निरन्जन फुयाल/प्रबन्धक नेप्से
आजको भौतिक संसारमा कुनै पनि मानिसले जीवन जीउनका लागि अर्थोपार्जन गर्न जरुरी छ । आर्जन गरेको रकम आफू र परिवारलाई जीवन यापन गर्न खर्च गरिन्छ । जती थोरै रकम कमाए पनि भविष्यमा आईपर्न सक्ने अस्वाभाविक अवस्थामा सहज जीवन यापन गर्न वा कमाई नभएको अवस्थामा पनि जीवन धान्न कमाएको रकमवाट केही वचत गर्ने गरिन्छ । सामान्यतया सवै साधारण मानिसहरुले आफ्नो कमाईवाट केही न केही वचत गर्ने गर्दछन् । वचत गरिएको रकम यसै राख्नु भन्दा भविष्यमा केही प्रतिफल प्राप्त गर्ने आशामा लगानी गर्ने गरिन्छ । त्यसैले लगानी गर्दा सकेसम्म सुरक्षित लगानी अवसरहरुमा लगानी गर्ने गरिन्छ । बढि प्रतिफलको आशमा केही मानिसहरु जोखिम भएका क्षेत्रमा पनि लगानी गर्ने गर्दछन् । वित्तशास्त्रका विभिन्न सिद्धान्त अनुसार आजको संसारमा असंख्य लगानीका अवसरहरु उपलब्ध हुन्छन । प्रत्येक ब्यक्तीहरुले आ–आफ्नै जोखिम लिन सक्ने क्षमता र आँटका आधारमा जोखिमयुक्त वा कम जोखिम भएका लगानी अवसरहरु छनौट गर्दछन् । मानिस एक चेतनशिल प्राणी भएकोले आफ्नो क्षमताका आधारमा उत्तम लगानी निर्णय गर्ने गर्दछ । जोखिम कम गर्न विभिन्न क्षेत्रमा लगानी गरी लगानी विविधिकरण गर्न सकिन्छ । जोखिम बढि लिंदा प्रतिफल पनि बढी प्राप्त गर्ने अपेक्षा रहन्छ । यी र यस्तै जोखिम र प्रातिफलको सम्बन्धका आधारमा लगानी सम्बन्धि विभिन्न सिद्धान्तहरु प्रतिपादन भएका छन् । तर वास्तविक संसारमा के साँच्चै मानिसहरुले लगानी सम्बन्धि निर्णय गर्दा यस्ता सिद्धान्तलाई ख्याल गरेका हुन्छन् ? के मानिसले लगानी गर्दा विवेकशिल निर्णय गर्न सक्छ ?
एउटा काल्पनिक अवस्था विचार गरौं । तपाईले काम गर्ने कार्यालयमा समानस्तर र आर्थिक हैसियत भएको कुनै साथीले शेयर बजारमा लगानी गरी छोटो समयमा राम्रै रकम कमाएको थाहा पाउनु भयो भने उसले कुन दलाल मार्फत खरिद विक्री गर्छ ? कस्ता शेयरहरुवाट नाफा भएको हो? भन्ने सम्बन्धमा जिज्ञासा उठ्छ । मानौं तपाईंको साथीले कारोवार गर्ने दलाल र खरिद गरेको शेयरको कम्पनीका वारेमा पनि जानकारी गराउनु भयो भने तपाईको पनि पहिलो रोजाई त्यही दलाल र तिनै कम्पनीका शेयरहरु पर्दछ । ति कम्पनीहरुमा कति जोखिम रहेको छ? त्यसको अपेक्षित प्रातिफल कति होला? भन्ने प्रश्नमा अध्ययन गर्नु भन्दा साथीको सल्लाह वा अनुभवले लगानी गर्दा बढि प्राथमिकता पाउँछ । अझ लगानी विविधिकरण र जोखिम न्यूनीकरणको विषय त लगानी निर्णय गर्ने समयमा मानिसले विरलै सोच्ने गर्दछ । लगानीगर्दा उपलब्ध सिद्धान्त भन्दा पनि बजारमा अरुले के गरिरहेका छन्? भन्ने विषयले बढी महत्व राखेको अनुसन्धानले देखाएको छ ।
मानौ तपाई वित्तीय साक्षर हुनुहुन्छ र विभिन्न कम्पनी तथा बजारका विवरण अध्ययन गरी जोखिम प्रतिफलका आधारमा लगानी निर्णय गर्न सक्षम हुनु हुन्छ । तपाईसंग केही रकम वचत पनि छ र केही दिनको अध्ययन पछि कुनै दुई कम्पनीका शेयर खरिद गर्ने विचार गर्नु भयो । कार्यालय पुग्दा तपाईको कुनै साथीले अर्कै कुनै कम्पनीको शेयरको केही दिनमा नै मूल्य बढ्ने जानकारी गराउनु भयो भने तपाईको अध्ययन भन्दा साथीको जानकारीले लगानी निर्णयलाई बढि प्रभावित गर्ने गर्दछ । यी तथ्यहरुलाई विभिन्न अध्ययनहरुले देखाएको छ । त्यसैगरी प्रत्येक प्राप्त नयाँ सूचनालाई शेयरको मूल्यसंग जोडेर अधिक कारोवार गर्ने, सूचना प्राप्त हुनासाथ बढि उत्साहित हुने, बजारमा आफूले खरिद गरेको शेयरको मूल्य बढ्दा अझै बढ्ने आशामा रहने, एक पटक नाफा दिएको कम्पनीलाई बढी विश्वास गर्ने, हल्लाका रुपमा प्राप्त जानकारीको आधिकारिकता नखोजी लगानी निर्णय गर्ने जस्ता विभिन्न ब्यवहारिक कमजोरीहरु मानिसले लगानी निर्णय गर्दा देखाउने गर्दछ ।
सवै मानिसले आफूले गरेको निर्णय सही भएको ठान्दछ । अाफ्नो क्षमातामा बढी विश्वास गर्दछ । एक अध्ययनले सार्वजनिक सवारी साधन चलाउने चालकहरु धरै जसोले आफू अन्य चालक भन्दा बढि सक्षम रहेको ठान्ने गरेको देखाएको थियो । मान्छेको यही प्रवृति लगानी वातावरणमा पनि लागू हुन्छ । आफूलाई अरु भन्दा बढि क्षमातावान सोच्ने, आफ्नो लगानी निर्णयलाई सवैभन्दा राम्रो विकल्प रहेको ठान्ने, बढी आत्म विश्वास आदि मानवीय त्रुटीका कारण गलत निर्णय भई लगानीमा जोखिम बढ्ने गरेको देखिन्छ । यसरी अध्ययन भन्दा पनि बजार परिस्थिति, हल्ला र अरुको निर्णयको पछि लाग्ने र बढि आत्म विश्वासी लगानीकर्ताहरुलाई न्वाईज ट्रेडर्स भनिन्छ ।
बजारमा केही अध्ययन गरी राम्रो निर्णय गर्दै लगानी गर्ने ब्यक्तीहरु पनि पाईन्छ भने केही लगानीकर्ताहरु बजार वा शेयरको वारेमा पटक्कै जानकारी नभएका ब्यक्तीहरु पनि हुन्छन् । तर बहुसंख्यक लगानीकर्ताहरु सिमित ज्ञान भएका र आफैलाई अरु भन्दा बढि जानकार युक्त लगानीकर्ता ठान्ने, हल्लाको पछि लाग्ने र बढि आत्मविश्वासी हुन्छन् । यस्ता अविवेकी लगानीकर्ताहरुको कारणले बजारमा सधै उतार चढाव देखिन्छ । यस्ता न्वाईज ट्रेडर्स बजारमा हावी हुने भएकोले समग्र बजारको दक्षतामा नै कमी आउछ । यस्तो खालको लगानीकर्ताको बानी ब्यवहारलाई अध्ययन गर्ने विज्ञानलाई ब्यवहारिक वित्तशास्त्र भनिन्छ । यसमा मानविय अविवेकीपनका कारण हुने त्रुटी र यसवाट उत्पन्न हुन सक्ने जोखिमका सम्बन्धमा अध्ययन गरिन्छ । केही वर्ष अघि सम्म जोखिम र प्रतिफलका आधारमा गरिने अध्ययनहरुले विश्वमा अर्थशास्त्र अन्तर्गतका नोवल पुरस्कार सहित महत्वपूर्ण पुरस्कारहरु प्राप्त गर्ने गरेकोमा हालका वर्षहरुमा मानिसको लगानी निर्णयमा असर पर्ने वा त्रुटी हुन सक्ने ब्यवहारिक पक्षहरुको अध्ययनहरुले यस्ता पुरस्कारहरु जितेका छन् । यसवाट के स्पष्ट हुन्छ भने जोखिम र प्रतिफलका आधारमा प्रतिपादिन वित्तशास्त्रका कतिपय सिद्धान्तहरु बजारमा ब्यवहारिक रुपमा उपयोग नभएको र लगानीमा जोखिम कम गर्न, लगानी निर्णयमा हुन सक्ने त्रुटीहरुलाई कम गरी आवश्यक प्रतिफल प्राप्त गर्न लगानीकर्ताहरुको समग्र ब्यवहारलाई पनि अध्ययन गर्नु पर्दछ ।