वियोग कडरिया / काठमाडौं
अनायस मेरो डेथ माइन्डमा
ती दिनका यादहरु
बैशाखमा असिना बर्षे झैँ बर्षिरहे
कलेज बंक हान्दा म
बासँग डराएको दिन
एउटा साथी भन्थ्यो
जब बाऊका जुत्ता ठीक हुन थाल्छन् नि
बाऊ बाऊ नभएर साथी बन्छन्
साँझ डराउँदै घर पुग्दा
बाका स्काई ब्लुज आँखा छल्दै
फ्रिजिङ कोल्ड किचेनमा छिर्न लाग्दा
बाले भन्नुभयो,
‘किन ढिला आइस् केटा ?
भात सेलाइ सक्यो
छिटो खाएर पढ्न थाल’
उसको भनाइ सही साबित भयो
बाको गालीको सट्टा मायाको आभाष पो पाइयो
मेरा बा कति महान, मनले मनसँगै भन्यो ।
बा सुतेपछि,
सुटुक्क बाका पुराना जुत्ता
मेरा नयाँ खुट्टामा घुसारे
जुत्ता मिल्यो, दंग परे ।
बाको रस्टीक दौरा लगाएँ, मिल्यो
सिलिन्ड्रीकल सुरुवाल लगाएँ, मिल्यो
ब्लाक जर्सी भिरे, त्यो पनि मिल्यो
तेह्रथुमे ढाका टोपी
जर्सीका खल्तीबाट झिकी ऐना हेर्दै टाउकोमा घुसारे
ठ्याक्कै मैलाई नापेर सिलाए जस्तै भयो
चार–पाँच बर्षदेखि क्यान्सर पिडीत
अस्थिपञ्जर मात्र बाँचेका मेरा बासँगका
पुराना स्मृतिहरु तछाडमछाड गर्दै, जन्मदै मर्दै गर्न लागे
मेरो बरियल माइन्डमा
ठुलो बट फ्र्याक्चर्ड ऐनाको शिशामा
मैले मलाइ मेरै बा जस्तै देख्न थाले
ओशेनिक आँखाबाट अश्रुधारा बग्दै गर्दा
सिम्फोनिक ओठहरु बरबराए
Happy Father’s Day !
सँगै सुतेको छोराले बाबा बाबा भनेर कराउँदा
झल्यास्स ब्युझन्छु,
उसको ममी छोरालाई फिउडल अर्डर दिदै भित्र पस्दै भन्छिन्
आज Happy Father’s Day हो, बाबालाइ happy father’s day भन त !
हो त आज पितृ औँशी रैछ, नेपाली पात्रो हेरें मोबाइलमा
सपनाका मेरा बासँगका गोल्डेन स्मृतिहरु
मेरो ब्लण्ड माइन्डमा हुइकिन थाले
मैले त सपनामै पो मेरा डेड फादरलाइ Happy father’s day भनेछु
साच्चै पितृ औँसी भन्या त
मृत पुरुष पुर्खाहरुलाइ सम्झदै
उनकै नाममा केही दान गर्नुपर्ने होइन र ?
उनकै सम्झनामा शान्तिको दियो बाल्नु पर्ने होइन र ?
उनले देखाएको संस्कृतिको बाटो हिड्नु पर्ने होइन र ?
शहरका बृद्धाश्रमका डाइङ फादरहरुलाई एक दिन खान दिए हुन्न र ?
इम्पोर्टेड वेस्टर्न कल्चरको क्रुढ कपि गर्दै
आज हामी आफ्नै लिभिङ फादरलाई पितृ बनाइरहेछौं
फेसबुकका भित्ताहरुमा पुरानो फोटो पोष्ट्याइरहेछौं
यो फादर्स डे हाम्रा बाको बर्थ डे हो या डेथ डे हो ?
तपाइँलाई थाहा छ ?
मलाइ सुटुक्क सबैले थाहा पाउने गरी भनिदिनुस्न प्लीज !
यो फादर्स डे हाम्रा बाको बर्थ डे हो या डेथ डे हो ?