अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौंमा

काठमाडौं । दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्नेछन् ।

उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम छ । दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ । नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे पनि बुझ्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्य एसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमध्येमा पर्छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त भएका हुन् । त्यसअघि लु दुई मुलुकमा राजदूत भइसकेका छन् । उनी किर्गिस्तान र अल्बानियामा राजदूत भइसकेका हुन् । साथै, उनलाई दक्षिण एसिया क्षेत्रबारे राम्रो ज्ञानसमेत रहेको छ ।

३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरिसकेका लु नयाँदिल्लीस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरिसकेको अनुभव छ । दिल्लीमा उनले उपनियोग प्रमुखको रुपमा समेत काम गरिसकेका छन् । उनी मध्यएसिया तथा दक्षिण एसिया काकेस मामिला कार्यालयका उपनिर्देशकसमेत रहिसकेका छन् ।

यसअघि सहायक विदेशमन्त्री लुले २०७९ साउन १२ र १३ मा दुईदिने नेपाल भ्रमण तथा त्यसअघि २०७८ मंसिर १ देखि ४ सम्म चार दिने भ्रमण गरेका थिए ।
२०७९ असार ६ गते भ्रमणको सिलसिलामा अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रुपमा प्रदान गरिने अवार्ड फर कर्पोरेस एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका थिए ।

२०७८ को मंसिरमा नेपाल आएका लुले त्यस बेला नेपाली शीर्ष नेताहरुसँग एमसीसी सम्झौतालाई संसद्‌बाट अनुमोदन गराउने सम्बन्धमा कूटनीतिक र राजनीतिक भेटवार्ता गरेका थिए ।