सुपेन्द्र बस्नेत, बोष्टन
कहिले काँही लाग्छ सर्वोत्तम चेतनशील प्राणी मानिएको ‘मानव’ नै निकै अप्राकृतिक, भ्रम र अर्थहीन जीवनयापन गरिरहेको छ। हालसम्म खोजले दिलाएका प्रमाणहरु अध्ययन गर्दा जगत सृष्टिको विन्दुदेखि २१ औं सताब्दिसम्म आइपुग्दा आकास जमिन भिन्नता भएको देखिन्छ। जुन भिन्नतालाई मानव आफ्नो सभ्यताको विकास क्रमको उच्चतम विन्दु ठान्दछ। तर, यो उच्चतम बिन्दुमा रहेका मानवको अवस्थालाई गहन चिन्तन मनन गर्दा, मानव प्राकृतिक, सत्य र सार्थक जीवन जिउन असमर्थ छ भन्ने निस्कर्षमा पुग्न भने गाह्रो छैन। यही रफ्तारमा मानव अघि बढ्दै जाने हो भने केही पुस्तामै सृष्टि ध्वस्त हुने लक्षणहरु प्रसस्तै देखिन्छन्।
मानव सभ्यताको विकास क्रमलाई अध्ययन गर्दा मध्य युग मानव जातिको स्वर्णिम काल रहेको देखिन्छ। जति बेला मानवले प्राकृतिक, सत्य र सार्थक जीवन जीउन महत्वपूर्ण अभ्यास गर्यो। र, यही अभ्यासका क्रममा सैध्दान्तिक धार्मिक बिचारहरुको जन्म पनि भयो। त्यही विचारका आधारमा धार्मिक ग्रन्थहरु लिपिबध्द भए। यही जगमा टेकेर मानिस शक्ति, सत्य र ज्ञानको भक्तिमा लीन हुदै प्राकृतिक, सत्य र सार्थक जीवन जीउन अभ्यस्त रहे। यस व्यवहारिक अभ्यासले दिलाएको खुसी, आराम, ज्ञान, आनन्दका आधारमा सुनियत राखी धर्मको संरक्षण, संवर्धन र प्रचार प्रसार व्यवस्थित रुपमा गरिन सुरु गरियो। जब विज्ञानको विकासले औद्योगिक क्रान्ति ल्यायो। तब, त्यसले धर्मलाई सारथीको रुपमा टेको लागिदिनुको सट्टा, दरार पैदा गराउनतिर उद्दत रह्यो। दिन प्रतिदिन धार्मिक सिद्धान्त, सोच र व्यवहारले आफ्नो वा अरुका कारण लिक छोड्दै गयो। फलस्वरुप आज विश्व अप्राकृतिक, असत्य र अज्ञानी अभ्यासहरुले आक्रान्त भैरहेको छ। यद्यपि, मानव यही अभ्यासमा लिप्त भएर पनि सार्थक जीवन जिउने दुस्साहस भने गरिनै रहेको छ। अहिले संसारमा मुख्य गरी हिन्दू, क्रिश्चियन, मुस्लिम, बौध्द, जेन आदि धर्महरुको प्रभाव छ। हरेकका आ-आफ्नै इष्ट देवी/देवताहरु, धार्मिक ग्रन्थहरु, धार्मिक चाडपर्व र क्रियाकलापहरु छन्। सबैको ‘धार्मिक सैद्धान्तिक सार’ त जगत भलो र सार्थक जीवन व्यतित गर्नु नै छ। यस अर्थमा सबै धर्मका बीचमा भाइचारा, सहअस्तित्व र सहकार्यले प्राथमिकता पाउनु पर्ने हो। तर, व्यवहारत: अस्तित्व, वर्चश्व र नियन्त्रणको कुनियतका कारण एक धर्मले अर्को धर्मसंग दुश्मनि साँधि रहेका छन्। आफ्नो दुर्गति हुनुमा आफ्नो कमी कम्जोरी पहिचान गर्नु र त्यसलाई समयानुकुल सुधार गर्नतिर केन्द्रित हुनुको सट्टा अरु धर्म माथि दोष थुपारेर आफू चोखिने र सन्चो मान्ने प्रवृति हावि हुदै गइरहेको छ। यस प्रवृतिको संक्रमणले हिन्दू धर्मलाई दिन प्रतिदिन कम्जोर बनाउदै गइरहेको छ। जसको प्रभाव नेपालका हिन्दू धर्मावलम्बीहरुमा निकै परिरहेको छ। जब २०६२/०६३ को जनआन्दोलन पछि भएको राजनीतिक परिवर्तनले हिन्दू राष्ट्र नेपाललाई धर्म निरपेक्ष राष्ट्रमा परिणत गर्यो। तब हिन्दु धर्मको सैद्धान्तिक र व्यवहारिक सबल पक्षहरु थप कम्जोर बन्न पुग्यो। धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न अस्त्रको रुपमा दुरुपयोग गर्ने क्रियाकलापहरुले हिन्दू धर्मलाई थप कम्जोर तुल्यायो। यसले हिन्दू धर्मप्रतिको आस्थामा नै प्रहार गर्यो। र, हिन्दू धर्मको मर्मलाई नराम्ररी आघात पुर्यायो। जसले गर्दा आज नेपालको हिन्दू धर्म निकै तरल, नाजुक र चिन्ताजनक अवस्थामा छ। हिन्दू धर्मको आस्थामा प्रहार हुने क्रियाकलापहरु जानि नजानि हिन्दू धर्मावलम्बीहरु बाटै भैरहेको छ। त्यस्ता क्रियाकलापहरु देख्दा निकै सामान्य लागे पनि त्यसले पार्ने नकारात्मक प्रभावहरु भने निकै खतर्नाक हुन्छन्। जसप्रति हिन्दू धर्मावलम्बीहरुको ध्यान नै पुगिरहेको छैन। ध्यान पुगे पनि चिन्तन मनन नै गर्ने गरिन्न। यस सन्दर्भमा सुन्दा सामान्य लाग्ने तर मेरो मनमा निकै गडेको एउटा घटना यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु।
२०६९ सालको कुरा हो। जति बेला म कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा जिड्ब्लुपी/सेभ द चिल्ड्रेनले सञ्चालन गरेको कार्यक्रममा कार्यरत थिएँ। दाताले काठमाण्डौंस्थित मल्ल होटलमा आफ्ना सहकर्मी संस्थाहरुकाबीच ३ दिने कार्यशाला गोष्ठीको आयोजना गरेको थियो। म हाम्रो परियोजनाको प्रतिनिधित्व गर्दै नेपागन्जबाट काठमाडौं मल्ल होटल पुगेको थिएँ। उक्त कार्यशाला गोष्ठी हाम्रो कार्क्रमका लागि निकै महत्वपूर्ण थियो। गोष्ठीमा सहजकर्ता विदेशी थिएँ। गोष्ठीको पहिलो दिन लन्च लिएपछि समय बाँकी भएकाले केही सहभागीहरु होटलको अगाडि पट्टी खुल्ला मैदानमा ग्राहकहरुलाई खानपीन गराउने उद्देश्यले तयार पारिएको ठूलो छाताजडित टेबलसंगै रहेको कुर्सीमा आराम गर्न पुग्यौं। गफिदै गर्दा मेरो नजर त्यस टेबलमा राखिएको घण्टा (हिन्दू धर्मावलम्बीहरुले भगवानको पूजा, अर्चना, प्रार्थना र आरति गर्दा बजाउने आकार/प्रकारको) मा पर्र्यो। त्यो घण्टा अन्य सहभागीहरुले पनि देखेका थिएँ। लन्च ब्रेकको समय सकिएकाले हामी हलतिर लाग्यौं। त्यो घण्टालाई मेरो मस्तिष्कले त्यही छोडेन। आफूसंगै लिएर हलतिर आयो। छलफलका क्रममा मेरो मानस्पटलमा त्यो घण्टा बजी नै रह्यो। केही समयपछि फेरी टि/कफी ब्रेक भयो। र, कफी लिएर केही सहभागीहरु त्यहीँ स्थानमा बस्न पुग्यौं। कफी खादै गफिदै गर्दा मैले त्यस घण्टाका बारेमा कुरा कोट्याएँ। घण्टासंगै कार्डबोडले बनेको मदिराको स्टान्ड प्रचार सामग्री रहेको थियो। घण्टा र यो प्रचार सामग्री अन्य टेबलहरुमा पनि राखिएको थियो। त्यस सम्बन्धमा हामीबीच निकै तर्क बितर्कहरु भए। यथार्थ उद्देश्य बुझ्न मैले नजिकै हिड्दै गरेका वेटरलाई बोलाएँ। र, घण्टा राख्नुको उद्देश्य सोधें। वेटरले बताए अनुसार ग्राहकले त्यो घण्टा बजाएर वेटर वा होटलका प्रतिनिधिलाई बोलाउने गर्दा रहेछन्। अनि त्यो घण्टा चाहिँ होटललाई मदिरा बिक्रेताले प्रदान गरेको रहेछ। त्यो दिन त्यतिकै भयो। साथीहरुले उक्त जुक्ति बुद्धिको खुलेरै तारिफ गरे। तर, मलाई भने निकै असहजताको अनुभूति भैरहेको थियो। त्यो असहजतालाई मैले त्यहीँ अलपत्र छोड्न सकिन। र, साथै लिएर बासस्थानतिर लागें। मनमा गम्भीर प्रश्नहरु जन्मिए। व्यवसायिक दृष्टिकोणले हेर्दा त्यो जुक्ति बुद्धि पृथक, आकर्षक र प्रभावकारी नै थियो। तर, हिन्दू धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले त्यो जुक्ति बुद्धिलाई मेरो मनले भयावह नै ठान्यो। बास बस्दाका समयमा पनि थप कौतुहलता जाग्यो। उकुसमुकुस भयो। र, यस विषयमा होटल व्यवस्थापनसंग थप बहस गर्ने निश्कर्षमा पुगें।

दोश्रो दिन फुर्सदका बेला व्यवस्थापनसंग सम्पर्क गरेर त्यस बिषयमा छलफल गरें। हिन्दू धर्मको अत्यन्त महत्वपूर्ण धार्मिक सामग्री ‘घण्टा’ राखिएको स्थान र मदिरासंग जोडिएको सम्बन्ध उपयुक्त नभएको जाहेरी गरें। होटलका कर्मचारीहरुले त्यस कार्यलाई सामान्य रुपमा लिएको र त्यस दृष्टिकोणबाट नसोचिएको बताए। लामो समयदेखि उक्त घण्टा प्रयोगमा ल्याइरहेको भएतापनि कुनै ग्राहकले त्यतिबेलासम्म प्रश्न वा जिज्ञासा नराखेको उनले बताए। त्यस विषयमा व्यवस्थापकसंग थप कुराकानी गर्ने इच्छा जाहेर गरेकाले उनीहरुले व्यवस्थापकलाई जानकारी गराउने बचन दिए। तेश्रो दिन फुर्सदको समयमा म पुनः त्यस विषयमा कुरा गर्न व्यवस्थापकलाई भेट्न गएँ। व्यवस्थापकले पनि आफू पनि हिन्दू धर्मावलम्बी भएतापनि त्यस विषयमा घण्टाको धार्मिक तथा साँस्कृतिक महत्वका दृष्टिकोणबाट चिन्तन मनन नगरिएको र मदिरा बिक्रेताले उपलब्ध गराएकाले राखिदिएको बताए।
जब मैले आफूले जाने बुझे जति घण्टाको धार्मिक तथा साँस्कृतिक महत्व, मान सम्मान, इज्जत र उपयोग दर्शाएँ। तब, उनी पनि मेरो कुरामा सहमत भएँ।र, अन्जानमा गल्ति भएको स्विकार गरें। त्यस विषयमा ‘घण्टा’ उपलब्ध गराउने, राख्ने र प्रयोग गर्ने कसैले पनि त्यस कोणबाट सोचेर नियतै खराब राखिएको भने मैले पाइन। हुन त म पनि कुनै धार्मिक अगुवा वा अभियानता त थिइन। तर, बस हिन्दू धर्मावलम्बी भएका नाताले धर्मप्रति ‘आस्था’ भने पक्कै थियो नै। त्यसैले मैले त्यस विषयलाई महत्वपूर्ण र संवेदनशील ठानें। र, गहिराइसम्म पुग्ने प्रयास गरें। व्यवस्थापकका अनुसार विदेशी ग्राहकहरुले वेटरलाई बोलाउन घण्टा बजाउदा रमाइलो र खुसी मान्ने गरेका थिए रे। हिन्दू धर्म माथि हिन्दू धर्मावलम्बीहरुबाटै अन्जानमै प्रहार भइरहेका हजारौं घातक प्रहारहरु मध्यको यो त एउटा प्रतिनिधि घटना मात्र हो।
जानि जानि सामान्य त हो नि भनेर बेवास्ता गरी गरिएका व्यवहारहरुले हिन्दू धर्म माथि पुर्याएका अदृष्य आघातहरु त कति छन् कति।
मैले आफ्नो आजसम्मको जीवन यात्राका क्रममा योगी नरहरिनाथ, नारायणप्रसाद पोखरेल र दीनबन्धु पोखरेलसम्मलाई खास महत्व दिएर हेर्ने, सुन्ने, र बुझ्ने मौका पाएँ। हिन्दू धर्मका संरक्षक, संवर्धक, प्रचारक र प्रवर्धकका दृष्टिकोणले निकै चर्चित यि तीन व्यक्तित्वहरुका बिचमा तात्विक भिन्न विशेषता खोजी गर्दा, योगी नरहरिनाथ समयानुकूल धार्मिक दर्शन र व्यवहारका बिचमा सामन्जस्यता ल्याएर हिन्दू धर्मलाई स्थापित गराउने अभियानमा लागेका अभियान्ता, नारायणप्रसाद पोखरेल धार्मिक दर्शनमा जोड दिएर हिन्दू धर्म स्थापित गराउने अभियानका अभियान्ता र दीनबन्धु पोखरेल अर्थ संकलनमा जोड दिएर हिन्दू धर्म स्थापित गराउने अभियानमा लागेका अभियान्ताका रुपमा बुझें।हिन्दू धार्मिक अभियानमा यि तिनैको योगदानहरु आआफ्नो ठाँउमा निकै महत्वपूर्ण छन्। तर, उनीहरुले चलाएका अभियानका क्रममा जानी नजानी भएका कमी कम्जोरीहरुले पारेका नकारात्मक प्राभवहरु पनि निकै मनन योग्य नै छन्। योगी नरहरिनाथदेखि नारायणप्रसाद पोखरेल हुदै दीनबन्धु पोखरेलसम्मको पुस्तासम्म आइपुग्दा, हिन्दू धर्मको यथार्थ अवस्था कुन बेला कस्तो रह्यो भन्ने कुरा जग जाहेर नै छ। धर्मका नाममा हुने गरेका कथित प्रवचन, दुराचारी तथा विभेदी व्यवहार, दान, आर्थिक संकल, सम्मान, परिचालन, राजनिति आदिले हिन्दू धर्म माथि गरिएको अदृश्य घातक प्रहारको सत्य तथ्यहरुलाई नजरअन्दाज गरिनु हुन्न।आज हिन्दू धर्मको यो हविगत हुनुमा प्रमुख कारक स्वयम् हिन्दू धर्मका अभियान्ता र हिन्दू धर्मावलम्बीहरु नै हुन् भन्नमा कुनै संकोच छैन। जसले धार्मिक दर्शनको मर्मलाई आत्मसात् गरेर समयानुकूल व्यवहारमा उतार्न सकिरहेका छैनन्। नाम, दाम र चर्चा कमाउने लालसामा धार्मिक दर्शनको मर्मलाई नै तोडमोड गरेर आफ्नो स्वार्थ अनुकूल व्याख्या र व्यवहारहरु गरिरहेका छन्। धर्मलाई हतियार बनाएर व्यापार गरिरहेका छन्। पवित्र उद्देश्य राखी धार्मिक मठमन्दिरको संरक्षण, संवर्धन र प्रवर्धनका लागि व्यवस्था गरिएको गुठी / सञ्चालक समितिमा नियत खराब भएका व्यक्तिहरुको वर्चश्व, हालिमुहाली र निन्दनीय व्यवहारहरु बढ्दै गइरहेका छन्। जसले गर्दा धार्मिक क्रियाकलापहरु ‘धार्मिक आस्था’ जगाउने अभियानमा भन्दा पनि आर्थिक संकल गर्ने अभियानमा केन्द्रिकृत हुँदै गइरहेका छन्। खासमा हिन्दू अनुयायीहरु धार्मिक आस्थामा यतिसम्म समर्पित हुन्छन् कि यत्र तत्र त्यसै अलपत्र रहेको ढुंगालाई पनि कसैले देवता मानि स्थापित गरिदियो भने, त्यसमा भगवानको अवतारदेखेर भक्तिभावले समर्पित हुन्छन्। यस्तो अवस्थामा पनि ठूला ठूला भवन तथा मन्दिर बनाएर निकै आकर्षक कलात्मक मूर्तिहरु स्थापित गरिएका स्थानहरुमा पनि धर्मावलम्बीहरु किन आकर्षित भैरहेका छैन त ?यो सरोकारवालाहरुका लागि अत्यन्त चिन्तन मननको बिषय हो। र, हुनु पर्दछ। साँचो अर्थमा मानिसहरुलाई हिन्दू धर्मप्रति आकर्षित र समर्पित गराउनु छ भने, सबै भन्दा पहिलो कुरा उनीहरुमा धर्मप्रति ‘आस्था’ जगाउन सक्नु पर्दछ। जब साँचो अर्थमा मानिसमा अन्तरहृदयदेखि नै धर्मप्रति ‘आस्था’ जाग्दछ। तब, ऊ मठ मन्दिरतिर आकर्षित हुन्छ। धार्मिक क्रियाकलापहरुमा सक्रिय सहभागी हुन्छ। अनि प्राकृतिक, सत्य र सार्थक जीवन जीउनतिर उद्धत हुन्छ। र, उसलाई सार्थक जीवन जीउन मार्ग प्रसस्त हुन्छ। ‘आस्था’ जगाउने प्रमुख महत्वपूर्ण शुत्र धार्मिक दार्शनिक प्रवचन नै हो। जसको सैद्धान्तिक ज्ञानले मानिसको मन निर्मल बनाएर उसले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न उत्प्रेरित गर्दछ। र, त्यहीँ दर्शनका आधारमा क्रियाकलापहरु र व्यवहारहरु गर्दछ। तसर्थ, हिन्दू धर्मका गुरुहरु, अभियन्ताहरु, अनुयायीहरु र धर्मावलम्बीहरुले हिन्दू धार्मिक मर्म अनुसार हिन्दू धर्मको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सबैभन्दा पहिले धार्मिक तथा साँस्कृतिक ‘आस्था’ जगाउने अभियानमा केन्द्रिकृत हुनु पर्दछ। सुक्ष्म रुपमा हिन्दू धर्ममा रहेका सबल पक्षहरु र कम्जोर पक्षहरुको पहिचान गरेर पहिचान गरिएका सबल पक्षहरुलाई निरन्तरता दिदै थप सबल बनाउन आवश्यक कसी लगाउनु पर्छ ।र, कम्जोर पक्षहरुलाई समयमै सुधार गर्नु अपरिहार्य छ। तब मात्र हिन्दू धर्मको मर्मले सार्थकता पाउन सक्दछ। नत्र त्यहीँ हिन्दू शास्त्र नै हिन्दूलाई सिध्याउने अस्त्र बन्दछ।