सहमत

किशनसिॅह धामी, न्युयोर्क

तिम्रो सहमतिमा
तिम्रै भारी बोक्ने चाहनाले
तिमीले हिडने बाटोमा
तिमीलाई खोज्न गएको थिए
त्यो तिम्रो सहरमा ।
सहर !
तिमीले नाप्न त नापेकै थियौ,
जोख्न पनि जोखेकै थियौ
किलो, ग्राम र पाउण्डले होइन
ईन्च, फुट र मिटरले पनि होइन
पत्र-पत्र भित्र लुकाएको
पुरानो त्यो अथाहा सम्पति
तोला, छटाक, नाली, माना, पाथी र सेरले
जोखेको होइन र ?
बित्ता, हात र औंलाले नापेको होइन र ?

त्यो ठुलो आगनको
लम्पसार परेको गुद्री माथि
सेतो फरिया बिछ्याएर
तिमीले भित्र्याउॅन लागेको नयाँ बाली
सामुन्ने बसेर भरेको होइन र ?
औंलाका गाठाहरू भाँचिने गरी
ओल्टाई पल्टाई,
जिब्रोले औला चिसो पारी पारी
गनेको होइन र ?

लिने र दिने सहमतिमा
तिम्रो ईमान्दारिता
तमसुक बनेको थियो,
तिमीले बेइमानी लुकाउन
कयौं हातका औंठाहरु
साँची राखेका थियौ ।
तर
तिम्रा कोमलताका स्वार्थहरू
मुटु भाँचिने गरी
म अस्ताएपछि
तिम्रा अक्षरहरू उदाई रहे ।