सुनसरी ४ :सञ्चारमन्त्री कार्कीको बढेको आत्मविश्वास

काठमाडौं । गृहजिल्ला भोजपुरबाट यसअघिका निर्वाचनमा सफलता हात पार्न नसकेका पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की अघिल्ल्लो चुनावमा सुनसरीबाट उदाए। तत्कालीन समयमा बाम गठबन्धनलाई तोड्दै कार्की पहिलोपटक जिल्ला परिवर्तन गरि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गरी एमालेका स्थानीय नेता रमेश श्रेष्ठलाई पराजित गरेका थिए। कार्कीले प्रतिनिधिसभा सदस्यको लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट यसपटक पनि उम्मेद्वारी दिएका छन्। क्षेत्रमा दोस्रो पटक चुनाव लडेका कार्कीसँग एमालेका उम्मेद्वार जगदिश कुसियतसँग प्रतिस्पर्धा गर्दैछन्।
सुनसरी क्षेत्र नम्बर ४ मा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८, रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन्। जसमध्ये गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो निर्वाचन क्षेत्रमा पर्ने अधिकांश वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो। सोही कारण पनि कार्की उत्साहित छन्। ‘मैले पाँच वर्षमा विकासका धेरै कामसमेत अगाडि बढाएकोले जनता मेरो पक्षमा रहेका छन्,’ कार्कीले भने।
सत्तारुढ गठबन्धनको मत र एमालेले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई हेर्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कार्कीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने अनुमान गर्न सकिन्छ। विगतमा बाम गठबन्धनलाई समेत तोडेर चुनाव जितेकाले यसपटक झनै सजिलो चुनाव जित्नेमा कार्की ढुक्क देखिन्छन्।
स्थानीय जनता र मतदातामाझ चिनिएका उनी दोस्रो पटक निर्वाचित भएर प्रतिनिधिसभामा पुग्ने उद्देश्यसहित चुनावी मैदानमा होमिएका छन्। ‘म क्षेत्रका लागि मात्रै नभएर समग्र मुलुकको विकासमा केन्द्रित हुने मान्छे हुँ, आफ्नो क्षेत्रमा स्वभाविक रुपमा काम गर्ने नै छु,’ कार्कीले भने।
मुख्य प्रतिस्पर्धी देखिएका एमालेका नेता कार्यकर्ता नै चुनावको मुखमा काँग्रेस प्रवेश गरेपछि मन्त्री कार्की झनै उत्साहित छन्। केही दिनअघि हरिनगरको घुस्कीमा दुई सय ५० जना, भोक्राहा नरसिंहमा नेकपा एमाले जिल्ला सदस्य रमेश यादवसहित ५० जना भन्दा बढी र कोशीमा १ सय भन्दा बढी चुनावी सभा कार्यक्रमबीच नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।

एकातर्फ प्रमुख प्रतिस्पर्धी पार्टीका नेता–कार्यकर्ता धमाधम नेपाली काँग्रेसमा प्रवेश गरिरहेको र अर्कातर्फ सत्ता गठबन्धनको बलियो साथ पाउँदा ज्ञानेन्द्र बहादुर कार्की उत्साहित छन्। ‘अहिले हाम्रो पक्षमा निकै राम्रो माहौल बनिरहेको छ, जनताहरू विकास र समृद्धिको पक्षमा देखिएका छन्,’ मन्त्री कार्की भने।
पाँच वर्षअगाडि जनतासँग गरेका वाचा अधिकांश पूरा गरेको र नयाँ ठूला आयोजना अगाडि सारेकोसमेत कार्की बताउँछन्। जनतालाई झुक्याएर निर्वाचित हुने र गरेका वाचा पूरा नगर्ने काम विगतमा भएको उल्लेख गर्दै आफू सधैँ जनताको पक्षमा रहेको दावी कार्कीको छ।
सुनसरीका जनताले कार्कीलाई भावी अर्थमन्त्रीको रुपमा समेत हेरेका छन्। प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक रहेका कार्की अर्थमन्त्री बन्ने आत्मविश्वासका साथ चुनावी दौडमा छन्।

बाजुरामा बद्री पाण्डेको पल्लाभारी, कर्ण थापालाई भीम रावलको डर

बाजुरामा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस सह–महामन्त्री बद्री पाण्डे र एमाले सुदूरपश्चिम सह–इन्चार्ज कर्णबहादुर थापाबीच भिडन्त हुने देखिन्छ । बाजुराको हिमाली गाउँपालिका–४ का पाण्डे र बुढीगंगा नगरपालिका–९ का थापाबीच व्यक्तित्वको पनि टकराब हुने देखिन्छ ।

दुई नेताबाहेक बाजुरामा राप्रपाबाट जंगकुमार गिरी, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल उम्मेदवार छन् ।

पाण्डेको घर प्रदेशसभा १ र थापाको घर प्रदेशसभा २ नम्बरमा पर्छ । विद्यार्थी राजनीतिका समकालीन पाण्डे र थापा दुवै एक अर्कोभन्दा आफूलाई सिनियर ठान्छन् ।

पाण्डेले कांग्रेसको केन्द्रीय सहमहामन्त्रीको पद र आफ्नो सालिनतालाई चुनावी पुँजी ठानेका छन् । चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका थापा बाजुरामा आफ्नो स्वीकार्यता बढ्ता देख्छन् । पाण्डेले २०४३ मा नेविसंघबाट राजनीति थालेका थिए । २०४७ मा वाल्मिकी क्याम्पसमा इकाई सदस्य र २०४९ मा इकाई सचिवमा निर्वाचित भएका थिए । २०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइको अध्यक्ष भए ।

२०५३ मा वाल्मिकीको स्ववियु र २०५४ मा स्ववियु परिषद्को सभापति बनेका थिए । पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य भए । २०५९ मा नेविसंघको उपाध्यक्ष भएका पाण्डे २०६४ को १० औँ महाधिवेशनमा प्रदीप पौडेलसँग पराजित भए ।

२०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते । २०७२ मा भएको १३ औँ महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभाको चुनावमा उनी समानुपातिक तर्फबाट सांसद भए भने २०७४ उनी राष्ट्रियसभाको सदस्य निर्वाचित भएका थिए ।

भर्खरैमात्र कांग्रेसले १४ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भए । उनी पहिलो पटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्दै छन् ।

उता एमालेको भ्रातृ संस्था अनेरास्ववियुबाट राजनीति गरेका थापा नेपाल ल क्यापसमा स्ववियु सभापति बनेका थिए । त्यसपछि उनले बाजुराबाट एमालेको जिल्ला राजनीति थाले । थापा बाजुरामा तीन पटक एमाले अध्यक्ष बनेका थिए ।

त्यसपछि उनी अञ्जल कमिटी, केन्द्रीय कमिटी हुँदै स्थानीय कमिटीको सदस्य बनेका थिए । उनी २०५६ देखि संसदीय राजनीतिको प्रतिस्पर्धामा छन् । बाजुराबाट थापा ०५६, ०६४ र ७० मा चुनाव लडेका थिए । सफलता भने ०७० मात्र मात्र मिल्यो उनलाई । सुशील कोइराला प्रधानमन्त्री हुँदा थापा उद्योगमन्त्री भएका थिए ।

उनी ०७४ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने ध्येयमा समानुपातिक उम्मेदवार बनेका थिए । समानुपातिकबाट सांसद बन्नबाट वञ्चित भएपछि मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लाग्यो । अहिले उनी बाजुरामा एमालेको विरासत कायम राख्ने कसरत छन् भने कांग्रेसका पाण्डे कमब्याकको तयारीमा ।

बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१ र ०७० र ०७४ एमालेले जितेको थियो । दुई वटा चुनाव लगातार जितेका एमाले पुनः जित निकाल्नेमा आत्मविश्वासी देखिन्छ । उम्मेदवार पाण्डे बिरामी भएपछि कांग्रेसको चुनावी माहोल तातेको छ । उनी बाजुराका गाउँ–गाउँ आक्रमक चुनावी प्रचार गरिहेका छन् ।

बाजुरामा पस पटक स्थानीय निर्वाचनको परिणाम एमालेको अनुकूल देखिन्छ । ०७४ जिल्लाका ९ मध्ये ६ वटा पालिकामा कांग्रेसले जित हात पारेको थियो । तर यसपटक ९ वटा पालिका मध्ये एमालेले ६ र कांग्रेस ३ जितेको छ ।

यद्यपि बाजुरामा स्थानीय निर्वाचनताका एमाले र माओवादीबीच केही भएको थियो । त्रिवेणी र बुढीनन्दा नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

त्रिवेणी नगरपालिकामा एमालेले प्रमुख र माओवादीले उपप्रमुख पाउने र ९ वटा वडा मध्ये एमालेले ५ र माओवादीले ४ वडामा उम्मेदवारी दिएको थियो । बुढीगंगामा भने सबै दल एक्लाएक्लै चुनाव लडेका थिए ।

यस्तै पाँचवटा गाउँपालिकामध्ये हिमालीमा पनि ६ वटा वडामध्ये १ वडा माओवादीलाई दिएर एमालेले चुनावी तालमेल गरेको थियो । जगन्नाथ गाउँपालिकामा मात्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । खप्तड छेडेदह गाउँपालिका, स्वामी कार्तिक खापर गाउँपालि, गोमल गाउँपालिकामा पनि दलहरू एक्ला एक्लै लडेका थिए ।

गोमल गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ६ वटै वडा एमालेले जितेको छ । यहाँ एमालेले ३ हजार ३०३ मत पाएको छ । यहाँ कांग्रेसको १६ सय १३ र माओवादीको ७ मत छ । खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएको छ ।

कांग्रेसले ५ र एमालेले २ वडाध्यक्ष जितेको छ । यहाँ कांग्रेसको ३ हजार ३९०, एमालेको ३ हजार ४१७, माओवादीको २६५ र स्वतन्त्रको ४२० मत छ ।

त्रिवेणी नगरपालिका मेयर र उपमेयरसहित कांग्रेसले ६ वडा जितेको छ । माओवादीले २ र एमालेले १ डा जितेको छ । यहाँ कांग्रेसको ४ हजार ५९६, एमालेका १९३२ र माओवादीको १८१२ मत छ ।

जगन्नाथत गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एमाले ५ वडाध्यक्ष जितेको छ । एउटा वडा माओवादी केन्द्र विजयी भएको छ । यहाँ एमालेको २ हजार ३२२, माओवादीको ७६२ र कांग्रेसको १०६२ मत छ ।

बडिमालीका नगरपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमालेले ७ र कांग्रेसले २ वडाध्यक्ष जितेको छ । यहाँ एमालेको ३ हजार ६१८ कांग्रेसको २ हजार ७४१, माओवादीको ३३१ र एकीकृत समाजवादीको ३९६ मत छ ।

बुढीगंगा नगरपालिकामा मेयर र उपमेयरसहित ७ र कांग्रेसले ३ वडा जितेको छ । यहाँ एमालेको ४ हजार ५४२ मत, कांग्रेसको ३५४१, माओवादीको ५८ एकीकृत समाजवादीको ३९३ मत छ ।

बुढीन्दा नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । यहाँ एमालेले ७ र कांग्रेसले ३ वडाध्यक्ष जितेको छ । एमालेको ४ हजार ५५१, कांग्रेसको ३ हजार ४८६, एकीकृति समाजवादी २८५ र राप्रपाको ११४ मत छ ।

स्वामी कार्तिक खापर गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसले ३ वडा जितेको छ । एमाले र माओवादीले १–१ वडा जितेको छ । कांग्रेसले १ हजार ६१८, एमालेले १ हजार ७३२ माओवादीले ७३२ र एकीकृत समाजवादीले ६९३ पाएको छ ।

हिमाली गाउँपालिका अध्यक्षसहित कांग्रेसले ४ वडा जितेको छ । एमालेले उपाध्यक्षसहित ३ वडा जितेको छ । यहाँ कांग्रेसको २ हजार ३०७ , एमालेको २ हजार ३६, माओवादीको २६२, स्वतन्त्रको ५५ र एकीकृत समाजवादीको २१ मत छ । स्थानीय निर्वाचनको मत अनुसार गठबन्धनसँग ३० हजार ३६४ र एमालेसँग २७ हजार ४५३ मत छ । पाण्डे २९११ मतले अगाडि छन् । जितका लागि पाण्डेलाई गठबन्धनको मत जोगाउनु पर्ने चुनौती छ ।

यता थापालाई भने गठबन्धनको मत तान्नुका साथै एमाले नेता भीम रावल निकटको मन जित्नुपर्ने चुनौती छ । अछाममा रावललाई उम्मेदवार हुनबाट वञ्चित गराउन थापाले मुख्य भूमिका खेलेको एमाले वृत्तमा चर्चा छ । बाजुरामा रावलनिकट कार्यकर्ताको निर्णायक भोट छ ।