लघुकथा
गत ५ महिनादेखि सुनसान देखिएको छिमेकीको घरमा आज चहल पहल देखिदैछ। पाँच महिनाअघि परिवार भेट्न अमेरिका गएका बुढा बुढी आज घर फर्केर आएछन र ऊनीहरुलाई भेट्न आउनेहरुका कारण छिमेकीका घरमा चहल पहल भएको थियो।
छरछिमेकको चलन अनुसार बिमल छिमेकीको कुशल मंगल सोध्न ऊनका घरमा जान्छ।
“ओहो आमा कहिले फर्कनु भयो अमेरिकाबाट?” बुढी आमालाई देख्नासाथ बिमल प्रश्न गर्छ ।
“अँ, हिजो आयौं बाबु। अनि बाबु नानी आरामै त हुनुहोला नी ?” बुढी आमा जबाफ दिनुहुन्छ।
बिमल भन्छ; “हामी त आरामै छौं। अनि आमाहरुको अमेरिका यात्रा कस्तो भयो त? धेरै बस्नु भयो, अनि काँ काँ घुम्नु भयो? किनमेल पनि त गर्नु भयोहोला?”
आमै खल्लो स्वरमा भन्नुहुन; ‘काँ घुम्न पाउनु नि बाबु, त्यो अम्रिका भनेको त अजंगको देश र छ ! म त भुतुक्कै भए बा बा। कत्रो बिशाल। तर के गर्नु बाबु, हामी जस्तोलाई, न आफु एक्लै निक्लन सक्नु !
निक्लेर नि क्यार्नु र ? हामी बसेको राज्य हो कि के हो भन्थे, त्यता त हाम्रा ठाऊका जस्ता न त ट्याम्पु नत बस नै। सबैका आ-आफ्नै गाडी। ए रातै हिड्ने बाटोपनि छैन अनि बाटोमा हिडेका पनि कोही दैखिदैन। न बोल्न जानिन्छ न बोलेकै बुझिन्छ।’
‘किनमेल? किनमेलको त कुरै नगरौं बाबु। सामान त सस्तै हो नी, त्यहाँको पाँच रुप्पेदेखि नै सामान किन्न पाईन्छ तर के गर्नु र, त्याँको पाँच रुप्पे भनेको त हाम्रो त पाँचशय चालिस हुदो रेछ। एउटा स्विटर र एउटा छालाको ब्याग राम्रो लागेर बुढालाई किन्दिनोस न भन्या त स्विटर त्यहाँको एक शय बीस रे अनि ब्याग त त्यही कै तीनशय पचास रे!
आम्मामा, दुईथोक गरेर हाम्रो पैसा त झण्डै एकचालीस हजार रे। बुढाले झन्डै नमारेका। हैन हो हाम्रो पैसा र तीन्का पैसामा किन यस्तो भाको बाबु?’ बिचरी बुढीआमैलाई बिमल कसरी बुझावस त्यो भिन्नता।
अनि घुम्न त घुम्नु भयो होला नि?
यसो अलि अलि घुमियो नाई। छोरी ज्वाईले बोला र गा को। दुबै काम गर्न जाँदा रेछन। एउटाको दिउस काम भे अर्कोको बेलुका हुदो रेछ। उनीहरुको फुर्सदमा कहिले काही यसो कतै कतै लगिदिन्थे।
ज्वाईलाई त भन्ने कुरा भएन यसो छोरीलाई तिमेरु घुमाईपनि दिदैनौ भन्यो भने उल्टै उ कराऊछे- के गर्नु त आमा, नेपाल छाडेर आइहालियो, कति ऋण गरेर, अब त्यो पनि तिर्नै पर्यो, एऊटाले कमाएर यो ठाउमा दुई जाना पालिन गारो छ। पाएको काम छाडेर तपाईहरुलाई घुमाउन लगौं भने भोली फेरी काम पाईएन भने अर्कै समस्या। नेपालदेखि अमेरिका आइहाल्नु भयो, यही नै घुमाई भैगयो नी।
अनि पा-पाँच महिना कसरी बिताऊनु भयो त तपाईहरुले?
आ बाबु, ज्वाईले हामी गएपछि एऊटा ठूलो टिभी किनि दिनु भयो, अनि हामी बसुन्जेलको लागि भन्नु हुन्थ्यो हिन्दी सिरियल आऊने दुई तीनवटा च्यानल लिदिनुभयो त्यही हेर्यो बस्यो गर्दा गर्दै पाँच महिना त बितायौ त हामीले त।
हो, यो नै बास्तबिकता हो छोरा- छोरीहरुले बोलाएर अमेरिका घुम्न जाने अधिकांस बुढा- बुढीहरुको अवस्था। बोलाउने छोरा छोरीलाईपनि थाहा छ यो समस्या। तर केगर्नु ऊनीहरुपनि बिवस छन बोलाउन। किनकि एक त उनीहरुलाई पनि रहर हुन्छ आफ्ना बाबु आमालाई घुमाउने डुलाऊने। फेरी अर्को कति बाबु आमा खै हामीलाई बोलाऊनु पर्दैन भनेर कराएको कराई गर्छन र यी र यस्ता समस्या हुदा हुदै बोलाउन बाध्य हुन्छन र घुम्न भनेर आउनेहरु आऊछन दुई चार दिन यसो बसेको ठाऊ वरिपरी घुम्छन अनि बन्द कोठामा टिभी हेरेर फर्कन्छन्।
महेन्द्र चालिसे
आरुबारी, काठमाडौं