको मात्र जर्गेना नभई, छोराबुहारीमा हात थाप्नुपर्ने अवस्थामा कमि आउँछ ।
तानमा हामी धेरैको स्मृति पनि गुटमुटिएर बसेको छ । तान चलाउँदै गरेकी आमाको काखमा हामी गएर बसेका छौँ । तानबाट निस्किने मीठो धुनले हाम्रो बाल्यकाल निकै संगीतमय बनाएको थियो । तानमा खेल्ने आमाका श्रमजिवी हातहरुले हामीलाई विश्वविद्यालयले दिन नसक्ने, श्रमको पाठ सिकाइदिएको छ । कपडामा बुन्ने धागोले जीवनको एकलयताको पाठ सिकाएको छ । विकाससँगसँगै शभ्यतालाई उत्खनन गर्नु विकासको सुगन्ध हो, मीठास हो । यस्को लागि हामी सबैले सम्पदा र संस्कृतिप्रेमी मेयर साहेवलाई हार्दिक धन्यवाद दिनैपर्छ ।
यो वाहेक, कीर्तिपुर नगरपालिकामा जनप्रतिनिधि बहाली भएसँगै महिला समूहहरु निकै जुरमुराए । एक्लाएक्लै भएका महिलाहरु संगठित भए । कीर्तिपुर नगरपालिकाले पनि तालिम दिँदै महिलालाई स्वरोजगार बनाउँदै गए । कीर्तिपुरमा आज महिलाहरु कोही बेकरी तालिम लिएर केक बनाउँदै गरेको देखिन्छ भने कोही अचार तालिम लिएर अचार ।
साबुन पनि समूहले नै बनाउँदै गरेको देखिन्छ भने प्लाष्टिकको गिलास पनि । मरमसला त आज वडा वडामा उत्पादन हुन्छ । बाहिरबाट आयात गर्नुपर्ने अवस्था लगभग नियन्त्रित भइसकेको छ । आज कीर्तिपुरमा श्रमजिवी कोही महिलाको हात खालि बस्नु परेको छैन ।
सयौं तालिमको क्रममा तानबुनाइ र सिकाइसम्म पुग्दा, लाग्न थालेको छ कि, अव फेरि एकपटक कीर्तिपुर कपडाको शहरको रुपमा चिनिनेछ । यहाँका महिलाहरु विशेष चाडपर्वमा हाकुपटासीमा गुटमुटिनेछन् र सांकेतिक आवाजमा बोल्नेछन् कि हाकुपटासी हाम्रो समूदायको हो, हाम्रो हो । नेपालको झण्डा सिम्रिक रंगमा नीलो घेराले चिनिए जस्तो, कीर्तिपुर हाकुपटासीको कालो रंगमा रातो घेराले चिनिनेछ । तान गुनगुनाउनेछन् भने साँझपख आमाका चुराहरु खित्खिताउनेछन् । युगानुसारको विकासलाई काँधमा बोकेर इतिहास दोहरिनेछ ।