काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको नयाँ सब-भेरिअन्ट तीव्र गतिमा फैलिन थालेको छ । एक्सबीबी.१.५ भाइरसले अमेरिकामा तीव्र गतिमा फैलावट लिएको हो । बीबीसीका अनुसार यो ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रकार हो। ओमिक्रोन विश्वभरि सबैभन्दा बढी सक्रिय कोरोनाभाइरसको प्रकार हो। ओमिक्रोनको उत्पत्ति त्यसअघिका अल्फा, बीटा, गामा अनि डेल्टा भेरिअन्टबाट भएको हो।
सन् २०२१ को अन्त्यतिर देखा परेको ओमिक्रोन भेरिअन्ट कोरोनाभाइरसका त्यसअघिका सबै सब-भेरिअन्ट भन्दा सक्रिय हुन पुग्यो। अनि यो भेरिअन्टबाट अन्य कैयौँ सब(भेरिअन्टहरू पनि बन्दै गए जुन थप सङ्क्रामक छन्। एक्सबीबी.१.५ का कारण हुने सङ्क्रमणका लक्षणहरू ओमिक्रोन भेरिअन्टले कोभिड गराउँदा हुने जस्तै रहेको ठानिएको छ।
तर, यसबारे अझै टुङ्गोमा पुगिहाल्ने अवस्था भने बनिसकेको छैन। यसबाट सङ्क्रमण हुँदा अधिकांश बिरामीलाई चिसो लाग्दा उत्पन्न हुने समस्या देखा पर्ने बताइएको छ। एक्सबीबी.१.५ आफैँ विकसित भएको हो। उक्त भेरिअन्ट सन् २०२२ को अगस्ट महिनामा भारतमा पहिलो पटक पहिचान गरिएको थियो। तर यो भेरिअन्टलाई त्यहाँका स्वास्थ्यसम्बन्धी निकायहरूले “भेरिअन्ट अफ कन्सर्न” अर्थात् चिन्ताजनक भेरिअन्टका रूपमा वर्गीकृत गरेका छैनन्।
एक्सबीबी कोरोनाभाइरसको उत्परिवर्तित स्वरूप हो। त्यसले शरीरको प्रतिरक्षा प्रणालीलाई असफल गराउन सहयोग गर्छ। तर उत्परिवर्तनकै कारणले यो भाइरसको सङ्क्रमण गर्ने क्षमता पनि कम हुन्छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका वैज्ञानिकहरूका अनुसार अरू सब-भेरिअन्टको तुलनामा एक्सबीबी.१.५ लाई फैलिने अनुकूल परिस्थिति बढी हुन्छ। तर ओमिक्रोन भेरिअन्टभन्दा गम्भीर वा हानिकारक रहेको भने कुनै सङ्केत देखा परेको छैन।
बिरामीहरूमा पर्ने प्रभावबारे थप जानकारी प्राप्त गर्न आफूहरूले प्रयोगशालामा भइरहेका अध्ययन, अस्पतालहरूको तथ्याङ्क अनि सङ्क्रमण दरलाई नजिकबाट नियाल्ने डब्ल्यूएचओले जनाएको छ। अमेरिकामा देखा परेका ४० प्रतिशतभन्दा बढी कोभिड बिरामीमा एक्सबीबी.१.५ फेला परेको पुष्टि भएको छ। डिसेम्बर महिनाको आरम्भतिर यो भेरिअन्टले बिरामी पारेका मानिसको सङ्ख्या चार प्रतिशत मात्रै थियो। अर्थात् यसले ओमिक्रोनका अन्य भेरिअन्टलाई निकै कम समयमा उछिनेको छ।
अमेरिकामा केही सातायता कोभिडका कारण अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेको छ। खोप लगाएका मानिसहरूबारे आफू खासै चिन्तित नरहेको प्राध्यापक बर्कले बताउँछिन्। तर कोभिडको जोखिममा रहेका मानिसहरू अनि प्रतिरोध प्रणालीमा समस्या रहेका बिरामीहरूमा पर्न सक्ने प्रभावबारे भने उनी चिन्तित छिन्।