विजयदेव खनाल, न्युयोर्क
सदा झैं आज पनि त्यो बुढो मानिस चाइनिज पार्कको ब्रेन्चमा वाकर समातेर बसेको भेटियो। उसलाई नदेखे झैं गरेर तर्कन लाग्दै थिए। ‘हेल्लो फ्रेण्ड, वन डलर प्लिज,’ भनेर कराइ हाल्यो। मैले नसुने झैं पन्छन खोज्दै थिए, वाकरमा पाइला सार्दै मेरै नजिक आइपुगी हाल्यो। सदा झैं स्वचालित खल्तिबाट एक डलर निकालेर दिएँ। मुसुक्क मुस्कुराउँदै ‘गड ब्लेस यु, गड सेभ यु,’ के के जाति भन्दै वाकर समातेर उभिइरह्यो। म केही नबोलिकन आफ्नो गन्तव्यतिर लागें ! प्राय दैनिक जस्तै यस्तै क्रम चलिरहन्थ्यो।
म यो स्ट्रिटमा बस्न लागेको करिब एक/डेढ बर्ष भयो। मेरो एपार्टमेन्ट भन्दा पारी पटिको ठूलो बिल्डिंगको बाहिर लेखिएकोछ- ‘Old care center,’ (वल्ड केयर सेन्टर)। त्यहाँ एकसय जनाभन्दा धेरै बृद्ध/बृद्धाहरु राखिएको छ। धेरैजसो वाकरमा र कोही कोही स्ट्रलरमा हिड्ने गर्छन्। केयर सेन्टरको बाहिर रुखको छहारीमुनि लामा लामा बेन्चहरु राखिएका छन्। बृद्ध/बृद्धाहरु दिनभरीनै बाहिरै टहलिइरहेका हुन्छन्। कोही क्यारामबोर्ड, तास र चेसमा रमाइरहेका हुन्छन् भने कोही ठूलो स्वरमा रेडियो/एफएममा गित लगाएर चुरोट तानिरहेका हुन्छन्। मैले बिहान, बेलुका यही बाटो हिड्नुपर्ने भएकोले अधिकांसले मलाई देखेपछि मुस्कुराउँछन्। त्यस मध्ये कै एकजना हुन्- मसंग सधै एक डलर मागिरहने ती बृद्ध।
अग्लो ज्यान भएका ती बृद्ध व्यक्ति निकै मोटो तर रोगी र कमजोर देखिन्थे। पटकपटक बृध्दाश्रम भवन पछाडितिर चुरोट तान्न गइरहन्थे। मेरो कोठाको झ्यालबाट त्यो भवन पुरै देखिने भएकोले फुर्सद हुनासाथ म झ्यालमा बसेर तिनिहरुका कृयाकलाप हेर्ने गर्थें। बृद्धाश्रमका बिरामी लिन ठुलो स्वरमा साइरन बजाउदै एम्वुलेन्सहरु आइरहन्थे। एम्वुलेन्सको चर्को साइरनले आधारातमा मलाइ धेरैपटक झस्काएर व्युझाइदिएको पनि छ। शुरु शुरुमा त साइरनको एकोहरो कर्कस आवाजले मेरो मुटु जोडले ढुकढुक गर्थ्यो। बृद्धहरु कसलाइ, के भयो होला भनेर डरले पसिनानै आउथ्यो। एकप्रकारले तिनिहरु मेरा दाजुभाइ वा साथीहरु जस्तै लाग्न थालेका थिए। अनि, झ्यालमा गएर नहेरिकन चित्तै बुंझ्दैनथ्योl वास्तवमा भन्ने हो भने मलाई ती बृद्धहरुसंग दैनिक भेटघाट भएन भने नरमाइलो शुन्यताले जकडेको भान हुन्थ्यो।
सदाजस्तै आजपनि प्रात भ्रमणमा निस्किएको थिएँ। वल्ड केयर सेन्टरको दायाँपटीको कुनामा उनी वाकरमा बसेर झोक्राइरहेका रहेछन्। अनुहार झुकेको थियो, आखाँ रसिला थिए- उनी निकै विरामी जस्ता देखिन्थे। शुन्य भावमा उनका आखाँले मलाइ नियालिरहेको थियो। तर आज उनले मलाइ एक डलरको याचना गरेनन्। आखाँ नझिम्क्याइकन मलाइ हेरिमात्र रहे। सायद केही भन्न खोजिरहेका थिए। उनको अवस्थाको बारेमा मलाइ सोध्ने औधि मन थियो। तर केयर होमको नियम के हो? मिल्ने हो कि होइन आदि दोधारमा मेरा पाइला पार्कतिर मोडिए। विहानभरी उनकै बारेमा सोचिरहें। उनको घर कता होला? परिवार कता होलान, अथवा छैनन् कि! भएमा बेला बेला भेट्न त आउनुपर्थ्यो। जसरी अरुहरुका छोरा, छोरी, नातिनातिनाहरु आइरहेका देखिन्छन्। मन मनमा सोचें- उनको स्वास्थ अवस्था निकै जटिल देखिन्छ- मैले आजै चाहिँ एकडलर उनको हातमा किन राखिदिन सकिन? अनि एउटा अठोट गरे- ‘घर फर्कने वेलामा उनको हातमा पॅाच डलर राखिदिन्छु,’। तर घर फर्कने वेलामा उनी त्यहाँ थिएनन्। वाकर पनि थिएन। मैले चारैतिर उनलाई खोजिगरें, तर फेलापार्न सकिन।
एम्वुलेन्सको एकनासको चर्को आवाजले निद्रा खुल्यो- घडी हेरेको रातको दुइ बज्दैरहेछ। मन थाम्न सकिन र झ्यालमा गएर केयर होम तर्फ हेर्न लागे। एकजना विरामीलाई भित्रबाट स्ट्रेचरमा ल्याएर एम्वुलेन्समा राखी अस्पताल लैजान लागेका रहेछन्। अध्यारोले गर्दा राम्ररी ठम्याउन सकिन।
भोलिपल्ट विहानको खाना खाने समय हुदैथ्यो। केयर होमबाट ठुलो स्वरमा एम्वुलेन्सको साइरन बजेको आवाज आयो- मैले झ्यालमा गएर हेरें- तिनै बृद्ध मानिसलाइ सेतो कपडामा पोको पारेर ल्याइएको रहेछ- अवस्था देखेपछि अनुमान लगाउन गाह्रो भएन- सधै मेरा आखाँले पछ्याइरहने उनै बृद्ध व्यक्तिले यो सन्सारबाट सुटुक्क सदाका लागि विदा लिएछन्। न छोरा छोरी, न कुनै आफन्त, न कसैको रुवावासी… केयर होमका उनका केही बृद्ध साथीहरु मलिन अनुहार लगाएर उनका वरिपरी उभिइरहेका थिए। मैले मेरो हाफ पाइन्टको खल्ति भित्र हात घुसारे-पॅाच डलरले मानौं मलाई नै गिज्याइरहे जस्तो लाग्यो।