काठमाडौं । प्रख्यात चक्रीय अन्नपूर्ण र मनास्लु पदमार्गको झल्को दिने गरी लमजुङ र गोरखा जोड्ने पर्वतीय पदमार्ग निर्माण हुने भएको छ । यसलाई ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नामकरण गरिएको छ । उत्तर–पूर्वी लमजुङ र उत्तर–पश्चिम गोरखाका उच्च पहाडी तथा हिमालको फेदसम्म पुग्ने गरी पदमार्ग निर्माण गर्न लागिएको हो ।
पदमार्ग निर्माणका लागि लमजुङ तथा गोरखाका चार गाउँपालिका र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा लमजुङको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, गोरखाको अजिरकोट गाउँपालिका अध्यक्ष दीपक सापकोटा र टान गण्डकीका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ छन् ।
स्थानीय तहमार्फत पदमार्गको भौतिक संरचना निर्माण तथा विभिन्न निकायमा समन्वय गर्न पर्यटकीय पथप्रदर्शकसमेत रहेका दोर्दी गाउँपालिका अध्यक्ष अधिकारीलाई संयोजक बनाइएको छ । स्थानीय तहले आगामी आर्थिक वर्षदेखि रकम विनियोजन गरेर यसको अध्ययन, रेखांकन र भौतिक संरचना निर्माण अघि बढाउनेछन् । पर्यटकलाई उक्त ठाउँमा पठाउन टानले सहयोग गर्नेछ ।
यस क्षेत्रमा २ वटा पदमार्ग हुने अधिकारीले जनाए । उच्च क्षेत्रको पदमार्ग करिब २१ दिनको हुनेछ । यो पदमार्ग लमजुङको डोना ९ठुलागी०–मेमेपोखरी हुँदै गोरखाको रुबीनाला ९५००० मिटर० पास हुनेछ । यो यात्रामा जानेले बुद्ध र हिमालचुलीका बेस छुनेछन् । तल्लो क्षेत्रको पदमार्ग लमजुङको लिपे–बराहपोखरी क्षेत्र ९३२०० मिटर० सम्म पुग्नेछन् । यो यात्रा करिब १३ दिनको हुनेछ ।
उनका अनुसार यो पदमार्गको प्रवर्द्धन गर्न बजेट विनियोजन हुनेछ । ‘यो मार्ग चक्रीय अन्नपूर्ण पदमार्गभन्दा अझ भिन्न बन्नेछ, जहाँ अहिलेसम्म पर्यटक पुगेका छैनन्,’ उनले भने, ‘पर्यटक नयाँ ठाउँमा सहभागी हुन रुचाउँछन् । पर्वतीय पदमार्ग पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्नेछ ।’
टान उपाध्यक्ष गुरुङले ४५ वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले लमजुङ र गोरखाको स्थानीय तहलाई जोडेर पर्वतीय पर्यटन प्रवर्द्धन गर्न छलफल अघि बढाएको बताए । पर्वतीय क्षेत्रमा पर्यटक जान रुचाए पनि बाटो नभएपछि हिमालको बेसक्याम्पसम्म पुग्ने पदमार्ग निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।
चक्रीय अन्नपूर्ण पदमार्गमा गाडी गुड्न थालेपछि पर्यटकले वैकल्पिक पदमार्गको खोजी गरेको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । ‘विदेशीलाई पदमार्गमा सवारी साधन गुडेको मन पर्दैन,’ उनले भने, ‘विकल्पमा वरपर धेरै पदमार्ग बनाइए पनि यही सडकमा जोडिने भएकाले पर्यटक कम हिँडे । अब, पर्वतीय पदमार्गमा पर्यटक हिँड्ने अपेक्षा छ,’ उनले भने ।