मोदीको जितले अब नेपालमा के असर गर्ला ?

काठमाडौं

भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले फेरि एक पटक सरकार बनाउने भएको छ । । लोकसभा चुनाव अन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान आइतबार सम्पन्न भएको थियो । बिहीबार भएको मतगणना पछि (भाजपा)ले ३०३ सिटमा बिजय प्राप्त गरेको छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुन अर्को पटक भारतको प्रधानमन्त्री बन्ने निस्चित भएको छ ।
बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्ने लोक सभामा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले कुल ५ सय ४२ सिट मध्ये ३ सय ३ सिटमा विजय हासिल गरेको हो ।कांग्रेस आई नेतृत्वको गठबन्धनले भने जम्मा ५२ सिटमा चित्त बुझाउनु पर्ने भएको छ ।

सम्भावित छिमेक नीति
भारतीय प्रधानमन्त्री मोदी आफ्नो कार्यकालमा सबैभन्दा धेरै नेपाल भ्रमण गर्ने एक मात्र भारतीय प्रधानमन्त्री हुन् । उनी पहिलो कार्यकालमा विभिन्न समयमा गरी चार पटक नेपालको भ्रमणमा आएका थिए । धार्मिक, औपचारिक र नेपालको राजकीय भ्रमणसमेत उनले गरेका छन् । आफ्नो शपथ ग्रहणका क्रममा समेत छिमेकी देशका नेताहरुलाई बोलाएर उनले सम्बन्ध नजिक राख्न खोजेका थिए ।
नेपाल मामिलामा मोदी जति लोकप्रिय बन्न खोजेका थिए, त्यति नै विवादितसमेत बनेका छन् । उनले नेपालको संविधानमा असन्तुष्टि मात्र जनाएनन्, इतिहासमा सबैभन्दा खराब काम नेपाललाई नाकाबन्दीसमेत लगाए । त्यसको चौतर्फी आलोचना हुँदै आएको छ । पछिल्लो समय भने उनले त्यसलाई सच्याउने कुरा अगाडि सारेका छन् । भारतमा रहेका नेपालीभाषीका समस्या र नेपाललाई हेर्ने दृष्टिकोणमा उनको खासै परिवर्तन आउने देखिदैंन । तर, पहिले जस्तो सजिलै बस्ने पक्षमा उनी हुने छैनन् ।
राजनीतिक विश्लेषकहरुले मोदीको दोस्रो कार्यकालमा छिमेक नीति देखिनेगरी परिवर्तन हुने बताएका छन् । नेपालसँगको सम्बन्धलाई पनि नयाँ रुपमा देख्न सकिनेछ । भारतमा पाकिस्तान विरोधी राष्ट्रवाद चुनावमा प्रमुख एजेण्डा भएजस्तै नेपालमा पनि भारतविरोधी राष्ट्रवाद चुनावको प्रमुख एजेण्डा बन्दै आएको छ । यो कुराको राम्रो ज्ञान भएका मोदीले पहिलेको नीतिलाई निरन्तरता दिने पक्षमा देखिँदैनन् । नेपाल मामिला मात्र नभएर दक्षिण एसियाली क्षेत्रमै उनी नयाँ परिवर्तनका लागि पहल गर्नसक्ने सम्भावित नेता हुन् ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजनसँग कुराकानी गर्दै केही दिनअघि मोदीको उदय भएमा भारत–पाकिस्तान वार्ता नयाँ ठाउँबाट अगाडि बढ्ने बताएका थिए । पाकिस्तानसँग वार्ताको जोखिम मोल्न सक्ने नेता मोदी नै भएको उनले बताएका थिए । त्यसैले पनि मोदीले आफ्नो दोस्रो कार्यकालमा भारतको बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा जाने सम्भावना बढी छ ।
पाकिस्तानका वरिष्ठ पत्रकार जहिर खान भारतमा मोदीको फेरि उदय हुने सम्भावना व्यक्त गर्छन् । उनी भन्छन्– ‘भारतले संयुक्त राष्ट्रसंघसँग काश्मीरका विषयमा गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ । त्यसका लागि भारतको हिम्मत भएको नेता आवश्यक पर्छ । मोदी त्यस्तो नेता हुन सक्छन् । भारत र पाकिस्तानले काश्मीर विवाद सुल्झाएको अवस्थामा दक्षिण एसिया शान्तिका लागि नयाँ गन्तव्य बन्न सक्छ । यो इच्छाशक्ति मोदीमा हुनसक्छ ।’
दक्षिण एसियामा भारतको हेपाहा दृष्टिकोण छ । त्यसैले भुटानबाहेक अन्य देश ऊप्रति असन्तुष्ट छन् । भुटान भने सधैं अन्धभक्त भारतको समर्थनमा रहँदै आएको छ । नेपाल, श्रीलंका, बंगलादेश र पाकिस्तान भारतको विरुद्धमा उभिँदै आएका छन् । सत्ता परिवर्तनपछि माल्दिभ्स भने भारतको नजिक छ । तर, त्यहाँसमेत भारतविरोधी जनता धेरै छन् । सीमा जोडिएको चीन पनि भारतसँग व्यापारिक सम्बन्धमा मात्रै छ । त्यसैले मोदीका लागि नयाँ चुनौतीका रुपमा छिमेकीसँगको सम्बन्ध राम्रो बनाउनु रहनेछ ।
बंगलादेशका वरिष्ठ पत्रकार अब्दुल बुलबुल भारतले अब छिमेकीसँगको सम्बन्ध राम्रो बनाउनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्– ‘पाकिस्तान र बंगलादेशलाई शत्रुवत व्यवहार भारतले गरिरहेको छ । जुन कुरा गलत हो । अन्य देशसँग पनि सम्बन्ध राम्रो छैन । काश्मीरमा लेनदेन गरेर विवाद मिलाउनुपर्छ । यो मानवहितमा हुनेछ । निहित स्वार्थका लागि भन्दा पनि मानवीय स्वार्थ ठूलो हुनुपर्छ । मोदीले त्यो जाँगर देखाउनु पर्छ । तर पहिले छिमेकीलाई पेल्ने र हेप्ने खालको भारतको नीति रह्यो । जुन कुरा गलत भएको धेरै पछि मात्र मोदी सरकारले महसुस ग¥यो ।’

सम्भावित नेपाल सम्बन्ध
नेपालमा भारतीय चासो हुनु स्वाभाविक छ । हजारौं नेपाली र हजारौं भारतीय एकअर्काका देशमा आश्रित मात्र रहेका छैनन् लामो समयदेखि बसोवाससमेत गरेका छन् । तर पनि भारतले नेपाललाई आफ्नो नियन्त्रणमा राख्न खोजिरहेको छ भने नेपालले आफूलाई स्वतन्त्र राख्न चाहन्छ । राजनीतिक व्यवस्थाका विषयमा पनि भारतले नेपालको संविधान परिवर्तन गरेर आफूमा निहित अर्थराजनीति चाहन्छ भने नेपालले भारत अनुकूल नहोस् भन्ने चाहना राख्छ । त्यसैले भारतविरोधी नेपालको मानसिकतामा परिवर्तन ल्याउनु अब मोदी सरकारको मुख्य चुनौती हो ।
नेपालमा भारतीय जनता पार्टीको एकमात्र चाहना हिन्दू राष्ट्र रहेको छ । त्यो सँगसँगै कतै न कतै पूर्वराजाको सक्रियतामा भाजपा अडिग देखिन्छ । भाजपाका नेतासमेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी दुई एजेण्डाका विषयमा हालै मात्र पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । नेपाली काँग्रेस लगायतका दलका हिन्दूवादी नेतासँग पनि उनले निरन्तर संवाद जारी राखेका छन् । उनलाई मोदीपछि भारतको प्रधानमन्त्रीको रुपमा समेत हेरिएको छ । प्रभावशाली नेताले नेपालको संविधान प्रतिकूलका एजेण्डालाई उठाएकाले नेपालसँगको सम्बन्धमा दरार आउने सम्भावना बढी देखिन्छ ।
मोदी भने नेपालसँगको सम्बन्ध सुधार गर्ने पक्षमा देखिन्छन् । उनले पक्कै पनि शपथग्रहणका क्रममा यसको संकेत दिनेछन् । पछिल्लो नेपाल भ्रमणका क्रममा उनले अब आउँदा लुम्बिनीको भ्रमण गर्ने बताएका थिए । चीनसँगको निकटता कम गर्ने उनको प्रमुख उद्देश्य बन्ने देखिन्छ । त्यसका लागि नेपालसँग मिलेर जाने वा दबाब दिएर भन्ने कुरा भारत र चीनसँगको सम्बन्धमा भर पर्छ । नेपालका लागि मोदीको उद्देश्य जे भए पनि नेपालले कसरी प्रयोग गर्ने भन्नेमा ध्यान दिन जरुरी रहेको राजनीतिक विश्लेषकहरुको भनाइ रहेको छ ।
नेपाली राजनीतिक विश्लेषकहरुले समेत मोदीको नयाँ कार्यकालमा अहिलेको जस्तो अवस्था नरहने बताएका छन् । अबको कार्यकालमा नेपाल–भारत सम्बन्ध पहिलेको नाकाबन्दी लगाउनुपूर्वको अवस्थामा फर्किने वा नाकाबन्दीका बेला जस्तो रहने अनुमान गरिएको छ । पछिल्लो भारतीय प्राथमिकताले पनि त्यस्तै देखाउँछ । तर, भारतले नेपालका राजनीतिक दलभित्र खेल्ने रोग भने अब झन्–झन् बलियो हुने सम्भावना देखिन्छ । राजनीतिक दलभित्रको विवादले तीव्रता पाउने र केही राजनीतिक दल विभाजनको अवस्थासम्म पुग्ने सम्भावना पनि उत्तिकै छ । भारत आन्तरिक राजनीतिमा खेलेर रमाउने पुरानै परम्परा हो । मोदीले यो परम्परालाई समेत निरन्तरता दिन सक्छन् ।