पीपलमणि सिग्देलको विचारपुञ्ज विमोचित

न्युयोर्क

आचार्य पीपलमणि सिग्देलद्वारा लिखित सिर्जना, विचार र आलेखको संगालो विचारपुञ्ज नामक कृति जुम तथा वाल्मीकि विद्यापीठ काठमाण्डौंमा आयोजित प्रत्यक्ष समारोहका साथ विमोचन सम्पन्न भएको छ ।
सो कार्यक्रममा निरन्तर शनिबार नामक साहित्यिक अभियानका संस्थापक एवं नेपाली काँग्रेसका महामन्त्री माननीय विश्वप्रकाश शर्माले ‘विचारपुञ्ज’ कृतिको विमोचन गर्नुभएको हो । कृतिको विमोचन गर्दै महामन्त्री शर्माले सर्जक पीपलमणि सिग्देललाई वाल्मीकि क्याम्पसको प्राङ्गणतिर चिनेको र सँगसँगै साहित्य यात्रामा अगाडि बढेको स्मरण गर्दै सिग्देलले नेपाल देश बाहिर छरिएर रहेका अन्तर्राष्ट्रिय नेपाली मनहरूलाई जोड्न सफल बताउनुभयो । ‘हामी नेपालमा घरमा हुँदा राष्ट्रिय झण्डा भन्दा पनि भिन्नभिन्न दलको झण्डा राख्छौँ । विचारमा, भुगोलमा वर्गमा विभाजित हुँदा रहेछौँ तर, विदेशमा जाँदा सबैको घरमा राष्ट्रिय झण्डा हुने रहेछ । परिचय गर्दा नेपाली भनेर परिचय गर्दा रहेछौँ। त्यसैले हाम्रो राष्ट्रिय परिचय बाहिर हुने रहेछ,’ उहाँको भनाइ थियो । समालोचनात्मक टिप्पणी गर्दा शर्माले कृतिभित्रका कविताका भावयुक्त पङ्क्ति पनि वाचन गरेर सुनाउनुभएको थियो ।


साहित्यकार एवं महामन्त्री शर्माले नेपालबाट बाहिर गएका नेपालीलाई त नेपालको माटोको, धर्मको, संस्कारको, सँस्कृतिको माया हुन्छ । नेपालको संविधानले पनि तेस्रो पुस्तासम्मलाई नागरिकताको व्यवस्था गर्छ तर नेपालीका विदेशमा जन्मेका छोराछोरी हजुरबा हजुरआमा हुँदा तिनीहरूका नातिनातिनीलाई पनि नेपालसँग जोड्न कसरी सकिन्छ ? यतातिर ध्यान दिनुपर्ने बताउनुभयो ।

‘विचारपुञ्ज’ कृतिमाथि टिप्पणी गर्दै नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका पूर्व सभापति प्रा. डा. नवराज कट्टेलले ‘विचारपुञ्ज’ आत्मप्रकाशनको अनुभूति भएको बताउनु भयो । डा. कट्टेलले प्रतिभा सम्पन्न विनयशील र आज्ञाकारी व्यक्तित्व रहेका सिग्देलले आफू जस्तै अन्तर्राष्ट्रिय मनलाई जोडिरहेकोमा धन्यवादसमेत दिनुभयो । भूगोल मात्र राष्ट्रियता होइन रहेछ, राष्ट्रियता त नेपाली मन, नेपाली भावना, नेपाली विचार पनि रहेछ भन्ने लेखक सिग्देलबाट प्रमाणित हुँदै गएको उहाँको भनाइ थियो । प्रा.डा. कट्टेलले साहित्य खण्ड, संस्कृति खण्ड, बौद्ध धर्म-दर्शन खण्ड, संस्कृत खण्डमा संकलित विचारपुञ्जका लेखरचना र साहित्यले कृतिको उचाइ बढेको चर्चा गर्नुभयो । उहाँले राजनैतिक र सामाजिक सन्दर्भलाई बुझ्न अन्तर्वार्ताले पनि कृतिमा भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले ‘विचारपुञ्ज’ विचारप्रधान भइकन राम्रो, राम्रो भइकन मिठो, मिठो भइकन सरल, सरल भइकन बोधगम्य रहेको बताउनुभयो । कृतिमा संस्कृत भाषाको लघुनाटक रहेको प्रसङ्ग उल्लेख गर्दै सो नाटक मञ्चनीय समेत रहेको भनाइ राख्नुभयो । उहाँले कोरोना महामारीबाट मुक्ति पाउन आध्यात्मिक सूत्रलाई अनुसरण गर्नुपर्ने भाव भएको संस्कृत भाषाको सरल एकाङ्की रहेको जानकारी दिनुभयो । कृतिमा संस्कृत भाषामा कविता रचिएका छन् ।कविताका माध्यमबाट नेपाली माटो, नेपाली हिमाल, तराई, मधेस पहाड, नेपाली प्रकृतिलाई समेटिएको छ । प्रा.डा. कट्टेलका अनुसार नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाको त्रिवेणी नै हो-विचारपुञ्ज । सोही अवसरमा कट्टेलले सर्जकको कलम कहिल्यै नरोकियोस्, कलम कहिल्यै नझुकोस् वर्षैपिच्छे यस्ता कृति पाइराखौँ भनेर शुभकामनासमेत दिनुभयो।


‘विचारपुञ्ज’ कृति आएकोमा सर्जक पीपलमणि सिग्देललाई धेरै श्रष्टाहरूले शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामना दिने क्रममा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले सर्जकसँग वाल्मीकि क्याम्पसको स्ववियुमा रहँदाको किशोरावस्थाको स्मरण गर्दै अङ्ग्रेजी, नेपाली र संस्कृतको ज्ञान हासिल गरेकोमा बधाई दिनुभयो । उहाँले यदुनाथ खनालको समेत स्मरण गर्दै संस्कृत र अङ्ग्रेजी भाषामा अझै गहिराइमा पुग्न पनि सिग्देललाई शुभकामना दिनुभयो ।


परशुराम भण्डारीले जसरी विचारपुञ्जले सबै क्षेत्रलाई समेटेर साझा बनेको छ, त्यसरी नै पीपलमणि सिग्देल पनि सबैको साझा व्यक्तित्व भएको बताउनुभयो । विचारपुञ्जको सर्जक पिपलमणि सिग्देल भए पनि एनआरएनको साझा कृति बनोस् भनी भण्डारीले शुभकामना दिनुभएको थियो ।
सीता अर्यालले आफ्नो विद्वत्ता प्रस्तुत गरिएको गहन कृति ल्याएकोमा सिग्देललाई  शुभकामना दिनुभयो । त्यस्तै कोमल भट्टले पीपलमणि सिग्देल र उनको कृति ‘विचारपुञ्ज’ कृतिका लागि उपजाति छन्दको मिठो कविता सुनाएर शुभकामना दिनुभयो ।
पत्रकार गुणराज लुइँटेलले सर्जक सिग्देल पूर्वीय र पाश्चात्य साहित्यलाई बुझ्न सक्ने क्षमता भएका व्यक्तित्व भएको बताउनुभयो । जीवनका विभिन्न पक्षलाई समेट्न सक्ने क्षमता भएका व्यक्तित्व सिग्देल अरूका विचारलाई पहिला सुनेर अनि मात्र आफ्ना विचार राख्ने सुसंस्कृत व्यक्तित्वका धनी सर्जकका रूपमा आफूले बुझेको लुईँटेलको भनाइ थियो ।


साहित्यकार राजेन्द्र अर्यालले बृहद् ज्ञानराशीले युक्त व्यक्तित्व पीपलमणि सिग्देलमा एटलान्टिक महासागरमा पानी जसरी ढलपल ढलपल गरी छचल्किएको छ, त्यसैगरी सिग्देलमा साहित्य, दर्शन र विचार छचल्किरहेको बताउनुभयो । त्यसैगरी साहित्यकार एवं फ्रेन्च भाषाका ज्ञाता हरिहर अर्यालले अमेरिकामा बसेर पनि संस्कृत भाषामा साहित्य सिर्जना गर्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । त्यस्तै कवि प्रकाश पाण्डेले सिग्देलको कृतिबाट रचना वाचन गर्नुभएको थियो ।
सो समारोहमा निरन्तर शनिबार नामक साहित्यिक अभियानका संयोजक एवं गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी, डा. नीरजमान श्रेष्ठ, योगराज सापकोटा, नरेन्द्र सुवेदी, डा. छत्रपति दाहाल, अग्नि पराजुली, गौतम दाहाल, सुदर्शन सिग्देल लगायतका वक्ताहरूले पीपलमणि सिग्देलको व्यक्तित्व एवं कृतित्वका बारेमा चर्चा गर्नुभएको थियो ।


विचारपुञ्जका सर्जक आचार्य पीपलमणि सिग्देलले स्वागत मन्तव्य गरी सुरु भएको कार्यक्रममा सर्जक कृष्ण गिरीले कार्यक्रम संचालनकै क्रममा रचनासमेत सुनाउनुभएको थियो ।
जुम तथा विभिन्न पेजमामा लाइभ गरिएको कार्यक्रम सुरु गर्दा विलटन हिन्दु मन्दिर, क्यानेटिकट, अमेरिकाका संस्थापक एवं कार्यक्रमका सभापति स्वामी श्री १०८ बालगोपाल ब्रह्मचारीले दीप प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गर्नुभयो भने आचार्य चुडामणि पाठकले शान्ति पाठ गर्नुभएको थियो ।
सो समारोहमा माननीय सांसद प्रतिमा गौतम, प्रा. डा. धनेश्वर नेपाल, प्रा. डा. शान्तिकृष्ण अधिकारी, डा. बद्री पोख्रेल, वंशलाल तामांग, कृष्ण रिजाल, भरत खड्का, नेत्र बन्धु पोख्रेल, अर्जुन मैनाली, परमानन्द खनाल, रीता रिजाल, रेवतीराज अधिकारी, मेनका पराजुली, विनोद रोका, प्रकाश नेपाल, शिव लामिछाने, दुर्गेश जंग कार्की, रविन संग्रौला, बलराम दाहाल, सरिता होमागाईँ पाण्डे, राजन गौली, ज्ञानल थापा, उर्मिला निर्दोषी, गीता बजगाई, विमला निरौला, गोपाल घिमिरे, ध्रुव दाहाल, दिलाराम, मुरारी गुरागाईं, शरद ढकाल, टेकनाथ दाहाल, नारायण सापकोटा, इन्द्र लम्साल, प्रतिमा खनाल सिग्देल लगायतका साहित्यानुरागी एवं सर्जकहरूको उपस्थिति थियो ।

विभिन्न देशमा रहेका करिब ५५/६० जना नेपालीको सहभागितामा भएको जुम सभा सभामा वाल्मीकि विद्यापीठ काठमाण्डौंमा प्रत्यक्ष कार्यक्रममा पनि जोडिएको थियो !
निरन्तर शनिबारको आयोजनामा भएको कार्यक्रममा विमोचनपछि संस्थापक संयोजक मनोजमणि आचार्य, वाल्मीकि विद्यापीठका प्राचार्य भागवत ढकाल, अतिथि वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल, संयोजक डिल्लीराम सुवेदी, प्रमुख अतिथि एवं संरक्षक विश्व प्रकाश शर्मा, सोझो गाउँले लगायतका वक्ताले विचार राख्नुभएको थियो । सो समारोहमा पूर्णिमा प्रतिविम्ब, रत्न बिरही घिमिरे, कृष्ण रिजाल, गणेश सिग्देल, अर्जुन बाबु दाहाल, सुशान्त आचार्य, उमानाथ खनाल, भावना अधिकारी लगायतका सयौंको सहभागितामा १५ जना सर्जकले रचना सुनाउनुभएको थियो ।

२४५ पेजको कृतिभित्र समय-समयमा कान्तिपुर दैनिक, राजधानी दैनिक, नेपालब्रिटेन डटकम, विश्व सन्देश साप्ताहिक, हलिउडखबर डटकम लगायतका मिडियामा प्रकाशित सामग्री तथा थप रचना समेटिएका छन् !