सरस्वती न्यौपाने, रसुवा
“हजारौँ वर्षदेखिको रूखहरू जस्ताको त्यस्तै”
रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो । यो जिल्ला प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक हिसाबले पनि उच्च स्थानमा रहेको छ ।जिल्लाभित्र अनेकौँ धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जसमध्ये केही रहस्यमय छन् । त्यस्तै स्थानीयलाई बाहेक बाहिरका मानिसलाई थाहा नभएको धार्मिक महत्त्व बोकेको ठाउँ हो- सिङेभूमी थान ।
गोसाईंकुण्ड गाउँपालिका वडा नं ६ ठाडे निवासी साप ग्याल्वो घलेका अनुसार उक्त थान परापूर्व कालदेखि आफै उत्पत्ति भएको ढुङ्गा हो । अरू देवीदेवता भन्दा यसको महिमा बेग्लै छ । यस सिङगेभूमी थान र छङगम देवी बूढाबूढी हुन् भन्ने धार्मिक किंवदन्ती समेत रहेको छ ।
यिनी बुढाबुढी एक आपसमा नमिलेर छुट्टै वारपार गरेर बसेका छन् । यस थानमा पूजा गर्दा रातो लुगा लगाएर रातो अविरले पूजा गर्नुहुँदैन र केटी मान्छे जानै नहुने भन्ने धार्मिक भनाइ छ । जहाँ विशुद्ध अछेता, गाईको दूध, पैसा मात्र चढाउनुपर्छ भन्ने मान्यता छ ।
यस थान नजिक घना रूखै रूख छन्‚ सो रूखहरु काटे अनिष्ट हुने जनविश्वास छ । यसर्थ गाउँलेले त्यहाँका रुख पनि काट्दैन र गाईबस्तु र बाख्रा पनि चराउँदैनन् । यस ठाउँमा सोमबार र बिहीबार पारेर जानुपर्ने हुन्छ । अर्को रहस्यमय कुरा चाहिँ छङगमदेवि र मूलखर्कदेवी दिदीबहिनी हुन् । मुलखर्क देवीमा चाहिँ पहिरोले पुरेर ढुङ्गा देखिँदैन ।
लाङटाङ राष्ट्रिय निकुञ्जभित्रमा रहेका सिङगे भूमिथानलाई स्थानीय सरकारले संरक्षणमा जोड दिने हो भने पर्यटन प्रवर्द्धनमा टेवा पुग्दछ । यहाँ हजारौँ वर्षदेखिको रूखहरू जस्ताको त्यस्तै छन् । पासाङल्हामु राजमार्गसँग जोडिएको भए तापनि धार्मिक हिसाबले स्थानीय बाहेक कमैलाई मात्र यसबारे जानकारी छ।
आजको २१ औँ शताब्दीमा मानिसको चालचलन‚ रीतिरिवाज परम्परा संस्कृति परिवर्तनतर्फ अग्रसर भइरहँदा भगवानलाई विश्वास नगरे पनि ठाडे गाउँवासी भने रीतिरिवाज र भगवानप्रति आस्था राख्छन् ।
सरस्वती आधारभूत निमाविका प्राध्यापक भन्छन्‚ ‘यो त कुनै मानव निर्मित नभई भगवानको पालाकै हो । यहाँ फोहोर गर्ने महिलाहरू महिनावारी हुँदा हेलचक्र्याइँ गरे रोग लाग्ने गाउँमा भयावह हुने गर्छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाक्पा घलेका अनुसार हामी जतिऔँ शताब्दीका मान्छे भए पनि आफ्नो संस्कृति, संस्कारलाई मान्नु पर्छ । यसले मानिसहरूलाई मानिस हुन सिकाएको छ । सिङ्गेभुमि थान ओझेलमा रहेको थान हो । यसले यस गाउँ र मानिसलाई असल बाटोमा डोर्याएको छ । यसको महिमाबारे विश्वसामु चिनाउन जरुरी रहेको विव्यस अध्यक्ष घले बताउँछन् ।
पर्यटन विकास र आधुनिकीकरणको प्रभावले परापूर्वकालदेखि नै जगेर्ना गर्दै आएको प्रकृति सम्बद्ध खास मूल्य, मान्यता र विश्वास रही धार्मिक हिसाबले रसुवाको माथिल्लो भेगलाई भगवानले लुकाएको स्वर्गको एक पवित्र भूमि मानिएको पनि लामा बताउँछन् । लोक कथामा छङ्गमदेवीजस्तै उच्च महिमा यहाँका धेरै गाउँ ठाउँका नामसँग जोडिएका छन् ।